२९ आश्विन २०८३, बिहिबार

कस्तो हुन्छ नयाँ शक्तिमा प्रतिस्पर्धा ?

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nirmal-bhattraiनयाँ शक्ति नेपालको अन्तरीम विधान लागू भएको छ । विधानले एउटा सच्चा लोकतान्त्रिक पार्टीलाई चाहिने सबै विधि र प्रक्रियाहरुलाई संस्थागत गरेको छ । पार्टीका संयोजक डाक्टर बाबुराम भटट्राईदेखि कुनै जिम्मेवारीमा नरहेको एक पार्टी सदश्यको वैधानिक रुपले समान अधिकार छ । विधानका केही मुलभूत विशेषतालाई यसरी सूत्रबद्ध गर्न सकिन्छ ।

१) सदस्यहरुमा सार्वभौमिक अधिकार

लोकतान्त्रिक व्यवस्था नै यस्तो व्यवस्था हो जसले अधिकारको हिसाबले बराबरी देख्दछ, बराबरी व्यवहार गर्दछ । तर शताब्दीयौंसम्म सामन्ती संकृतिभित्र जकडिएको अवस्थाबाट दशकौंको संघर्षपछि भर्खरै मुक्त भएका हामीहरुमा पूर्णरुपेण लोकतन्त्रवादी संकृति संस्थागत भईसकेको छैन । हुन पनि राजनीतिक र आर्थिक रुपान्तरण जति चाँडो हुन्छ, सांस्कृतिक रुपान्तरण त्यही गतिमा हुदैन । यही कारण हो, नेपाली लोकतन्त्रले अझै सबै नेपालीलाई बराबरीको आँखाले हेर्न सकेको छैन । यसले अझै कतिपय मानिसहरुलाई विगतका राजा महाराजाको जस्तो ब्यवहार गर्दैछ भने नेपाली जनतालाई “अवान्छित भीड”को रुपमा हेर्दै आएको छ । खुसीको कुरा हो, नयाँ शक्ति नेपालको विधानले आफ्ना सबै पार्टी सदस्यलाई अधिकार र कर्तब्यको आधारमा बराबरी परिभाषित गरेको छ । पार्टी सदस्यलाई चुन्ने र चुनिने अधिकारको ग्यारेन्टी गरिएको छ ।

२) प्रत्यक्ष लोकतन्त्रमा आधारित पार्टी संगठन

नयाँ शक्तिको विधानले सबै तहको पार्टी संरचना सो तहमा रहेका सबै पार्टी सदस्यहरुको प्रत्यक्ष मतदानबाट निर्माण गरिने ब्यवस्था छ । केन्द्रीय अध्यक्ष, अन्य पधाधिकारीहरु र सदस्यहरु देशभरका सम्पूर्ण पार्टी सदस्यको बहुमतबाट निर्वाचित हुने ब्यवस्था गरिएको छ । नेपाली कांग्रेस र एमालेले आफ्नो नेतृत्व चयनको लागि गर्दै आएको अभ्यासभन्दा यो सर्बथा नयाँ अभ्यास गरिदैछ । एमाओवादी त टिके प्रथामा चलिरहेछ । एमाओवादी आन्तरिक चुनावी प्रतिस्पर्धाबाट अझै चारकोश टाढा छ । त्यतिमात्र होईन, आफूले चुनेर पठाएका प्रतिनिधिले सन्तोषजनक काम नगरेमा विचैमा फिर्ता बोलाउन सक्ने प्रावधान समेत राखिएको छ । यसले चुनिएका पार्टी नेताहरुले निरन्तर आफ्ना पार्टी सदस्य र जनताप्रति उत्तरदायी भएर काम गर्ने परिपाटी स्थापित हुने निस्चित छ ।

३) लोकपाल र अनुशासन आयोग

नेपालमा सदाचारी राजनीतिको खडेरी पर्दै गएको छ । लोकतान्त्रिक अधिकारको मात्र हाइन, लोकतान्त्रिक कर्तब्यको त्योभन्दा ठूलो महत्व छ । पार्टीभित्र एकले अर्कोलाई सम्मान गर्ने, प्रतिस्पर्धीलाई शत्रु नदेख्ने, आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन नगर्ने, आफूले पारित गरेको नीति र विधानप्रति बफादार रहने, नेताले देशको ढुकुटी भर्न आफ्नो बलिदान गर्नेजस्ता विषयलाई संस्थागत र नियमन गर्न यी दुई आयोगको ब्यवस्था गरिएको छ । पार्टीभित्रैबाट बन्ने अनुशासन आयोग र पार्टी बाहिरका ब्यक्तिहरु सम्मिलित लोकपाल आयोगले निःसन्देह अनुशासित पार्टी जीवन र सदाचारी सार्वजनिक जीवन कायम हुनेछ ।

४) बराबर बीच श्रेष्ठताको प्रतिस्प्रर्धा

प्रतिस्पर्धा विनाको राजनीति हुन्न । अन्तर पार्टी प्रतिस्पर्धा र आन्तरिक आन्तरिक पार्टी प्रतिस्पर्धाविच नै राजनीति घुमिरहेको हुन्छ । नयाँ शक्ति नेपाल वैकल्पिक लोकतान्त्रिक पार्टी भएकाले यसको त पाइला पाइलामा प्रतिस्पर्धा हुने नै भयो । केही महिनाको पार्टी निर्वाचन आयोगको गृहकार्य पछि यस पार्टीका तहगत निर्वाचन दिनहुँ सयौंको संख्यामा चल्न थाल्नेछन् । पार्टीका सबै सदस्यको वैधानिक हैसियत बराबर भएकोले नेतृत्वको निम्ति योग्यमध्येबाट योग्यतम छान्ने प्रतिस्पर्धा हो आन्तरिक पार्टी निर्वाचन । नयाँ शक्तिमा कोही विशेष छैनन् । कोही स्वघोषित ‘हाइट’वाला भए ऊ पनि निर्वाचनको कठोर प्रतिस्पर्धाबाट गुज्रनुको विकल्प छैन । लोकतन्त्रमा कोही निर्विकल्प हुदैन । नयाँ शक्तिमा पनि कोही निर्विकल्प छैन ।