२८ आश्विन २०८३, बुधबार

यस्तै परिस्थिति रह्यो भने नेपाल एकदिन इस्लामिक राष्ट्र बन्छ: जगतगुरु सुर्याचार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

guruअनन्त विभूषित जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज प्रसिद्ध हिन्दूगुरु हुनुहुन्छ । नेपालको भक्तपुरमा डोलेश्वर महादेवको मन्दिर उत्थानमा सक्रिय रहनुभएका गुरुजी नेपालको राजनीतिसहित नेपालका राजनेताहरुबीच सुपरिचित हुनुहुन्छ । उहाँ पिठाधीश्वर सूर्यपिठ, मुरली मन्दिर, द्वारका, गुजरातका गुरुमहाराज विश्व हिन्दू सेना (रजि०) का अन्तर्राष्ट्रिय अध्यक्ष पनि हुनुहुन्छ । उहाँसँग हालै धर्म र नेपालको राजनीतिको सेरेफेरोमा रहेर कुराकानी गरेको थियो । प्रस्तुत छ पत्रकार भूमिलाल पौडेलले गुरु गिरीजी महाराजसँग गरेको कुराकानीको सम्पादित अंश

तपाई नेपालको राजनीतिक गतिविधिहरुसँग सुपरिचित हुनुहुन्छ ? हालैको राजनीतिक उतारचढाव बारे तपाईको विश्लेषण कस्तो छ ?

हेर्नुहोस, यसमा सबै भन्दा ठूलो कुरा यो हो कि नेपाल एउटा हिन्दु राष्ट्र हो र हिन्दुराष्ट्र नै हुनुपर्छ । अहिले नेपालमा जुनसुकै परिवर्तनहरु भैरहेको छन, त्यसलाई राम्रोसँग बुझ्ने हो भने नेपाल समिश्रण राष्ट्र बन्ने प्रयासमा छ । सबैभन्दा पहिला यसलाई रोक्न अनिवार्य छ । हिन्दुहरुको परमधर्म भगवान शिवको स्थान नेपालमै छ । पशुपतिनाथ हुनुहुन्छ र साथै डोलेश्वर महादेवको पनि मैले त्यहाँ उत्थान गरेको छु । यसका साथै मैले त्यहाँ (नेपालमा) जुन कार्यहरु गरेको छु, ततपश्चात आज त्यहाँ लाखौं दर्शनार्थीहरु दर्शनार्थ त्यहाँ जाने गरेका छन् । यसअघि डोलेश्वर भगवानको नाम मात्र सुनेका थिए मानिसहरुले, तर त्यहाँ त्यस्तो कुनै चिज थिएन । तर अहिले त्यहाँको परिस्थिति आन्दमय भएको छ । यस्तो परिस्थितिमा त्यहाँ जसप्रकारको, राजनैतिक परिर्वतनहरु भैरहेको छ, त्यसमा केन्द्रीत हुने हो भने, यसप्रति त्यहाँ उनीहरुको अनुभवको कमीका कारण काम पनि कमै भैरहेको छ, जसको कारण नेपालमा उतारचढावहरु भईरहेका छन् ।

अनुभव कम भएको कारण कार्य पनि कम भयो भन्नुभयो, तपाईका अनुसार जनताको अनुभव र कार्य कमी भएको हो कि राजनेताहरुको ?

यसबारे जनताहरुलाई केही थाहा छैन उनीहरु त एकदमै अनजान छन् । मैले राजनेताहरुका बारेमा भनेको हुँ । जनताहरुलाई भोट हाल्न भनिन्छ, उनीहरुले भोट हाल्छन, अधिकांश जनतालाई त यो पनि थाह छैन कि एमाले के हो, काँग्रेस के हो र माओवादी के हो । जुन नेता गाउँमा छ त्यो गाउँको मुखियाले जे भन्यो जनताहरुले त्यहि गर्छन ।

संविधानतः अहिले नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको छ, तपाईलाई के लाग्छ, अव फेरि नेपाल हिन्दुराष्ट्र बन्नु पर्छ ?

म यो पक्षमा छु कि नेपाल हिन्दु राष्ट्र हो र हुनैपर्छ । आज त्यहाँको संविधान फेरिएको छ, यो संविधान त आज बनेको हो । नेपाल परंम्परागत रुपमा हिन्दु राष्ट्र हो र परम्परा कायम हुनुपर्छ । म यसैको पक्षमा छु ।

नेपाल परम्परादेखि नै हिन्दु राष्ट्र हो भन्नु भयो, बदलिंदो परिस्थितिमा यसलाई स्थापित गराउनका लागि तपाईहरुले अन्य सहयोगि हिन्दुवादी संस्थाहरुसँग सहकार्य गरेर अगाडी बढने कुनै योजना बनाउनु भएको छ कि ?

काठमाडौमा एकजना वाल जगतगुरु हुनुहुन्छ, यसवारे उहाँसँग मेरो वार्ता जारी छ । सर्वोच्च अदालतका न्यायाधीश दामोदर शर्मा, अर्का एकजना पूर्व प्रधानन्यायधीश पनि छन्, उनीहरु मेरा शिष्यहरु हुन् । यस विषयमा हमेशा उनीहरुसँग मेरो चर्चा भईरहेको छ । पूर्वराष्ट्रपति रामवरण यादवलाई राष्ट्रपति बनाउन गिरिजाप्रसाद कोईरालालाइ मैले नै भनेको थिएँ । माधवकुमार नेपाल, केपी ओली र बाबुराम भट्टराई पनि मेरो परिचित भक्तहरु हुन । प्रधानमन्त्री बन्नका लागि मैले उनीहरुको शिरमा हात राखेको थिएँ । उनीहरु सवैलाई मैले यहि भन्दै आएको छु कि यदि हिन्दुराष्ट्रलाई सबैले जतन गर्नुभयो भने सबैलाई राम्रो हुनेछ । तपाईहरु भन्नुहुन्छ कि हाम्रोमा मुस्लिम धेरै भए, क्रिश्चियन धेरै भए…, यदि तपाईहरुले संविधानमा त्यस्तो व्यवस्था गर्नुहुन्न भने त हुन्छ नै । पहिला तपाईहरु हिन्दु धर्म नै हुनुपर्छ भन्नुहुन्थ्यो, बाहिरी देशका धर्मलाई भित्र्याउनु हुन्न भन्नु हुन्थ्यो … ।

अन्य धर्मालम्वीहरुले आ–आफ्नो धर्मप्रचारको लागि नेपालमा धन, भौतिक सुविधाहरु र यस्तै अनेक प्रलोभनहरु दिएको कुराहरु बेला बखतमा सुन्नमा आउँछ । तर तपाईहरुले… ।

त्यसकारण म भन्छु कि तपाईहरु आफ्नो कानुनलाई कडा भन्दा कडा राख्नुहोस् । तर यसका विपरित नेताहरुले नै पैसा खान थाले भने नेपाल राष्ट्रको मौलिक सान्दर्भिता पनि भोली नरहन सक्छ ।

हिन्दूवादिहरुको एउटा मजवुद एलायन्स बन्न नसक्दा नेताहरुमा दवाव सृजना हुन नसकेको देखिन्छ, तर तपाईहरुको त्यस्तो कुनै प्रयासपनि त देखिंदैन नि त ?

हो, तपाई मेरो यो वाणीलाई लेखेर राख्नुहोला, यदि यस्तै परिस्थिति रह्यो भने नेपाल पनि एकदिन इस्लामिक राष्ट्रमा परिणत हुनसक्छ । तपाईहरुका राजनेताहरुले संविधानमा यो व्यवस्था गरेनन् भने आउँदो दश वर्षभित्रै यो परिणाम देखिने छ ।

नेपालका केही नेताहरुले यहाँको सत्तारुढ पार्टीका नेताहरुसँग नेपालको संविधानमा हिन्दुधर्मलाई सापेक्ष राख्ने वचन दिएको तर पछि संविधानमा त्यसो नभएका कारण नेपालमा नाकाबन्दी लगाईएको तर्कहरु गरिन्छ नी…!

बिजेपी हिन्दुहरुकै पार्टी हो र हिन्दुहरुकै पार्टी रहने छ । उनीहरु नेपाललाई हिन्दुराष्ट्र बनाउने प्रयासमा थिए । तर नेपालीहरुको सहयोग नमिलेको कारण आज उनीहरु पनि दुःखी छन् । उनीहरु चाहन्थे कि विश्वको पहिलो हिन्दुराष्ट्र जीवितै रहोस, जुन नेपाल हो ।

कतै यसै कारणले गर्दा अहिले नेपालमा सत्ता परिवर्तन हुन लागेको हो की ?

खेल त भई रहेको छ, तयारी त चलिरहेकै छ नी ! तर त्यसैकारणले सत्ता परिवर्तनको प्रक्रिया अघि बढेको हो भन्नेकुरा अहिले नै स्पष्ट भने भैसकेको छैन । कारण त यो पनि हुनसक्छ कि प्रचण्ड प्रधानमन्त्री बन्नासाथ पशुपतिनाथमा परम्परादेखि चल्दै आएको मुलपुरोहित भट्टहरुको परम्परालाई समाप्त पार्ने प्रयास गरे । जब कि यो परम्परालाई तोड्नु हुँदैनथ्यो, त्यही परम्परामा पुजा आरधना गर्दा आनन्द आउँछ ।

सत्ता परिवर्तको कारण अहिले स्पष्ट छैन त भन्नु भयो, तपाईले परम्परा विरोधी भनिएका प्रचण्डलाई नै फेरि सत्तामा ल्याईने प्रयास भैरहँदा यसमा भारतको सत्तारुढ पार्टीको खासै ईन्ट्रेस नभएकै हो भन्न सकिन्छ ?

यी सबै कुराहरु धर्मप्रतिको ठूलो धक्का हो । तर मेरो विश्वास छ कि प्रचण्डले पनि अव यि सबै विषयहरुलाई स्वीकार्ने छन् ।

यसको अर्थ आन्तरिक रुपमा हिन्दु धर्मप्रति प्रचण्डको पनि सकारात्मक धारणा बनेको छ ?

मलाई त्यस्तै लागिराखेको छ । किनकी ४ दिन पहिला सुजाता कोईरालासँग मेरो फोनमा कुरा भएको थियो, उनी मेरो शिष्यको छोरी भएका कारण एकप्रकारले उनीपनि मेरी शिष्य नै हुन् । उनले मलाई गुरु मान्छिन । र शुशिल नाहटा, जो पशुपतिनाथ मन्दिरका सेक्रेटरी थिए, हिजै उनको मलाई फोन आएको थियो । उनले भनेका थिए कि, ‘स्वामी जी ! म प्रचण्ड जीसँग एउटा मिटिङ गर्दैछु, त्यसवेला मैले प्रचण्डसँग जरुर बात गराउने छु ।’ सायद नेटवर्कका कारण हाम्रो कुरा हुन सकेन । तर मलाई विश्वास छ । प्रचण्डले मलाई भेट्ने प्रयास गर्नेछन् । त्यससमय मैले प्रचण्डलाई भन्ने छु कि धर्मकाप्रति तपाई सकारात्मक हुनुहोस् । जरुर भगवालने तपाईको लागि हमेशा राम्रै गर्नेछन् ।

अचम्मै लाग्छ, जसका पितापुर्खा नै हिन्दू हुन् । उनीहरुका संतानहरु अहिले आएर हिन्दु विरोधी भएका छन् । अपितु गैह्र हिन्दूहरुको उत्थानमा सक्रिय भएका छन् । यसको वास्तविकता के होला ?

यसको कारण त यो हो कि उनीहरुले विदेशको भ्रमण गर्न पाएका छन् । उनीहरुलाई विदेशको भिसा र नागरिकता मिलिरहेको छ । फण्ड मिलेको छ । त्यसकारण उनीहरुले त्यसलाई स्वकारेका छन् । अन्य कुराहरु त स्वीकार्ने पक्षमै छैनन् उनीहरु ।

अर्थात उनीहरु विल्कुल व्यक्तिवादी बन्दै गैरहेका हुन् ?

हो । यहि कारणले गर्दा यस्तो भएको हो ।

तपाई त ज्योतिषी पनि हुनुहुन्छ, मैले सुनेको थिएँ, तपाईले ३ महिना भित्र नेपालमा सरकार परिर्वन हुन्छ भन्ने भविष्यवाणी गर्नुभएको थियो । आज नेपालमा त्यस्तै देखिएको छ । तपाईको यो भविष्यवाणी राजनीतिक विश्लेषणको आधारमा थियो या ज्योतिष शास्त्र अनुसार ।

त्यो मैले ज्योतिष शास्त्रका अनुसार भनेको थिएँ । त्यसमा राजनीतिक विश्लेषण थिएन । खासमा म राजनीतिक व्यक्ति होईन, म धार्मिक व्यक्ति हुँ ।

तपाईले नेपालमा धर्मका लागि धेरै कामहरु गर्नुभएको छ । नेपाली परम्पराप्रति सुपरिचित हुनुहुन्छ । र रुची राख्नुहुन्छ । नेपाल र नेपालीप्रति प्रेमिल हुनका लागि तपाईलाई कहाँबाट त्यस्तो प्रेरणा मिल्यो ?

मसँग हाम्रो स्कूलमा एउटा नेपाली सुरक्षा गार्ड थिए । उनले हमेशा मलाई भन्ने गर्थे कि तपाई भगवान शिवका अवतार जस्तै देखिनुहुन्छ । तपाईको निधारमा शिवलिंग छ । नेपालमा पशुपतिनाथको मन्दिर छ । त्यसपछि केदारनाथ गएर ध्यानमा बसें, त्यहाँ मैले भगवानको दर्शन गरे, तर भगवानको मुख देखिन, फेरि ध्यान गरे, मलाई त्यो नेपालको भक्तपुरमा देखियो । त्यसपछि मैले मेरा शिष्यहरुलाई लिएर डोलेश्वर गएँ । त्यहाँ त सानो मन्दिरमा (भगवान) प्रस्तापित हुनुहुन्थ्यो । त्यहाँको दर्शन गरेपछि मलाई यस्तो लाग्यो कि यो नै असली पशुपतिनाथ हो । यसको प्रचार हुनुपर्छ कि केदारनाथ(डोलेश्वर महादेव) को असली मुख नै यहाँ निस्किएको हो । यसको प्रमाण त्यहाँ देखियो । त्यसपछि मैले त्यहाँका मानिसहरुको एउटा सुची तयार गरें, ट्रस्टी बन्यो, जसमा मेरो पनि नाम छ – संरक्षकको रुपमा । त्यसपछि त्यहाँ भगवान डोलेश्वरको उत्थान भयो । सबैलाई थाह भयो, कि असली केदारनाथको मुख कहाँ निस्किएको छ । यो नै नेपालको लागि सबैभन्दा ठूलो धन भएको छ ।

डोलेश्वर महादेवको मन्दिरको उत्थानका लागि सरकारी स्तरबाट पनि कुनै सहयोग लिनुभयो कि ?

आज नेपालका प्रधानमंत्री जो हुनुहुन्छ उहाँपनि सन २००९ मा मन्दिरको उद्घाटन कार्यक्रममा आउनुभएको थियो ।

नेपालका अधिकांश नेताहरुले व्यक्तिगत रुपमा नेपालमा हिन्दु राष्ट्र हुनपर्ने राय दिन्छन । तर औपचारिक कार्यक्रम र मिडियासँग भने धर्म निरपेक्षताको वकालत गर्छन, यस्तो किन भएको होला ?

उनीहरुलाई भोट र सत्ता चाहिएको छ ।

धर्मनिरपेक्षको एजेण्डा भएको माओवादी पार्टी अहिले पहिले भन्दा साँधुरो भयो, तर हिन्दु धर्मको वकालत गर्ने गर्ने राप्रपा नेपाल भने मुलुकको चौथो ठूलो पार्टीको रुपमा देखा पर्यो । भोटकै लागि भएको भए त हिन्दुहरुको भोटर संख्या ठूलो छ नि त ?

यस्तो होईन, त्यहाँ जनताहरु हिन्दु धर्म नै चाहन्छन । केही सिमित व्यक्तिहरु पैसाको लागि यस्तो प्रचार गरिरहेका छन् । कसैले क्रिश्चियन मशिनरीका कुरा गरिरहेका छन्, कसैले मुस्लिम मशिनरीका । त्यहाँ यस्ता अलग–अलग मशिनरीहरुले काम गरिरहेका छन, उनीहरु जनताहरुलाई विदेशको प्रलोभन देखाईराखेका छन् । यो नै जनताहरुको मजबुरी बनिरहेको छ । आजका युवाहरुलाई विदेशको आकर्षण छ, कसैलाई दुवईको, कसैलाई ईमिरातको, त्यहाँ उनीहरुलाई तिमीहरु यसको प्रचार गर हामी तिमीहरुलाई यो दिन्छौ, त्यो दिन्छौ आदि भन्दैछन ।

नेपाललाई मन्दिरै मन्दिरको देश भनिन्छ । त्यहाँ धर्मसम्बन्धी धेरै परम्परा, संस्कृति र रीति रिवाज छ, व्यापक प्रचार गरेर किन यसलाई धार्मिक पर्यटनको रुपमा विकसित गर्न नसकिएको होला ?

तपाईको पत्रिकामार्पmत म सबै नेपालवासी नेपालीहरुलाई आह्वान गर्न चाहन्छु कि तपाईहरु हिन्दु नै हुनुहोस् । हिन्दु संस्कृतिलाई जतन गर्नुहोस् । हिन्दु राष्ट्रलाई बढावा दिनुहोस् । र घरघरमा हिन्दु भगवानको एउटा निशानी राख्नुहोस् । त्यस्तै हरेक स्कूलमा विद्यार्थीहरुलाई धर्मको शिक्षा दिनुपर्दछ र प्रार्थनालाई कम्पलसरी गर्न आवश्यक छ । जसले गर्दा सबैले हिन्दुधर्मको प्रार्थना गरुन ।

मेरो जिज्ञासा यो थियो कि नेपालमा धार्मिक पर्यटन….

कैलास मानसरोवरमा जाने करिवन करिवन १० हजार टुरिष्टहरु भारतबाट मात्र जाने गर्छन् । जो नेपाल हुँदै जान्छन । यो भारतको तर्पmबाट नेपालका लागि सबै भन्दा ठूलो प्रयास हो । नत्र त नरेन्द्र मोदीले अर्को बाटो पनि खोलेका छन्, त्यहिबाट जान सकिन्थ्यो । तर हामीहरु सबैलाई के अह्राएका छौं भने नेपाल हुँदै जानु । ताकी नेपाललाई एउटा उद्योग मिलोस र नेपालको कोषमा राम्रो पैसा संकलन होस् । नेपालको टुरिज्म सक्कियो भने नेपाली नेताहरुको पनि काम खत्तम हुन्छ । म नेपालको सरकार र त्यहाँका नेताहरुलाई पनि आव्हान गर्दछु कि नेपाली संस्कृतिको, परम्पराको संरक्षण गरेर सधैं टिभीमा नेपालमा पर्यटकहरुलाई आमन्त्रण गर्ने विज्ञापन प्रसारण गरोस । त्यहाँका सबै पत्रपत्रिकाहरुमा हिन्दु राष्ट्रको पुजनको लागि नेपालमा आउनुहोस भनेर आमन्त्रण गरियोस् ।

पछिल्लो समयमा नेपाल र भारतका जनताहरुको बीचमा सुमधुर सम्वन्ध रहेपनि शासकिय सम्वन्धका केही तिक्तता आएको थियो । कतै यो तिक्तता धर्मकै कारणले त थिएन ! यसबारे तपाई के भन्नुहुन्छ ?

लोकमान सिंह कार्की, जो नेपालको अख्तियारका अनुसंधान आयोगका चेयरमेन हुन, उनको घरमा मैले रातीको दुई बजेसम्म पुजन गरे, ताकी उनी त्यो आयोगको चेयरमेन बनुन । त्यो मान्छे जुन दिन चेयरमेन बने, त्यस दिनदेखि उनले अहिलेसम्म मलाई एउटा फोनसम्म गरेका छैनन । किन गरेनन् ? किन कि उनले मसँग पहिला हिन्दुत्वको लागि काम गर्छु भनेका थिए । उनले पहिला राजा बिरेन्द्रसँग काम गर्थे । डा. बाबुराम भट्टराईलाईपनि मैले प्रधानमन्त्री बनाए, बाबुरामकै पालामा कार्कीलाई अख्तियारको चेयरमेन बनाए । जव मान्छे पदमा पुग्छन् तव उनीहरुले आफ्नो गुरुलाई पनि बिर्सन्छन् । हिन्दु गुरुलाई उनले ईग्नोर गरे । यो नै संस्कृतिभित्रको सबैभन्दा ठूलो धक्का हो । लोकमान सिंह कार्की यसको सबैभन्दा ठूलो उदाहरण हो । यसरी हिन्दुहरुलाई नेपालमा फँसाईयो ।

अन्तमा, नेपालमा हिन्दु धर्मलाई वढावा दिन, हिन्दू परम्परा र मठमन्दिरहरुको जगेर्ना गर्नको लागि तपाईको भावी योजनाहरु केही छन कि ?

म नेपालका सबै पत्रकार मित्रहरुलाई आव्हान गर्दछु कि मलाई त्यहाँ प्रोजेक्ट गर्नुहोस् । म हिन्दुहरुको लागि कर्म गर्न चाहन्छु । एउटा सत्संग मार्पmत यो धर्मलाई पालन गर्नुहोस् । यसलाई जतन गर्नुहोस् । जसले गर्दा नेपाल हिन्दुराष्ट्र बनोस । हिन्दु धर्ममा जस्तो मिठास अरुमा छैन । त्यो मिठास पाउनका लागि जगतगुरु कृष्णानन्द जी महाराजलाई स्वीकार्नुहोस् । जसले राजकीय राज दिन चाहन्छ, उसको सानिध्यमा आउनुहोस् । र सबैमा म यो प्रचार गर्नेछु कि नेपाल मेरो देश हो । यो हिन्दुको देश हो, यसमा हिन्दु भगवानहरुकोे पुजा, परम्परा, देवालय अविरत चलिरहने छ । यो कहिल्यै बन्द हुने छैन । र यसको उत्थान हुनेछ ।