२६ कार्तिक २०८३, बिहिबार

बालकृष्ण ढुङ्गेललाई न्यायाधीशले थुन्ने होइन, पुलिसले थुन्दैनः प्रधानन्यायाधीश कार्की

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushila-karki-1

काठमाडौँ, २७ असार । नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको शपथलगत्तै आजै पदभार ग्रहण गर्नुभएको छ ।

सर्वोच्च अदालतमा पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो कार्यकालमा संविधान र कानुनको अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संविधानसँग बाझिएका कानुन संशोधन गर्न आदेश जारी गर्ने काम यसअघि पनि गर्दै आएको बताउँदै उहाँले आफ्नो प्राथमिकता संविधान कार्यान्वयन हो भन्नुभयो ।

Sushila-karki-press-meet

प्रधानन्यायाधीश सुशीला कार्कीले भन्नुभयो – “आफ्नो कार्यकालको ठूलो चुनौती प्रदेशअनुसार उच्च अदालतको निर्माण गर्नु हो । १६ पुनरावेदन अदालतका मुख्य न्यायाधीशलाई कसरी मिलाउने भन्ने समस्या छ ।”

उहाँले धनी र हुनेखाने वर्गका लागि मात्र नभएर सीमान्तकृत र पछाडि परेका निमुखा जनतासम्म न्याय पुर्याउन न्यायमा पहुँच आयोग गठन गरेको उल्लेख गर्नुभयो ।

प्रधानन्यायाधीश कार्कीले सबैमा सहज र सरल रुपमा न्याय सेवा पुर्याउन बाहिरका जिल्लाबाट पनि तारिख लिन सक्ने व्यवस्था मिलाएको र द्रुत र निरन्तर सुनुवाइका लागिसमेत पहलकदमी लिन बताउनुभयो ।

Sushila-karki

आगामी दिनमा फैसला कार्यान्वयनमा बढी जोड दिने पनि उहाँले बताउनुभयो ।

फैसला कार्यान्वयनकै सन्दर्भमा प्रधानन्यायाधीश कार्कीले भन्नुभयो – “तपार्इंले माओवादीका बालकृष्ण ढुङ्गेलको कुरा गर्नुहुन्छ होला । उहाँलाई न्यायाधीशले थुन्ने होइन, पुलिसले थुन्दैन ।”

आगामी दिनमा कागजविहीन अदालत बनाउने तयारी भइरहेको हुनाले त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन लैजाने र अदालतमा तिर्नुपर्ने रकम पनि बैंकमार्फत तिर्ने व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी उहाँले दिनुभयो । उहाँ ११ महिना पदमा रहनुहुनेछ । रासस