पेरिस, १९ असार । विश्व च्याम्पियन जर्मनी इटलीलाई पेनाल्टी सुटआउटमा हराउँदै युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
फ्रान्सको बोर्डोमा आइतबार बिहान भएको खेलको निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा जर्मनी ५–६ गोल अन्तरले विजयी भयो ।
यसअघि टाइब्रेकरमा जर्मनीका थोमस मुलर, ओजिल र स्वाइन्सगाइटर चुके । इटलीका पनि जाजा, पेले र बोनुचीले गोल गर्न सकेनन् र २–२ भयो ।
सडन डेथ लगातार तीन पेनाल्टीमा दुबै टोलीले गोल गरे । इटलीका गिआचेरिनी, पारोला र डि सिलिओले गोल गरे भने जर्मनीका हृयामल्स, किमिच र बोटेङले गोल गरेका थिए ।
नवौं प्रहारमा इटलीका डर्मिअन चुके । उनको प्रहार जर्मन गोलकिपर नुयुरले रोके । लगतै जोनस हेक्टरले गोल गर्दै विश्व विजेता जर्मनीलाई युरोपियन च्याम्पियनसिपको अन्तिम चारमा पुर्याए ।
खेलको ९० मिनेटभित्र इटालीलाई केही दबाबमा राखेको जर्मनीका लागि ६५ औं मिनेटमा ओजिलको गोलबाट अग्रता लिएको थियो ।
७८ औं मिनेटमा इटलीले पेनाल्टीमार्फत गोल फर्काएर खेल बराबरीमा ल्यायो ।
जर्मन डिफेण्डर जेरोमी बोटेङले डिएरियामा हृयाण्ड गर्दा उसले पेनाल्टी पाएको थियो, जसमा बोनुचीले गाले गरे ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो । थपिएको ३० मिनेटको खेलमा पनि दुबै टोलीबाट गोल हुन सकेन । निर्णय टाइब्रेकरबाट लिइयो ।
जर्मनीले आयोजक फ्रान्स र आइसल्याण्डको विजेतासँग सेमिफाइनल खेल्ने छ । – एजेन्सी















प्रतिक्रिया