
मेरो फेसबुक च्याट बक्समा आएको तेस्रो हेल्लो थियो, त्यो । चाहेर अथवा नचाहेर भएपनि रेस्पोन्स गर्नुथियो । ‘हजुर म अलिक बिजी छु’ मेरो जवाफले सायद काम ग¥यो । हुन त मैले त्यस्तो जवाफ दिनु थिएन । किनकी फेसबुकमा जोडिएका सबैजसो साथीभाइ, इष्टमित्र र चिनारु नै थिए । फेरि म कसरी व्यस्त भएँ ? दैनिक ४ देखि ६ घण्टा नेटमा रुमल्लिनु आदत नै थियो । भलै मेरा साथी धेरै थिए, तर सबैसँग कुरा गर्न सम्भव पनि थिएन ।
सायद २ घण्टाको अन्तराल हुनुपर्छ । मैले १ कप चिया थप्न भ्याएँ । पुन: हेलो । उही नाम, उही अक्षर, उही कुरा । अनि मेरो जवाफ उही, हजुर । प्रश्न आयो, ‘आराम होइसिन्छ’ आरामैको उत्तर दिए । घरपरिवारमा के छ ? अब म झल्यास्स भएँ र नामतिर ध्यान दिए । मेरो मानसपटलको परिधिमा सीमित छैन्, त्यो नाम । यदि नचिनेको भए, मेरोमा फ्रेण्ड कसरी ? होइन….होइन….मैले कन्फर्म गर्ने निधो गरेँ । त्यही नाम, कपी, सर्चमा पेष्ट र इन्टरले देखायो ‘स्टडी इन् ब्याचलर थर्ड इयर टी यू’ बस् यति थियो, उसको प्रोफाइलमा । एबाउट गरेँ – त्यही नाम । मिल्दोजुल्दो इमेल आइडी मात्र । बरु केही लाइक पेजहरू मेरोमा मिच्युअल थिए । प्रोफाइल पिक्चर कँही फूल, कँही काडा, कँही सायरी त कँही कार्टुन । बस् यही हो, उसको परिचय । यति हेर्न भ्याएको थिएँ, बोल्न पनि पैसा लाग्ने जस्तो अर्को प्रहार च्याट बक्समा आयो । अब मैले कुरा गर्नैपर्छ । कसैले साथी बनाउँदाको नाम परिवर्तन गरेको पनि त हुन सक्छ । हैन भने पनि ठीकै छ । फेरि बुझ्न पनि त सकिन्छ । म्यासेज बक्समा खान्दानी भाषा छ, अनि त्यहाँ देखाएको शिक्षा सही हो भने शिक्षित पनि । अब मैले विस्तारै औँला चलाएँ र सोधँे, ‘माफ गर्नुहोला ! मैले तपाईँलाई भुलेछु । तपाईँको परिचय ? उत्तर तुरुन्तै आयो, ‘मेरो नाम त्यही हो ।’ अझै धर्मराएर भनेँ, ‘मैले तपाईँलाई चिन्न सकिँन ।’
छिनभरमै च्याट लाइनमा रातो सिम्बोल आयो । हेरेँ, अब ठूलो मान्छे……….हामीलाई के चिन्नु………ओके बाई….। म यसै पनि कौतुलित थिएँ, अब झनै मन साँघुरिएर आयो । आखिर मैले चिनिन त मेरो के दोष ? हुन त केटी मान्छेले चित्त नबुझेपछि ठूलो मान्छे, हामीलाई बिस्र्या…….भन्ने गर्छन् । यो उनीहरूको आदत नै हो भनेर एउटा साथीले भनेको अझैँ भुलेको छैन् । त्यही सोचेँ रत्तिभर बिचलित भइन । कम्प्युटर सटडाउन गरेँ– ‘ओके बाई ।’
अब मन चयनमा छैन् । कतिबेला भोलि होला र उसलाई भेटेर…! उसलाई भेट्न यति आत्तुर थिए, मानौँ भोलि म संसार जित्दैछु । मेरो जीवनमा खुशीको बर्षा हुँदैछ । किन मान्छेको मन यतिबिघ्न उत्साही हुन्छ ?
आज त म पनि बाठैँ बनेँ । फेसबुक खोल्नुसँगै च्याटलाइन अफ गरेँ । पेज खुलेसँगै फ्रेण्ड, म्यासेज र नोटिफिकेसन्स् सिम्बोलमा राताम्मे देखेँ र हेरेँ मेरा सबै फोटा र स्टाटसमा एकएक लाइक बढेको थियो । त्यो सबै त्यही नामको थियो, जुन हिजो च्याटमा कट्टी भएको थियो । म्यासेज बक्समा पनि तपाईँ त कस्तो मान्छे त्यत्तिमा पनि रिसाउने, हिजोदेखि च्याटमै हुनुहुन्न ? उही नामको सन्देश थियो । मैले बाल–मतलब गरिँन । बरु अफलाइनलाई अन गरेँ । केहीबेरमा फेरि अर्को सन्देश आयो, ‘आइ एम सो सरी !’ मैले बाध्य भएर भनेँ, ‘इट्स ओके ।’ हैन, यी केटी मान्छे कति नखरा, कसरी केटा मान्छेलाई आफ्नो बनाउने ? प्रभावित पार्ने कति जान्या…। छिनमै रुने, छिनमै हाँस्ने क्या गजबको कला । हुन त म पनि कम हैन, अरु भए १÷२ हप्ता नै बोल्दैनथेँ होला । तर, केटी भएर २४ घण्टा नपुग्दै कट्टी फिर्ता गरेँ । तर यो मेरो मात्रै हैन, सबै लोग्ने मान्छेको बिशेषता हो । यो सँगै म उनीसँग च्याटमा गफिन थालेँ । सायद उनी भएरै होला, च्याटमा बस्नुको मज्जा बेग्लै हुन थाल्यो । मिनेट, घण्टा हुँदै हामी घण्टौँ च्याटमा हराउन थाल्यौँ । अनि नचिनेकैँ भएपनि अन्तरंग कुरा हुन्थे । फुर्सदमा सम्झदा लाग्थ्यो, भेटेरै सामीप्यता बाँड्न पाए…। म कतिपटक उनको असली परिचय र सम्पर्क नम्बर चाहन्थेँ । तर, अहँ त्यो कदापी सम्भव भएन । म हजुरलाई आफै कल गर्छु अनि भेटौँला हैँ…! छुट्नुअघिको भनाइ याद गर्दा पनि मन प्रफुल्लित हुने कस्तो संयोग ! मोबाइलमा सेभ नभएको नम्बरबाट कल आए पनि हतार–हतार उठाउन थालेँ । कतैँ उसैको …। होइन उसको स्वर कतै आएन । म व्यग्र प्रतिक्षामा तड्िपरहेँ, तड्पिरहेँ…। अब त च्याटमा पनि अफिसटाइम आकलझुकल मात्र भेटिन्छ, उसलाई । साँझ बिहान च्याटमा आइदिएपनि घरको कफ्र्यु तोडेर हल्का कुरा त गरिन्थ्यो नि ! मेरो आमुकता पूरा हुन सकेन । लामो समयपछि बल्ल ऊ आई मैले नि श्री गणेश गरेँ । ‘कता हराको ? खैँ त सम्पर्क ? उसले उम्कदैँ भनी, ‘म अलि व्यस्त भएँ, त्यही भएर । हजुरले अबदेखि मलाई तपाई हैन, तिमी भन्नु न है !’ उसको रिक्वेष्ट थियो । मैले नस्वीकार्ने कुरै भएन । किनकी म पनि अरुको धेरै इज्जत गर्नेमा कहाँ पर्छु र ? शहरिया रहनसहनमा सानैदेखि हुर्केको मलाई तिमी हैन तँ नै भन्नु परेपनि केको आपत्ति । समस्यै छैन, हुन्छ भनिदिएँ । यति हुँदासम्म मलाई कता–कता काउकुतीको आभाष हुन थालेको छ । म एकान्तप्रेमी, कतै एकान्तमा परे कि उनकै कल्पनामा हराउन थालेछु । च्याटका मीठामीठा शब्दहरू मेरा नयनपटलमा घुमिरहन्छन् । सोच्छु, उनीसँगको मेरोे सम्बन्ध जीवन्त हुनुपर्छ । उनी र मसँगको पहिलो भेट अहँ म..। कल्पना गर्नै सकिँन । म भित्रभित्रै यति प्रफुल्लित भएँ, मानौँ आजकलका नवजवानहरूले भन्ने भाषामा भन्ने हो भने मेरो लभ प¥यो । उनीबिनाको जीवन अब म सोच्नै नसक्ने भएँ । मेरो एकाङ्की आमुक्तमा केको राज छ ? त्यो त म पनि जान्दिन । तर, मलाई यति थाहा छ, उनीबिनाको म अधुरो रहन्छु ।
आज म अलि खुशी पनि छु । त्यसैले गायक बिनोद राठोरको ‘खुसी छु म आज तिमीभन्दा धेरै…। बोलको गीत अधरबाट अनायासै फुत्किरहेको छ । पिंजडाबाट उम्किएको पंक्षी जस्तै स्वतन्त्र छु, आज । तीजको रमझमले मलाई पनि घरको कफ्र्यु हटेको छ । निर्जीव पलङमा लमतन्न मलाई निन्द्रादेवीले धोका दिएको आभाष सहजै अनुमान गर्न सक्छु । लोडसेडिङको अन्धकारमा संगीतको ताल दिँदै गरेका भ्यागुताको ट्वारट्वारसँगै मेरो मानसपटलले एउटा गजबको उपाय फेला पा¥यो । साथीले उपहार दिएको आइफोन अब मेरो लागि निन्द्रा आगमनको उपाय हुनसक्छ । मोबाइल डाटा कनेक्ट गरे, च्याटमा जाऊँ । उसलाई भेटिने हैन्, बेकारमा के पैसा खर्च गर्नु ? एकातिर मन भनिरहेछ, अर्कोतर्फ सरसर्ती हेरेर अपडेट त हुनैपर्छ । नभन्दै आज मेरो जीवनमा दोस्रो आश्चर्य अंकित भएको छ । ताकी उसलाई यति अबेर पनि च्याटमा देखेँ, हत्त न पत्त टाइप गर्दै थिएँ, ऊ फस्ट भई ह्याप्पी तीज…। मैले ‘सेम टु यू’ भन्दै सोधेँ, ‘यतिबेलासम्म च्याटमा ? उसले जवाफ दिँदै भनी, ‘व्रत बसेको सबैजना रमाइलो गर्दैछौँ ।’ मैले सोधिहालेँ, ‘कस्को लागि व्रत ? एउटा स्टिकरसँगै जवाफ आयो, ‘मेरो व्रत हजुरको लागि..।’ म एक्कासी छाँगाबाट खसेझैँ भएँ । मनभरी उकुसमुकुस छटपटिहरू मडारिन थाले । साँझको लालीमा प्रभातका किरणहरू देख्छु । अन्धकारमा पनि रश्मिका छटाहरू देखिन थाल्छन् । कतै मन तुल्बुलिन्छ, सम्हाल्छु आफूलाई भारी मनले मनमनै भन्छु, ‘यो कसरी सम्भव छ । हैन मेरा लागि व्रत बस्ने कति हुन सक्छन् ? दुई दिनको रमझममा ऊ मेरा लागि व्रतसम्म बस्न सक्छे, अहँ यो हुन सक्दैन । फेरि अर्को मनले भन्छ, किन किन ऊ बिनाको म…। नाई म सोच्नै सक्दिनँ । मनभरी तर्क नै तर्कना बोक्दै थिएँ, खैँ कतिबेला निन्द्रा देवीले अंगालो मारिन् थाहै भएन ।
सायद चौथो दिन हुनुपर्छ मेरै एरियाको लेण्डलाइन फोन नम्बरबाट फोन आयो । रिसिभ गरेँ, ‘हेलो आदत जी हो,’ मैले हो भनेँ । कोइली आवाजैँ त नभएपनि कतै सुनेको जस्तो सुमधुर आवाज थियो, त्यो । मैले यकिन गर्न त सकिँन । र, पनि त्यो आवाजसँग म नजिकै हुनुपर्छ । म अन्दाज गर्न सक्छु । हत्तारिँदै सोधेँ,‘को बोल्नुभो ? ‘चिन्नुभएन अन्दाज गर्नुस् न म को होला ? म लख काट्दै थिएँ, उसले थपिहाली, ‘म फेसबुकको साथी नाम हजुर नै राख्नुस् न है…।’ म पुलकित भएँ । हर्षले कताकता हराए जस्तो आभाष भयो । म जसको प्रतिक्षामा आतुर थिएँ । आज ऊ मसँगै छ । मैले हत्त न पत्त नाम राखेँ– फेसबुककी केटी ।
धेरैबेरको अन्तरंग कुराकानीले म यति प्रफुल्लित भएँ, सायद जीवनमा नयाँ आयाम थपिएको मनन गर्छु । कति भाग्यमानी म ! ऊसँगको कुराकानीले मलाई किन–किन काउकुतीको आभाष भइरहेछ । मेरो धेरै रिक्वेष्ट उसलाई भेट्ने । तर उसले मान्दै मानिन । अन्तत ः ऊ पग्लि, ‘भोलि भेटौँ न है ? उसको कुरा नसकिँदै हुन्छ भन्न मलाई कुनै अप्ठ्यारो परेन । छोरीको भोलि स्कुल बिदा छ । उसलाई नि लिएर आउँछु नि है ? उसको यो भनाइले म एक्कासी छाँगाबाट खसेजस्तै भएँ । फेरि एकपटक मेरो जीवनमा ठूलै रेक्टर स्केलको भुइँचालो आयो । हामी दुईको सम्बन्धमा यो छोरी कहाँबाट आई । यति लामो कुराकानीमा मलाई पत्तै भएन, ऊ विवाहित थिई । अझै छोरीकी आमा । नाई यो मलाई स्वीकार्य छैन…। तर, विवश पनि छु । हुन त म पनि विवाहित नै हुँ नि । मेरी पनि उसको जस्तै एउटी छोरी छ । आखिर के भो त संयोग पनि उस्तै । दुवै विवाहित, दुवैका एक–एक छोरी । म मन बुझाउने प्रयास गर्छु । दुबैको चिन्ने सिम्बोल साटासाटसँगै उसले भेट्ने स्थान छान्न मलाई जिम्मा दिइ । मैले मणिमुकुन्द सेन पार्क रोजेँ । उसले ओके गरी । हामी दुवै भोलिको प्रतिक्षामा छुट्यौँ ।
अब मन चयनमा छैन । कतिबेला भोलि होला र उसलाई भेटेर…। उसलाई भेट्न यति आत्तुर थिएँ, मानौँ भोलि म संसार जित्दैछु । मेरो जीवनमा खुसीको वर्षा हुँदै छ । किन मान्छेको मन यतिबिघ्न उत्साही हुन्छ । मैले केही सोचेको छैन । साँझ घरमा खाना खान मनै लागेन । केवल भोलिको प्रतिक्षामा तुल्बुलिन पुग्छु । निन्द्रा फिटिक्कै लाग्दैन । जहानले थाहा पाउली भनेर निदाएको अभिनय गर्छु । कुखुरी बास्दा–नबास्दै बुढीले चिया थमाउँदै, ‘आज छोरीको बिदा छ लिएर कतै घुम्न जाऊँ न हैँ’ भन्दा झनक्क रिसाएँ । किनकी आजकल बुढीको बोली रुखो लाग्न थालेको छ । अघिपछि उसको अनुहार हेरेर रमाउने मलाई आज उसको अनुहार मलिन लाग्छ । मनमनै भन्छु ‘कस्तो अलच्छिना आइमाई !’ बिहानबिहानै मुडै खराब बनाइदिई । मेरो मनको साँघुरो दायराले यही भन्न थालेको छ । अझै सम्हालिएर भनेँ, ‘आज अफिसमा धेरै काम छ । साँझ मिटिङ भन्या छन् । म भ्याउँदिन घर आउन पनि अबेरै हुन्छ होला । तिमी आफै कतै घुमाइदेउन है !’ मेरा कुरा नसकिदै बुढीले मन्द मुस्कानमा ‘हुन्छ’ भनी र ‘साँझ चाँडै आइस्यो न है !’ भन्दा म नाजवाफ थिएँ ।
अब मेरो प्रतिक्षाको घडी सकिँदै थियो । तोकिएको समयभन्दा धेरै अघि हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ बोकेर म मणिमुकुन्द सेन पार्कको माथिल्लो भागमा बसिरहेँ, ऊ आउने बाटो हेर्दै । मलाई पार्कको त्यो सुन्दरता त्यहाँ बनेको छटाहरू, त्यहाँको ऐतिहासिकता अनि आवतजावत गर्दै गरेका कोही पनि मन पर्न छोडेको छ । मनपर्छ त केवल ऊ…। उसको अनुहार देख्दा नै स्वर्ग पुग्ने आभाष भइरहेछ । पार्क अगाडिको त्यो पुल । छिः धिक्र्काछु र निर्जीव पुललाई पनि किनकिन गाली गरिरहेछु । हो, मलाई अब सबै चिज मन पर्न छोडेको छ, मनपर्छ त केवल उसको कुरा । उसको स्वर । अनि देख्तै नदेखेको अदृश्य उसको अनुहार । घण्टा बितिसक्यो हेर्दा–हेर्दा नयनहरू टिठ्याइसकेँ । टाढालाई धुमिल देख्न थालिसकेँ तर पनि ऊ आइन…आउँदै आइन ।
फेरि नजरलाई पुलसम्म पु¥याए । अघि नराम्रो लाग्ने पुल राम्रो लाग्छ, त्यही पुलमा निलो छाता ओढेर हातमा सानी छोरी डो¥याउँदै ऊ आई । टाढैबाट अनुहार यकिन गर्न त सम्भव भएन । तर पनि म विश्वस्त छु, त्यो उही हो । लामो कपाललाई गुजमुल्टो बनाएर पछाडि बाँधिछ, मोरीले । टाढाबाट देख्दा फक्रेको फूल जस्तो लाग्ने । निलो टिसर्टमा टिमिक्कको पाइन्ट । बैजनी रंगको जुत्ता कति सुहाएको मोरीलाई ? सिलिक्क परेको ज्यान लचकदार हिँडाई । कल्पनामै मदहोस् हुन्छु, म । लाग्छ, ऊ विवाहित महिला हैन् । १६–१८ की च्वाँक तन्नेरी हो । सानी छोरी ठ्याक्कै मेरी छोरी जस्तै एक हात आमालाई समाउँदै अर्को हातमा आइसक्रिम खाँदै हिड्दा म बालस्वभावमा केन्द्रीत बन्छु । कस्तो चञ्चल, पवित्र अनि अबोध उत्सुकता मेरी छोरीले तोतेबोलीमा बाबा भनेको स्मरण गर्छु । हैन म कस्तो हुस्सु । छोरी आउने भनेपछि एक पिस चोकोपन पनि नलिई आउने ? आमासँगचाँहि बदाम खाँदै घण्टौँ गफ गरिन्छ होला । होइन–होइन कहाँ बदाम उसलाई चटपट चाहिन्छ होला । म कल्पित बन्छु । नाई म कहाँ चटपट खान्छु र ? खुर्सानी र श्रीमती सम्झिएसी सातो जाने म …। फेरि घोत्लिन्छु र सोच्छु यति सानी छोरी भएकी मान्छे किन यसरी हिड्या होला ? उसको श्रीमान….। जे सुकै होस्, मलाई बाल मतलब । ऊ नै यही चाहन्छे भने मेरो के दोष । हुन त म पनि कहाँ कम छु र ? घरमा घण्टा समय नदिने उसको लागि पूरै दिन त्याग्न तयार छु । उसकी छोरीलाई मेरी छोरीको भन्दा बढी माया त गर्दिन । तर, उसलाई जत्तिकै माया गर्छु । बालस्नेहले मेरो मनमा जरा गाड्दै थियो । विस्तार–विस्तार ऊ नजिकैँ आइसकी । अब म केही बेर कलाकार बनेँ । उसले पनि मलाई खोजेर हैरान होस् म चाहन्थँे । पार्कको माथिल्लो छेउमा बसेर पहिले कुरा गर्दा खोकेको यादमा पढन्ते देखाउन चिना हराएको मान्छे पल्टाएर नदेखेझैँ म घोत्लिरहन्छु । उसको प्रतिक्षामा, केवल उसको प्रतिक्षामा….।
मेरो अन्तिम सोचाई उसको अनुहार कस्तो होला ? नराम्रो छिः यो हुनै सक्तैन । यस्तो राम्रो कुरा गर्ने मान्छे अनि कोइली कण्ठको स्वर भएको मान्छे । कसरी नराम्रो हुन सक्छ । म आफू ऐना त हेर्दिन राम्रै कहाँ हुँला र ? तर पनि म आफूलाई राम्रो सम्झन्छु, स्मार्ट ठान्छु सायद म जस्ता सबैले यस्तै ठान्छन् होला । चियोचर्चो त गर्दिन र पनि सबैको विशेषता यही हुनुपर्छ । एक्कासी बाबा भन्दै छोरीले पछाडिबाट गर्लम्म अंगालो मार्छे । म छोरीलाई सम्हाल्दै उठ्छु र उ पट्टी फर्कन्छु । मेरी बुढी भन्दै थिई, ‘मै हुँ हजुरको फेसबुककी केटी…!’















प्रतिक्रिया