१ कार्तिक २०८३, आइतबार

‘किस्मत २’ र ‘जय पर्शुराम’ पोष्ट प्रोडक्सनमा, ‘प्रेम रक्षक’ आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shilpa-in1काठमाडौं । रोज राणाको ‘जय पर्शुराम’ र छविराज ओझाको ‘किस्मत २’ले धमाधम आफ्नो प्राविधिक कामलाई जारी राखेका छन् । प्राविधिक काम अन्तिम चरणमा रहेका यी फिल्म छिट्टै रिलिज हुने तयारीमा छन् ।

फिल्म निर्माणमा आ–आफ्नो क्षेत्रमा दखल राख्ने राणा र ओझालाई राम्रा फिल्म मेकरका रुपमा लिइन्छ । केही समय फिल्म निर्माण नगरेका राणाले ‘जय पर्शुराम’ निर्माण गरेका हुन् । उनको यो फिल्ममा विराज भट्टको मुख्य भूमिका छ । ‘जय पर्शुराम’लाई राणा आफैले निर्देशन गरेका छन् ।

अभिनेतासमेत रहेका राणाको निर्देशनमा बनेको फिल्म ‘जय पर्शुराम’ कस्तो बनेको छ त्यो भने रिलिज भएपछि थाहा हुनेछ । अहिलेसम्म राणाले निर्माण गरेका अधिकांश फिल्मले लगानी उठाएका रेकर्ड छन् । ‘जय पर्शुराम’लाई साउनको दोस्रो साता रिलिज गर्ने जनाइएको छ । प्राविधिक काम नसकिएकाले रिलिजको डेट सर्न सक्ने निर्माण पक्षले जनाएको छ ।

उता, ओझाले निर्माण गरेको तथा ऋषि लामिछानेले निर्देशन गरेको ‘किस्मत २’ले आफ्नो प्राविधिक काम सक्काउने अन्तिम चरणमा छ । ‘किस्मत २’ लाई असोजको तेस्रो साता रिलिज गर्ने तयारी गरिएको निर्देशक लामिछानेले बताएका छन् । ‘फिल्मको पोष्ट प्रोडक्सनको काम भइरहेको छ’, निर्देशक लामिछानेले भने, ‘असोजको तेस्रो साता रिलिज गर्ने गरेर तयारी भइरहेको छ ।’

‘किस्मत २’मा शिल्पा पोखरेलको मुख्य भूमिका छ । ओझाको प्रोडक्सनबाट फिल्ममा फड्को मार्दै आएकी पोखरेलले राम्रो काम गरेको लामिछानेले बताए ।

Preem Rakshak GANESH-BELBASE-SANTOSHत्यसैगरी, फिल्म मेकर गणेश बेलवासेले पनि दोस्रो फिल्म निर्माण गर्दैछन् । ‘प्रेम रक्षक’ फिल्म बनाउन लागेका बेलवासेले भदौ १५ देखि छायाँकनमा जाने बताए । यसअघि ‘उहिले बाजेको पालामा’ निर्माण गरेका बेलवासेले ‘प्रेम रक्षक’लाई आफैले निर्देशन गर्ने बताएका छन् । ‘प्रेम रक्षक’का गीतहरू सबै रेकर्ड गराइसकेका छन् ।

‘प्रेम रक्षक’का गीतहरूमा सन्तोष श्रेष्ठ र विपिन आचार्यले संगीत दिएका छन् । एउटा गीतमा सिक्किम घर भएकी गायिका एनी श्रेष्ठले स्वर दिएकी छिन् । फिल्मका कलाकारहरू धमाधम अनुबन्धित गरिरहेको बेलवासेले बताए । यो फिल्ममा रविना केसीले नव अभिनेत्रीका रुपमा प्रवेश पाउँदैछिन् ।