१ कार्तिक २०८३, आइतबार

हरिप्रसाद कल्याणी रिमाल पुरस्कारबाट दुई अभिनेत्री

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

HariPrasad Kalyani Rimal Natyasangit 1 (1)काठमाडौं, २५ असार । हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानले दुई नाट्यकर्मी र दुई संचारकर्मीलाई सम्मान गरेको छ ।

वरिष्ठ गायक एवं वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको ९१ औं तथा वरिष्ठ संचारकर्मी कल्याणी रिमालको ८०औँ जन्मोत्सवको अवसर पारेर प्रतिष्ठानले अभिनेत्रीद्वय सुभद्रा अधिकारी र बसुन्धरा भुषाललाई हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत पुरस्कार तथा संचारकर्मीद्वय कमल प्रधान र हरिश चन्द ‘माइकल चन्द’ लाई हरिप्रसाद कल्याणी रिमाल संचार सेवा सम्मानबाट सम्मान गरेको हो ।

काठमाडौंमा भएको कार्यक्रममा सम्मानित हुनेहरूलाई सम्मान गर्दै नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति वरिष्ठ साहित्यकार सरूभक्तले हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानले आफू रहेको संस्थाले गर्नुपर्ने काम गरिरहेको भन्दै यो संस्थासंग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो । कुलपति सरूभक्तले यो क्षेत्र जातिय, सांस्कृतिक, पहिचानलाई जोगाइ राख्ने क्षेत्र भएकाले सरकारले लगानी बढाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सम्मानित हुने अभिनेत्रीद्धयलाई सम्मानपत्रसहित जनही २५ हजार एक सय ११ तथा संचारकर्मीद्धयलाई सम्मानपत्रसहित ११ हजार एक सय ११ रूपैयाँ प्रदान गरिएको छ । अधिकारी र प्रधानलाई २०७० सालको तथा भुषाल र चन्दलाई २०७१ सालका व्यक्तित्वका रूपमा सम्मान गरिएको हो ।

विगत १३ वर्षदेखि बिरामी भई घरमै आराम गरिरहेका हरिप्रसाद रिमालको स्वास्थ्यकै कारण गत वर्ष गर्नुपर्ने सम्मान कार्यक्रम प्रतिष्ठानले गर्न सकेको थिएन ।

२०६५ सालमा स्थापित सो प्रतिष्ठानले यसअघि नाट्यसंगीत पुरकारबाट वरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्ल, वरिष्ठ संगीतकार तथा गायक चन्द्रराज शर्मा, वरिष्ठ अभिनेत्री भुवन चन्द, वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई सम्मान गरिसकेको छ ।

त्यस्तै प्रतिष्ठानले संचारसेवा सम्मानबाट वरिष्ठ संचारकर्मीहरू कृष्णा ताम्रकार, हरि श्रेष्ठ, धु्रव थापा र दुर्गानाथ शर्मालाई सम्मान गरिसकेको छ ।

त्यस्तै प्रतिष्ठानले हरिप्रसाद कल्याणी रिमाल कलासम्मानबाट गायकहरू सुदेश शर्मा, संजय श्रेष्ठ, माण्डवी त्रिपाठी, अजर जंगम, घनश्याम गौतम तथा मनोहर सुनामलाई सम्मान गरिसकेको छ ।

कार्यक्रममा सम्मानपछि वरिष्ठ अभिनेत्री बसुन्धरा भुषालले आफ्नो गुरूको संस्थाले सम्मान गरेको भन्दै माइतीबाटै केही पाएको महसुस गरेको सुनाउनु भयो ।