काठमाडौं, ७ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच “रियो ओलम्पिक २०१६” मा नेपालको तर्फबाट भाग लिन जाने खेलाडी एवं प्रशिक्षकहरुलाई शुभकामना तथा नगद पुरस्कार प्रदान गर्नु भएको छ ।
मित्रराष्ट्र ब्राजिलको रियो दि जेनेरियो शहरमा मिति असार २०७३-०४-२१ गतेदेखि मिति २०७३-०५-०५ गतेसम्म संचालन हुन गईरहेको “रियो ओलम्पिक २०१६” मा नेपाली सेना तथा त्रिभुवन आर्मी क्लबसंग आवद्ध खेलाडी एवं गैर सैनिक खेलाडी र प्रशिक्षक सहित जम्मा १२ जना नेपालको तर्फबाट सहभागी हुन जाँदै छन् ।
उक्त प्रतियोगितामा सहभागी हुन जानु अघि प्रधान सेनापतिद्वारा खेलाडी तथा प्रशिक्षकहरुलाई प्रोत्साहन स्वरुप जनही २५ हजार नगद पुरस्कार र खेल पोशाक प्रदान गर्नु भएको हो । साथै, प्रधान सेनापति श्री क्षत्रीले सहयोगी भूमिका खेल्ने प्रायोजक संघ सस्थाका प्रतिनिधिहरुलाई प्रमाणपत्र समेत प्रदान गर्नु भएको छ ।

उक्त कार्यक्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले आफ्नो मन्तव्य व्यक्त गर्नु हुंदै प्रतियोगितामा सहभागी हुन जाने खेलाडी तथा प्रशिक्षकहरुलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । यसअघि, कार्यक्रमको शुभारम्भमा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी श्री राजेन्द्र बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने एथलेटिक्स महासचिव रवि राजकर्णिकारले उक्त प्रतियोगिताको सन्दर्भमा संक्षिप्त जानकारी गराउनु भएको थियो ।
उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, खेल सम्बद्ध विभिन्न संघसस्थाका प्रतिनिधिहरु, ओलम्पिकमा भाग लिएका पूर्व खेलाडीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी क्लवका प्रतिनिधिहरु लगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
यस किसिमको कार्यक्रमले खेलाडीहरुलाई प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी राष्ट्रिय झण्डा र राष्ट्रिय सम्मानलाई उचाईमा पु¥याई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल जगतमा नयां आयाम थप गरी देशका कर्मठ युवा खेलाडीहरुको मनोवल अभिबृद्धि गर्न मद्वत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
















प्रतिक्रिया