२०७३ साल असार २३ गते पूर्वराजा ज्ञानेन्द्रको ७० औं जन्मदिन हो । पूर्वराजा ज्ञानेन्द्र एक देशभक्त राजाको रुपमा हामीहरु मान्दछौं । तर नेपालको राजसंस्था नेपालको राष्ट्रियप्रति कटिवद्ध रहेकाले इन्दीरा गाँधीको पालादेखि नैं नकारात्मक थियो । राजा वीरेन्द्रको शासनकालमा भारतीय प्रधानमंत्री राजीव गाँधीको समयमा नेपालमा नाकाबन्दी गरेर अनेकौं फरेफ थापेर धेरै सताउने काम गरेको थियो । राजा वीरेन्द्रलाई भारतले जनमत संग्रहपछि हत्या गर्ने योजना बनाएको थियो भनिन्छ । चीनबाट यो कुराको सुइको पाएर जानकारी गराई सकिएको थियो भनिन्छ । नेपाल मात्र होइन । भारतको अत्यधिक हस्तक्षेप रहन नसकेर श्रीलंकाका सिंहालीबाट राजीव गाँधीको हत्या भएको थियो । राजीव गाँधीको हत्यापछि भारतीय पत्रिका इण्डिया टुडेले नेपालको राजसंस्थाप्रति नआस्था फैलाउन रानी ऐश्वर्यबाट श्रीलंकाका उग्रवादीलाई रु ५ करोड दिएको थियो भनेर झूठा आरोप लगाएको झूठा समाचार प्रकाशित गरेको थियो । यसबाट थाहा हुन्छ– भारतीयहरु नेपालको राजसंस्थाको बिरुद्ध कति नाकारात्मक रहेछन् । यस्ता अनेकौं घटनाहरुले विकसित रुप लिइरहेता पनि उसले नेपाललाई चलाउन सकेको थिएन र अन्तराष्ट्रिय स्थिति पनि उसको अनुकुल थिएन । पछि युवराजाधिराज दीपेन्द्र र दिवानी बीचको प्रेमको अभिनयको कारणले भारतीय गुप्तचर संस्था ‘रअ’ को षडयन्त्रत्राट राजा वीरेन्द्रको बंश नास भएपछि भारतलाई नेपाल माथि दबाब दिन अनुकुल समय पायो ।
२०५८ साल जेष्ठ १९ गते अत्यन्त ह्रदयविधारक राजदरबार हत्याकाण्ड भयो । राजा वीरेन्द्रको बंशनास भएपछि नेपाल अधिराज्यको संविधान २०४७ अनुसार राजा ज्ञानेन्द्रलाई कांग्रेस, एमालेले राजसिंहासनमा आरोहण गराए । दरबार हत्याकाण्डपछि भारतीय कांग्रेस (आईको सरकारले राजा ज्ञानेन्द्रलाई आफ्नो बसमा राख्न अनेकौ उपायहरुको खोजी गर्यो । राजा ज्ञानेन्द्रबाट यस्ता भारतीय षडयन्त्र बुझेर भारतीय चालको समर्थन नगरेपछि भारत पुरा नेपालको राजसंस्था बिरद्ध नकारात्मक बनेको थियो । सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि भारतले नेपाललाई आफ्नो प्रभावमा लिन चहान्थ्यो । यस्ता कार्यहरु प्रधानमंत्री नेहरुका समयमा पनि प्रसस्त भए । भारतको खतरनाक चालदेखि सतर्क बनेर राजा महेन्द्रले २०१७ साल पौष १ गते २०१५ सालको संविधानको धारा ५५ प्रयोग गरेर सत्ता हातमा लिएर देश बचाउने काम नगरेको भए नेपाल सार्वभौम राष्ट्र रहेर यसरी शिर ठाडो पारेर हिड्न पाउने थिएनं । तर पनि आफ्रनो अनुकुल समय पारेर भारतले २०६२ सालपछि नेपाललाई तहसनहस गराउन सशक्त भएर देखा पर्यो । २०५८ सालपछिको अनेकौं आरोह प्रत्यारोहपछि प्रधानमंत्री गिरिजाको राजीनामा गरेपछि दोस्रोपटक शेरबहादुर देउवा प्रधानमंत्रीमा नियुक्त भए । शेरबहादु देृृृउवाले प्रतिनिधिसभामा कांग्रेस वहुमतमा रहँदारहँदै प्रतिनिधिसभा विगटन गरेर मध्यावधी निर्वाचनको लागि श्री ५ मा सिफारित चढाए । पछि निर्वाचन पनि गराउन नसकेपछि फेरि प्रधानमंत्री शेरबहादुर देउवाले निर्वाचन गर्न नसक्ने भनी २०५८ साल असोज १८ गते २०४७ सालको संविधानको धारा १२७ प्रयोग गरेर श्री ५ मा कार्यकारिणी अधिकार प्रयोग गर्न सिफारिस गरे । २०५८ साल असोज १८ गते मंत्रिपरिषदले चाहे बमोजिम केही समयको लागि कार्यकारिणी अधिकार श्री ५ बाट लिएर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमंत्री नियुक्त गरियो । तर केही महिनापछि राजाले सूर्यबहादुर थापालाई प्रधानमंत्री बनाएता पनि निकास निस्केन ।
त्यसपछि शेरबहादुर नैं फेरि राजाबाट प्रधानमंत्री नियुक्त भए । यी चलखेलले पनि समस्याको समाधान हुन सकेन । गिरिजा, माधव नेपालहरुले राजाबाट प्रधानमंत्री पाउने आशा राखेका थिए । तर २०५९ माघ १९ राजा ज्ञानेन्द्रबाट शेरबहादुरको मंत्रिपरिषदलाई हटाएर आफ्नै अध्यक्षतामा मंत्रिमंडल गठन हुन गयो । २०४७ सालको संविधानको धारा २७ मा नेपाल अधिराज्यको संविधानको संरक्षण श्री ५ बाट हुने भन्ने र धारा ३५ (१) मा नेपालको कार्यकारिणी अधिकार श्री ५ र मंत्रिपरिषदमा रहने छ भन्ने कुरा उल्लेख छ । यसहिसावले राजा ज्ञानेन्द्रलाई प्रधानमंत्रीले सिफारिस चढाएपछि राजाले संविधान अनुसार अधिकार प्रयोग गर्नु गल्ती मान्नुपर्ने कुरा हुँदैन । तर राजालाई सहयोग गर्नुको सट्टा सत्ता हस्तान्तर गर्नेहरुले नैं राजा निरंकुश भएको आरोप लगाए । राजा ज्ञानेन्द्रले केही समयको लागि शासनभार ग्रहण गरेपछि २०५८ पछि राजाबाट सत्ता नपाएर छटपट्टिएका कांग्रेसका नेता गिरिजा, एमालेमा नेता माधव नेपाललाई अनेकौं आश्वासन दिलाएर आफ्रनो प्रभावमा लियो । माओवादीका नेता प्रचण्ड र बाबुराम भट्टराईहरुलाई २०५९ सालदेखि नैं भारतमा नैं सुरक्षाकासाथ तालीक दिएर राखेको थियो । त्यसपछि २०६२ सालमा १२ बुँदे सहमतिमा संयुक्त हस्ताक्षर गराएर त्यसैको आधारमा जनआन्दोलनमा सरिक गराएको थियो । एमालेको कुशासनको बिरद्ध लडेका माओवादी नेताहरु पनि तिनै कांग्रेसी र एमालेसँग हात मिलाउन पुगे । राजनीतिमा यो भन्दा ठूलो लज्जास्पद घटिया कुरा के हुनसक्छ ? नेपालमा राजा रहेसम्म नेपाललाई आफ्नो कब्जामा राख्न सकिदैन भन्ने भारतले बुझेको थियो । राजासँग संझौता गरेर २०६३ वैशाख ११मा जनआन्दोलन रोकिएको अवस्थादेखि नैं राजा र नेपाली जनतालाई धोका दिएर नेपाललाई कब्जा गर्न भारत षडयन्त्ररत थियो । भारतीय गुप्तचर संस्थाले जे जे भन्छ त्यही गर्नमा नेपालका आन्दोलनकारी नेताहरु तम्तयार भएकाले जनआन्दोलन रोकिएको एक महिना नपुग्दै राजाबाटै ब्यूँताइएको प्रतिनिधिसभाले जेष्ठ ४ गते राजसस्थाको निरन्तरता गर्ने भन्दै राजाको जेठो छोरो नभएर छोरी जन्मिएमा राजाकी छोरी पनि राजसिंहासनमा आसीन हुनसक्ने भन्ने घोषणा गरियो । त्यसैबेला धर्मनिरपेक्ष राज्य धोषित गरियो । धर्मनिरपेक्ष घोषित भएपनि जनता टुक्रिन्छन् र राजालाई पाखा लगाउन सजिलो हुन्छ भन्ने षडयन्त्रको बिजारोषण भारतीय गुप्तचर संस्था ‘रअ’ को को नैं निर्देशनमा भएको थियो । त्योबेला प्रतिनिधिसभाबाट घोषित धर्मनिरपेक्षलाई चाहिं निरन्तरता दिलाइयो तर राजसंस्थालाई निरन्तरता दिलाउने बुँदा कुनबेला र कहिले खारिज गरियो यो अहिलेसम्म थाहा छैन ।
दरबार हत्याकाण्डको दोषारोपण राजा ज्ञानेन्द्र माथि लगाउने अनेकौं षडयन्त्र भएका थिए । स्मरणहोस– दरबार हत्याकाण्डको एक हप्ता ननाघ्दै भारतीय दुतावास स्थित ‘रअ’ प्रमुख पी हर्मीजको निर्देशनमा माओवादी नेता बाबुराम भट्टराईले दरबार हत्याकाण्ड राजा ज्ञानेन्द्रबाट घटाइएको आसयको लेख कान्तिपुर पत्रिकामा २०५८ जेष्ठ २४ गते प्रकाशित गराइयो । उक्त लेख कपोलकल्पित भएता पनि यसले नेपाली जनमानसमा भ्रम सिर्जना गरायो । ‘रअ’ प्रमुख हर्मीज र बाबुराम भट्टराई यी दुबै इसार्इृ भएकाले यिनीहरुबीचमा राम्रो संवन्ध थियो । जव कि त्यस्ता झूठा आरोप लगाएर राजा ज्ञानेन्द्र माथि आरोप लगाउनु ‘रअ’ को वदमासी थियो । त्यस्तै राजालाई वदनाम गर्न २०६४ भाद्र १६ मा काडमाण्डौंमा अकस्मात बमबिस्फोट भयो । झूठा आरोप लगाएर ‘रअ’ ले राजासंस्थालाई वदनाम गराउनु थियो । गृहमंत्री कृष्ण सिटौला र बाबुराम भट्टराईले त्यो वमकाण्ड राजदरबार र नेपाली सेनाले गराएको आरोप लगाएको थियो । जव कि उक्त काण्ड ‘रअ’ कै सहयोगबाट अहिलेका निर्वाचित सांसदबाट गराइएको पछि खुलशा भयो । यसरी षडयन्त्रको खेलबाट नेपालको राष्ट्रियता, राजतन्त्र, हिन्दु अधिराज्यको अधोगति गराउने कुकर्म गरिए ।
२०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रसँग ७ राजनीतिक दलबाट सहमति भएर जनआन्दोलन बिसर्जन भएको थियो । उक्त दलका नेताहरुले संझौतालाई धोका दिएको परिणाम आज देश संकटग्रस्त छ । २०६३ साल बैशाख ११ गते राजा ज्ञोनेन्द्रसँग पाँच बुँदे सहमति भएको थियो । १) ‘परिवर्तन २०४७ सालकै संविधानलाई टेकेर हुने, २) विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्ने, ३) वहुदलीय व्यवस्था कायम रहने, ४) संवैधानिक राजतन्त्र कायम रहने, ५) सबै सहमति एक अर्कामा कायम रहने’ भनेर उल्लेख गरिएका कुराको आधारमा श्री ५बाट जनआन्दोलन बिसर्जन भएर त्यसैको आधारमा जनआन्दोलनका नेता गिरिजाप्रसाद कोइरालालाई राजाबाट नारायणहिटी राजदरबारमा सपथग्रहण गराइएको थियो । तर माधव नेपालहरु भन्छन्– राजासँग कुनै सहमति भएकै थिएन । सहमति नभई राजाले त्यसै सत्ता हस्तान्तरण गरेका थिए भने गिरिजाप्रसाद कोइरालालाई दलको सिफारिसमा राजाबाट कसरी नारायणहिटी दरबारमा प्रधानमंत्रीको सपथग्रहण गरेका थिए ? यति पनि ज्ञान नभएका नेताहरु नेपालमा छन् । राजा ज्ञानेन्द्रबाट नेपालको अहितमा के त्यस्ता अपराध भएका थिए र राजसंस्थको बिरुद्ध किन नकारात्मक भएर नेपालको तहसनहस गराउन खोज्ने ? वास्तवमा नेपालको सार्वभौमसत्ताको विषयमा बोल्ने हो भने पृथ्वीनारायण शाहका खलकहरु राजा रहेसम्म नेपालको सार्वभौम अस्तित्वमा खेलबाड हुन सक्तैन ।
लोकतन्त्रको नाममा नेपालका कांग्रेस, एमाले, माओवादी नेताहरुले नेपाली जनतालाई दिएका अनेकौं धोकाहरुबाट यस्तै हुँदैछ नेपालमा । विदेशीहरुको ईशारामा यहाँका केही राष्ट्रद्रोही नेताहरुले प्रसस्त पैसा खाएर यो पूण्यभूमि माथि लात हानेका छन् । नेपाललाई धर्मनिरपेक्ष बनाएर क्रिस्चियनकरण गर्ने, गणतन्त्र र संघीयताबाट नेपाल टुक्रयाउने खेलहरु भइरहेका छन् । यिनीहरुलाई राष्ट्र डुबे पनि कुनै चिन्ता छैन । नेपाली जनता संगठीत हुन नसकून् भनेर यिनीहरुले देशमा महंगी, अभाव, असुरक्षा, हत्या, अपहरण, लुट्, बलत्कार आदिबाट अराजकत्तालाई संस्थागत गरेका छन् । नेपालमा अहिले कोही सुरक्षित छैनन् । तर यी नेताहरुले आफूहरुलाई सुरक्षित रहेको ठानेका छन् । विदेशीलाई विश्वास दिलाउन यिनीहरु सँधै राष्ट्रघाती एजेण्डाको रिहर्सल गरी गरी बोल्ने गर्छन् । यिनीहरुलाई थाहा छ– धर्मनिरपेक्ष भनेको आतंकवाद निम्त्याउने, गणतन्त्र भनेको विखण्डन र संघीयता भनेको सामन्तशाहीको जग बसाल्ने घातक अस्र हो । तर कांग्रेस, एमाले, माओवादीको सक्रियतामा २०७२ साल असोज ३ गते संविधानमा धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता घोषणा गरेर अझै त्यसैको वकालत गर्दैछन् । नेपाल डुबाउन कथित ठूला पार्टीका नेताहरु उदत्त भएकाले पार्टीभित्रका सबै कार्यकर्ताहरु र स्वतन्त्र नेपाली जनता आजित भइसकेका छन् । कांग्रेस, एमाले, माओवादीभित्र अधिकांक्ष राष्ट्रवादीहरु छन् । मदेसी पार्टीभित्र सारा देशभक्तहरुको जमात छ । तर मदेसी पार्टीहरुमा जति नेता छन् ती सबै भारतीय गुप्तचरका एजेन्ट भएको र उतैबाट रकम ल्याएर तराईबासीहरु बीचमा फुट ल्याएर सार्वभौम नेपाललाई डुबायन खोजेको सारा तराईवासीले बुझ्न लागेका छन् । तर अहिले भारतमा कांग्रेस (आई)को सत्ता समाप्त भएको छ । नेपालको अनुकुलको हिन्दुवादी भारतीय जनता पार्टी अध्यधीक मत लिएर सत्तामा आएकाले उसबाट हिजोको जस्तो भारतबाट खतरा छैन ।
नेपालमा धर्मनिरपेक्ष घोषण भएपछि जवरजस्त राजालाई लखेट्ने काम गरिएपछि राजाको पक्षमा जनता बोल्दैनन् भन्ने विदेशीहरुको दाउ थियो । नेपालमा राजा नभएपछि अमेरिका पनि नेपाललाई आधार इलाका बनाएर फ्रि तिब्बतको नाममा चीन हान्न सकिन्छ र नेपाललाई क्रिस्चियनकरण गराउन सजिलो देखेर आर्थिक सेतकासाथ बेलायत लगायत यूरोपियन युनियन्का राष्ट्रहरुले पनि धर्मनिरपेक्ष र गणतन्त्रको समर्थनगर्दै नेपालमा सरिक हुनआए । यसरी सारा विश्व शक्ति लागेपछि राजा ज्ञानेन्द्रले पनि उसबेला नारायणहिटी छोड्नु बाहेक अरु विकल्प थिएन । तर बितेको १० बर्षले नेपालमा राजाको अनुपस्थितिमा कति ठूलो अस्थिरता र चौतर्फी संकटले गाँज्दोरहेछ भन्ने अव त सबैलाई जानकारी भएको छ । केही बर्ष अगाडि राजा ज्ञानेन्द्रबाट पत्रकारहरु समक्ष केही विचार व्यक्त भएका थिए– ‘२०६३ बैशाख ११ गतेको घोषणाको पांच वर्ष भन्दा बढी समयसम्म पनि मेरो त्यो त्याग र सदासय फलीभुत भएको अनूभुती नेपाली जनतामा मैले पाईरहेको छैन । नेपाल र नेपालीको भविष्य र भाग्यको मार्ग रेखा नेपालीले कोरुन् भन्ने नै मेरो भित्री अभिलाषा हो । तर आफ्नो, आफ्ना पूर्खाको र स्वाभिमानी नेपालीको चाहनाले विगत पांच वर्षभित्र कूनै मुर्तरुप लिन सकेको छैन । यस्तो अवस्था आउला भनेर गद्दी छाडेको थिइंन । मैले जुन अवस्थामा गद्दी छाडेको थिएँ यस्तो होला जस्तो लागेको थिएन । मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ । । म जुनसुकै हैसियतमा पनि नेपालकोस्वतन्त्रता र अखण्डताको विमित्त समर्पित हुनेछु ।’ वास्तवमा राजा ज्ञानेन्दबाट व्यक्त भएका विचारलाई नकार्ने स्थिति अव छैन ।
राजा ज्ञानेन्द्र जहाँ–जहाँ पुग्छन् त्यही जनताको भिड लाग्छ । कुना कुनाबाट राजालाई भेट्न र आफ्रना गुनासा सुनाउन जनता राजाका समक्ष आइरहेकाछन् । जेष्ठ महिनाको पहिलो हप्ता राजा ज्ञानेन्द्र झापा लगायत इनरुवामा सवारी हुँदा असंख्यौं नेपाली जनताको उपस्थिति छ । भ्रमणको बेला राजा ज्ञानेन्द्रबाट २०७३ जेष्ठ १५ गते अन्नपूर्ण पोष्टमा ‘संविधान बनेर राष्ट्र हार्नु हुँदैन’ भन्दै लामो विचार व्यक्त भएको थियो । राजा ज्ञानेन्द्र एक राजा मात्र नभएर एक देशभक्त व्यक्तित्व पनि हुन् । देश डुब्न लागेको हुँदा जनताले राजाको संरक्षण खोजेका हुन् । अव राजा सशक्त बन्न सक्ने अवस्था छ । वास्तवमा लथालिङ्ग भएको यो राष्ट्रलाई ठीक बाटोमा ल्याउन अरु कोही होइन, राजा ज्ञानेन्द्रबाट मात्र संभव छ । किनकि राजा ज्ञानेन्द्रलाई के र कसरी यो देशको यो हविगत भयो र कसरी यसलाई सम्हाल्न सकिन्छ भन्ने अनुभव छ । अर्को कुरा राजा ज्ञानेन्द्रमा कसैप्रति कुनै पुर्वाग्रह पनि छैन । सबैपक्षलाई मिलाएर लाने क्षमता छ । यस अवस्थामा सबै पार्टीहरुबाट राजा ज्ञानेन्द्रको राष्ट्रवादी वचनवद्धतालाई शिरोपर गर्न सक्नुपर्दछ । राजा ज्ञानेन्द्रको मध्यस्ततामा सबैपार्टी र पार्टी बाहिरका देशभक्तहरुले मुलुकको निकाश खोज्नुपर्दछ । नेपालको वास्तविकता यस्तो छ कि राजाको अनुपस्थितिमा नेपाल भन्ने देश रहदैन । राजा र जनताको संयुक्त प्रयासमा बनेको देश हो यो । दुई ठूलो देशको च्यापोमा अवस्थित नेपाल गणतान्त्रिक मूलुक भएमा चीन र भारतबीचमा संतुलन कहिले कायम हुनसक्तैन । त्यसैले अवको विकल्प हो राजा ज्ञानेन्द्रसँगको सहमति र मध्यस्ततामा सारा व्यवस्था मिलाएर नेपालको राष्ट्रियता, राजसंस्था तथा हिन्दुअधिराज्यलाई निरन्तरता दिएर संसदीय प्रजातन्त्रलाई सुदृढीकरणगर्दै देश निर्माणमा सरिक हुन बाहेक अरु विकल्प छैनन् । राजा ज्ञानेन्द्रको ७० औं जन्मउत्सवको उपलक्षमा मंत्रिपरिषद, सम्पूर्ण पार्टी तथा अदालन, नेपाली सेना, प्रशासकीय व्यवस्था लगायत राज्यका स्थायी अङ्गहरु सशक्त बनेर यो देश बचाउने काम गरौं ।

















प्रतिक्रिया