काठमाडौं, २४ असार । मधेसी मोर्चासहितका दलहरू आवद्ध संघीय गठबन्धनले रिले अनशनलाई समापनका दुई दिन भव्य बनाउने निर्णय गरेको छ ।
गठबन्धनको केन्द्रीय सचिवालयको शुक्रबार काठमडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरमको मुख्यालयमा शुक्रबार बसेको बैठकले असार ३० र ३१ गते रिले अनशनको समापन कार्यक्रमलाई भव्य रुपमा पाउने निर्णय गरेको हो ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले असार ३० र ३१ गते व्यापक जनपरिचालनसहित रिले अनशनलाई भव्य बनाइ समापन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
सचिवालयले थप संघर्षका कार्यक्रमका विषयमा पनि छलफल गरेको छ । साउन र भदौ महिनाभरि विभिन्न प्रचारात्मक र प्रशिक्षणात्मक कार्यक्रम गर्ने तयारी गरिएको रामसपाका प्रवक्ता झाले जानकारी दिनुभयो । ‘असोज महिनादेखि निर्णयात्मक अन्दोलन गर्ने छौँ’, प्रवक्ता झाले भन्नुभयो, ‘त्यसका लागि साउन र भदौ महिनाभरि तयारी गर्ने छौँ ।’
भावी आन्दोलनका विषयमा निर्णय गर्न साउनको २७ गते गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्नेछ ।
सचिवालयले घाइते उपचार कोष पनि स्थापना गर्ने निर्णय गरेको छ । कोषमा स्वदेश तथा विदेशबाट रकम जम्मा गरिने झाले बताउनुभयो ।












प्रतिक्रिया