
त्यसबेला कानमा के भाथ्यो कुन्नि, अरुले यौटा बोल्दा रहेछन् म अर्कै सुन्दो रहेछु । सुल्टो भन्दा उल्टो सुन्दो रहेछ कानले । कसैले बाढी आयो भन्दा मैले साडी आयो भन्ने सुन्दो रहेछु । हाँडी भन्दा राँडी सुन्दो रहेछु । एक दिन साथीले हिसाब गरौं भनेको रहेछ मैले पिसाब गरौं भनेको सुने धन्नै कक्षा कोठामा सुईक्याईदिइन । रातीको बेला थियो सुतौं भन्दै थियो यौटा साथीले मैले उठौं भनेको पो सुनेछु । गाउँमा एक जना सँग झगडा परेर घर के आको थिएँ छोराले सोध्यो भात खानु भो, तर मैले अर्कै सुनेर हर्के खड्काले गालामा पड्काएको झापडको डाम छाम्दै र काम्दै छोरालाई भने लात त खाईन बाबु मुड्कि बटारेर उनीहरुले हाने । बुढीले भनि तपाईको काम बिग्रिएछ मैले अन्त्यमा सुने तपाईको काम बिग्रिएछ ।
घराँ बाउ छोरा मात्र थियौं त्यस दिन । छोरालाई पखाला लागेछ । तारन्तार दिसाको गोदाम घरमा उ कुदिरहेको थियो । उस्ले मलाई सोधेछ — बा, पखालाको औषधी खाम् ? तर मैले सुनेछु छालाको औषधी लाम् ? मैले उस्लाई भने — के भन्छ यो पखाला लागेको बेलामा कहाँ छालाको औषधी लाम् भन्छ यो , खुरुक्क जिवनजल पानी बनाएर खा । उस्ले के के भन्यो कुन्नि, मेरो कानले पटक्कै शुद्द सुन्ने भए पो । उस्ले रिसाउँदै कापीमा लेखेर देखायो — बा, मैले भनेको तपाईले सुन्दै सुन्नु भएन, चिच्याएर कराउँदा मलाई चार पाँच पटक शौचालय जानै नपर्ने गरि लगाएको पाइन्ट समेत बिग्रियो । कान जचाउन जान पर्यो ।
कानको समस्याले मलाई निकै सताउन थाल्यो । राजधानी सहर कान जचाउन जान थाले । गाडीमा कन्डक्टरले झर्नुस भन्दो रहेछ म मर्नुस भन्ने सुनेर तँ मलाई मर्ने आदेश दिने को होस् भनेर उ सँग झगडा गर्दो रहेछु । जब काठमाडौं पुगे नाम चलेको डाक्टरसँग त जचाउनै पर्योे भन्ने सोचे । लालु प्रसाद यादव नामका नाम चलेका डाक्टरले मेरो कान जचाउँने भए । उन्ले मेरो कानको खरावी जाँच्न दिसा, पिसाव, रगत, खकार, सिँगान सबैको नमुना लिए । अझ भन्दै थिए अझ अर्को पटकसम्म कान नखुलेमा मासु काटेर बिदेश पठाउनु पर्छ रे । नाम चलेका डाक्टरले चेक जाँच गर्दा राम्रै गर्लान भनेर डाक्टरको इसारामा चलिदिएँ । डाक्टरले चेक जाँच गरेर एक महिना पछि राजधानी आउन भने । त्यस पछि म घर फर्किए ।
जब घर फर्किएर औषधी राख्न थाले । कानको पाटपूर्जाको उर्जा हराउन थाल्यो । झन अबस्था नाजुक बन्दै गयो । कोही मान्छेले बोलेको सहजै नसुन्ने भएँ । माईक लगाएर बोलेको बाहेक केही नसुन्ने अबस्थामा पुगे म त । त्यसैले आजकल म यौटा राजनीतिक कार्यकर्ता मात्र हैन नेता नै भएको छु किनकी हामी जस्ता नेताले अर्काले बोलेको कुरा सुन्न पर्दैन बरु ठूला ठूला कुरा गरे पुग्छ । मेरो दैनिकी नै पत्र पत्रिका पढ्नु बन्यो । एक दिन पत्रिका पढ्दै थिएँ, यौटा समाचारले निकै कानमा समस्या पुर्यायो । त्यहाँ लेखिएको थियो — केही बर्ष अघिका कन्डक्टर आजकल कान डाक्टर । समाचारको गुदि कुरो हेर्दै जाँदा त थाहा लाग्यो उनै लालु प्रसाद यादव बिहारी सर्टिफिकेट लिएर आएर कान डाक्टर पो बनेका रहेछन् , उन्को डाक्टर बन्नु भन्दा अघिको पेसा सिएमए पढेर जागिर नपाए पछि गाडीको कन्डक्टर बनेका रहेछन् । यो समाचार पढे पछि निकै बेर मैले कान सुम्सुम्याई रहे । जदौ ।
– बेसीशहर नगरपालिका ७, लमजुङ















प्रतिक्रिया