म्याड्रिड (स्पेन), २७ असार । अमेरिकी राष्ट्रपति बाराक ओबामा आइतबार स्पेन आई स्पेनका राजा र कार्यवाहक प्रधानमन्त्रीसँग भेट गर्नुभएको छ ।
स्पेनी कार्यवाहक प्रधानमन्त्री मारिन्नोह रहोयसँग मोन्क्लोआ दरबारमा भेटवार्ता गर्नुभएको छ ।
यसअघि आइतबारै उहाँले यहाँका राजा फिलिप छैटौँलाई भेट्नु भएको थियो ।
अमेरिकी राष्ट्रपति ओबामाको स्पेन भ्रमणको कार्यक्रमअनुसार उहाँहरुको भेट सोमबार हुने तय भएकोमा अमेरिकी सहर डालसमा भएको श्रृङ्खलाबद्ध आक्रमणपछि देखिएको तनावका कारण भ्रमणको कार्यक्रमलाई छोट्याएर फर्किदै हुनुहुन्छ ।
राष्ट्रपति ओबामाले आफ्नो दुईदिने स्पेन भ्रमणलाई छोट्याएर आइतबारै वासिङटन फर्किने कार्यक्रम छ ।
भेटका क्रममा राष्ट्रपति ओबामाले आफू स्पेनमा लामो समय बस्न चाहे पनि यससाता अमेरिकाका लागि एक ‘कठीन हप्ता’ भएको बताउँदै आफ्नो स्पेन भ्रमण छोटै भएपनि दुई देशको सम्बन्ध प्रगाढ बनाउन कोशेढुङ्गा हुने बताउनुभएको छ ।
उहाँले अमेरिकाले एकताबद्ध युरोपबाट आधुनिक समयमा ठूला राजनीतिक र आर्थिक उपलब्धि पाउनसक्ने कुरामा विश्वास राखेको बताउनुभयो ।
राष्ट्रपति ओबामाले युरोपेली राष्ट्रका लागि चुनौतीको रुपमा देखिएको आप्रवासी तथा शरणार्थी समस्याले युरोपको सीमा नीति सम्बन्धमा सावधानी अपनाउन निर्देश गरेको बताउनु हुँदै भन्नुभयो, यो बेला युरोपका लागि कठीन समयका रुपमा आएको छ । यसबाट युरोपेली नागरिकले आत्मसन्तुष्टि महसुस गर्न सम्भव नभएको र समस्या समाधानका लागि सम्पूर्ण युरोपेली मुलुकबीच एकताको खाँचो देखिएको छ ।
राष्ट्रपति ओबामाले थप्नुभयो, हालै युरोपमा देखिएको आर्थिक सङ्कटले कैयौँ युरोपेली त्यसमा पनि युवा जमातलाई निरुत्साहित बनाएको छ । यसैको परिणाम बेलायतमा ईयूबाट बाहिरिने समूहप्रति आकर्षण बढ्दा बेलायत ईयूबाट बाहिरिने निर्णय लिन पुगेको छ, तर यस कठीन सङ्कटलाई बेवास्ता गर्दै समग्र्र युरोपको अर्थतन्त्र सुधारका लागि अघि बढ्नुपर्ने आजको आवश्यकता छ, उहाँले भन्नुुभयो । –एएफपी















प्रतिक्रिया