काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको ‘फाइनल’ वार्ता सकिएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्रीसँग ‘अन्तिम’ वार्ता गर्न सोमबार अपराह्न वालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्री ओलीसँग झण्डै सवा २ घन्टा ‘वान टु वान’ वार्ता गरेका छन् ।
वार्तामा वर्तमान गठबन्धनलाई नै निरन्तरता दिन प्रचण्ड तयार भएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली र प्रचण्डबीच सत्ता गठबन्धनलाई अझ बलियो बनाउने र यसैमा अन्य दलको समर्थन ल्याएर राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिने समझदारी भएको छ ।
‘अहिलेको गठबन्धनलाई कसरी बलियो बनाउने र यसैलाई सहमतिको स्वरुप दिने विषयमा सकारात्मक र गम्भीर छलफल भएको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने– ‘नयाँ राजनीतिक परिस्थितिमा कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भयो ।’
यसअघि आजै विहान माओवादी केन्द्रको बैठकले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्ने र त्यसको जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही जिम्मेवारी अनुसार प्रचण्डले आज दिनभरी आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गर्न दौडधुप गरेका थिए ।












प्रतिक्रिया