मुम्बईलाई ‘माया नगरी’ पनि भनिन्छ । एकपटक मुम्बई प्रवेश गरेको मान्छेलाई मुम्बईले यसरी लोभ्याइदिन्छ कि उसलाई मुम्बइ छोडन मनै लाग्दैन भन्ने भनाइ पनि यहाँ प्रचलित छ । यसको कारण यहाँ बस्नका लागि बाहेक अन्य सबै चिजहरु सस्तोमा पाउनु, भने अनुसार या क्षमता अनुरुपको रोजगार पाइनु पनि एक हो । उसो त मुम्बई भारतको आर्थीक राजधानीका रुपमा पनि बुझ्ने गरिन्छ । भारतका थुप्रै चर्चित पर्यटकीय स्थलहरु मध्ये चर्चित गेटवे अफ इण्डिया, सिध्दीविनायक मन्दिर, मुम्बादेवी मन्दिर, हाजी अलि बन्दरगाह, लगायतका सयौा धार्मीक तथा पर्यटकिय गन्तब्य यहाँ छन । बलिउडको राजधानी समेत भन्ने गरिएको मुम्बइमा थरिथरिका मान्छेहरुलाई फरक–फरक अन्दाजमा भेटन सकिन्छ । यहाँ आउने हरेकले आफ्नो पहिचान बोकेर आउँछन र यहि माया नगरीको चगुंलमा परेर उनिहरुले आफूलाई रुपान्तरण गर्ने प्रयत्न गर्छन । त्यहि प्रयत्नमा लागिरहेका लाखौं प्रवाशी नेपालीहरुलाई यहाँका हरेक गल्लिहरुमा भेटन सकिन्छ । कोही सीप सिक्न आँछन त कोही श्रम बेच्न, कोही अध्ययनमा आउँछन त कोही भ्रमणमा, कोही व्यापारी बनेर यहाँ आँउछन त कोही कुशल राजनीतिज्ञ बनेर आँउछन । जे होस मुम्बइको जीवनशैलीलाई पछ्याउन भनौं या चुनौती दिन खोज्नेहरु पनि यहाँ लाखौंको हिसाबमा ओइरिन्छन । नेपालका प्राय सबै प्रधानमन्त्री ज्यूहरुले मुम्बइको भ्रमण पनि गरिसक्नु् भएको छ । तर उहाँहरुको मुम्बई भ्रमणले यहाँ रोजीरोटी गरिखाने, श्रमजीवि वर्गकालागि भने ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेझैँ भएको छ । हुन पनि नेपालमा जति पनि सरकार आए, जतिपनि राजनैतिक परिवर्तन आए अहँ, मुम्बइलाई कार्यक्षेत्र बनाउने नेपालीहरुकालागि त्यसले सम्वोधन गर्न सकेन, अझ भनौं मुम्बइ आसपासका नेपालीहरुलाई त्यहाँको सरकारले नेपाली हुन भन्ने नै ठान्न सकेन ।
मुम्बईको वास्तविकता :
मुम्बई हेर्नमा जति सुन्दर छ । जति मनमोहक छ । त्यति यो भित्री रुपमा सुन्दर छैन । यहाँको जीवनशैली हुनेखाने वर्गहरुकालागि मात्रै उपयुक्त छ । यहाँ सामान्यतया नेपालबाट आउने श्रमजीविहरु मध्ये ६० प्रतिशतले वाचमेन, ३० प्रतिशतले होटलमा कुक, वेटर, ३ प्रतिशत अध्ययन एवं ७ प्रतिशतले स्तरीय रोजगार या व्यवसाय गर्दै आएकाछन । यहाँ हालसम्म एकिन रुपमा कति नेपाली छन भन्ने सहि तथ्याकं संकलन गर्न नसकिएपनि कम्तिमा पनि ४ लाख बढि नेपालीहरु रहेको सजिलै अनुमान गर्न सकिन्छ । हरेक गल्लिमा, हरेक होटलमा अनि हरेक विल्डीगंको गेटमा यहाँ नेपालीहरुलाई भेटन सकिन्छ । तर उनिहरुको जीवन एक सानो खोली (सोसायटिले पानी चलाउन बनाएको सानो पम्परुम) भन्दा बाहिर जानै सक्देन । जसो तसो गरेर महिनाको ८–१० हजार उनिहरु कमाउँछन अनि नेपालमा जहान परिवारलाई सुखसाथ राख्ने सपना देख्छन । यसरी नै अधिकताम प्रवाशी नेपालीहरुको जीवनचर्या चलिरहेछ । थाहा छैन यसरी जीन्दगी कहिले सम्म रंगिन सपनाहरुको साथमा जीउनुपर्ने हो । अनि ति रंगीन सपनाहरुले कहिले मुर्तरुप लिनेहुन, यसै भन्न सकिने अवस्था छैन तर हिम्मत चाहीं गरिएकै छ ।
नेपालीलाई हेर्ने नजर :
आजकाल मुम्बईमा नेपालीहरुलाई हेर्ने नजरमा समेत बदलिएको आभाष हुदैछ । दिनप्रतिदिन घटने चोरी, डकैतिका मुद्वाहरुमा नेपालीहरु समेत सामेल हुने भएकाले प्रहरीले नेपालीलाई कामदारको रुपमा राख्नुपुर्व १०० पटक सोच्न मालीकहरुलाई निर्देशन समेत दिदै आएको छ । यहाँ नेपालीले काम गनेृ विल्डीगंमा भारतीयले चोरी गरेपनि पहिले नेपाली माथी नै शंका गर्ने प्रवृत्ति विगत ८–१० वर्षमा ह्वात्तै बढेको छ । जसले गर्दा नेपालीहरुमाथी चर्को यातना दिने काम दिनहुँ हुदै आएकाछन । दिनदिनै रेल दुर्घटना, सडक दुर्घटना, हत्याका शिकार नेपालीहरु हुदैछन । गएको एक महिना भित्र मात्रै ५ जनाको दुर्घटनामा परेर मृत्यू भयो । थुप्रै घाइते भएकाछन । अझ कति अपागं भएकाछन, कति अस्पतालमा हारगुहार गर्दैछन । हार्ट अटैकको कारण दुइजना, हत्या २ जना पुणे सहित, कति लापत्ता भएकाछन । यसको कुनै हिसाब किताबै छैन । प्रायः खाडी तथा अन्य मुलुक जान नसक्ने या निरक्षर श्रमजीवि वर्गकालागि काम गर्न आउने यो मुम्बइ शहर नेपालीहरुकालागि दिन प्रतिदिन विरानो बन्दे गएको छ । यहाँ रुदै गरेको गरिबका आँशु पुछ्ने मान्छेहरु भेटिदैनन । अझ भनौं विरामी भएकाहरुलाई कुर्न सम्म जान नसकिने अवस्था आएको छ । एकातीर कामको वोझ, अर्कोतिर महगों जीवनशैली, अर्कातिर परिवारलाई सुखि राख्ने, बालबच्चालाई उचित शिक्षा दिक्षा दिलाउने महत्वाकांक्षा, यस्तै कारणले मुम्बइमा भागदौड चलिरहेछ…बस चलिरहेछ थाहा छैन कि यसरी यो जीन्दगी कहिले सम्म चलाइराख्नुपर्ने हो ।
अबको आवश्यकता : सबैमा एकता
मुंबइ नगरीमा थुप्रै सामाजीक संघ संस्थाहरु सक्रिय छन । तर पनि उनिहरुले चाहेजति समाजसेवा गर्न सकिरहेका छैनन । यसको एउटै कारण छ सबै यहाँ रोजगारीकालागि आएकाछन । उनिहरुले भनेजति समय दिन सक्दैनन । समय दिउन पनि कसरी ? यदि समाजसेवाकै लागि दौडिने हो भने यहां कहाँ बस्ने, दिनहुँ लाग्ने गाडिभाडा कसले दिने, आफ्ना आफन्तहरुलाई उपयुक्त शिक्षा दिक्षा कसले दिने ? तसर्थ यहाँ हामीले चाहेर पनि पुरा समय सामाजीक क्षेत्रमा दिन सक्दैनौं । किनकी हामी सबैका आफ्नै समस्याहरुछन । बाध्यता छन अनि विवशताहरु छन । यसो हुँदा अब यहाँका समाजसेवि मनहरु विचमा कार्यगत एकता हुन आवश्यक छ । अनि त्यो एकताले नेपाल सरकारलाई दबाब दिन सकोस, लाखौं आवाजविहिनहरुको आवाजलाई सिंहदरबार पु-याउन सकियोस । ताकी प्रवाशी नेपालीहरुका समस्या समाधानार्थ सरकारले उपयुक्त कदम चालोस । यसकालागि हामी एक्ला एक्लै केहि गर्न सक्ने अवस्थामा छैनौँ । आजका दिनमा कसैको हत्या भए वा अरु कुनै मुुद्दा मामीला नेपाली माथी परेको खण्डमा यहाँ स्थानीय संघ संघटनका प्रतिनीधि बाहेक अरु कसैले सहयोगका कदम अघि बढाउदैनन । फलस्वरुप आम प्रवाशी नेपालीहरु निराशताको जञ्जिर भित्र जकडिन बाध्य हुन्छन । अनि नगरेको गलत कामको समेत अपजस स्विकार गरेर जेलमा निरिह बस्न बाध्य बनाइन्छन । त्यहाँ कसैको पनि आवाज सुनिदैन । तसर्थ अब हामी सबै एक हुनुको विकल्प छदै छैन । जति ढिलो हामीमा एकता हुन जान्छ त्यति धेरै हामीले क्षति ब्यहोर्नु पर्ने पक्का छ ।
महावाणीज्य दुतावासको माग : नारामै सिमित
नेपालमा जति पटक सरकार परिवर्तन भएपनि प्रवाशी नेपालीहरुले ति सरकार समक्ष माग्ने प्रमूख माग मध्येको मुम्बइमा महावाणीज्य दुतावास स्थापना नै हो । भारतको आर्थीक राजधानी भएको, लाखौा प्रवाशी नेपालीहरुको रोजगार रहेको, हजारौा नेपालीहरुले व्यवसाय गरिरहेको यो शहरमा नेपाल सरकारले प्रवाशी नेपालीहरुलाई उपलब्ध गराउने सेवा, सुविधा, समस्यामा परेका नेपालीहरुको उद्वार, चेलिवेटी वेचविखन न्यनिकरण लगायत राहत,। क्षतिपुर्ति भराउन सम्मका कार्यकालागि अनिवार्य रुपमा महावाणीज्य दुतावास स्थापना गरिनुपथ्र्यो । तर त्यसो हुन सकेन । राजनैतिक खिचातानीको मारमा सबै भन्दा बढि भारतमा काम गर्ने नेपालीहरु परेकाछन । एकातीर राजनैतिक दलहरुले भारतलाई विदेश पनि भन्ने अनि विदेशमा काम गर्न गएका नेपालीहरु सरहको सेवा सुविधा उपलब्ध नगराउने प्रवृत्तिले सबैभन्दा ठुलो समस्या निम्त्याएको छ । यसकालागि भारतमा बस्ने नेपालीहरुले मात्रै होइन । नेपालमा बस्ने आम पत्रकार, बुद्विजीवी, राजनीतिज्ञ, समाजसेवी लगायतले नेपाल सरकारलाई घचघचाइदिएको खण्डमा पक्कै पनि केहि परिवर्तन हुने थियो कि ? जति सरकार आएपनि भारतमा बस्ने नेपालहिरुका लागि केहि गर्न नसकेको दृष्टान्त, अझ भन्ने हो भने सौतेलो ब्यवहार खेप्न नेपाल सरकारबाट बाध्य बनाइएका प्रवाशी नेपालीहरुका पक्षमा लोकप्रिय नारा लगाउने गरिन्छ कि मुम्बइमा महावाणीज्य दुतावास खोल्छौं भनेर…तर त्यो नारा कहिले सम्म साकार होला ? कहिले सम्म त्यसले मुर्तरुप लेला यसै भन्न गाह्रो छ ।
अन्त्यमा मेरो अनुरोधः
मुम्बइलाई आफ्नो कर्म क्षेत्र बनाएका आम नेपालीहरुलेसमेत यहाँको सुरक्षा चासोलाई आत्मसाथ गर्ने पर्छ । भारत सरकारको संविधानको अधिनमा रहि कामहरु गरेको खण्डमा पक्कै पनि अनाहकमा दुःख पाइदैन । भारत सरकारलाई हामीले हाम्रो तर्फबाट हुने सहयोग गर्नेतर्फ अग्रसर हुन पर्छ । नेपालमा जति पनि राजनैतिक नाराहरु उछालीन्छन ति नाराहरुले हामीलाई सम्बोधन गर्न सक्दैनन भन्ने कुरा विगत देखि नै हामीले थाहा पाएकाछौँ ।
तसर्थ सबै भन्दा पहिले हामी कहां छौं, के गर्दैछौं र हामी यहाँ किन आएका हौँ भन्ने तर्फ ख्याल समेत गर्नुपर्ने परिस्थितीको सिर्जना भएको छ । हामी जसरी सामाजीक सञ्जालमा विरोधहरु गछौँ त्यसरी विरोध गर्दा भारत सरकारको संविधानलाई चोट पुग्नेगरि कुनै कुरा पोस्ट्यानु पुर्व ख्याल समेत गर्नुपर्छ । नभए हामीले अनाहकमा दुइ शब्द लेखेकै भरमा समेत जेल जानुपर्ने हुनसक्छ । तसर्थ अब हामीमा परिवर्तन ल्याउनैपर्छ । कुनै एक पार्टी, जाती, क्षेत्र, लिंग, धर्ममा नबाँडीएर हामी पहिलो कुरा नेपाली बन्न उच्चतम प्रयत्न गरौं । नेपाली नै हाम्रो पहिचान हो । (लेखक नेपाल न्यूज दैनिकमा कार्यरत छन । यो उनको निजी विचार हो ।)















प्रतिक्रिया