काठमाडौं, १६ असार । ‘डन’ कुमार श्रेष्ठ ‘घैंटे’ मारिएपछि उनका उत्तराधिकारीका रुपमा चर्चित छोटे ‘डन’ समिरमानसिंह बस्नेत प्रहरी इन्काउन्टरमा मारिने डरले दिल्ली पलाएन भए पनि उनले उताबाटै आफ्नो धन्दा जारी राखेका छन् ।
केही दिन अघि महानगरिय अपराध महाशाखाले टोले गुण्डा भन्दै कारबाही गरेका जसवन्त राई समिरका सहयोगी रहेको खुलिसकेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
यसअघि बस्नेतले महाशाखाको टोलीलाई आक्रमण गर्न खटाएका साजन गुरुङ र उनका सहयोगी कारजोन गुरुङलाई महाशाखाले पक्राउ गरेको थियो । त्यतिबेला प्रहरीमाथि आक्रमण गर्ने योजना उनीहरुले बनाएको टेलिफोन रेकर्ड तथा एसएमएसहरु प्रहरीले फेला पारेको थियो ।
घैंटेका मुख्य सहयोगी तथा प्रहरी इन्काउन्टरमै मारिएका दिनेश अधिकारी ‘चरी’ का दुस्मन बस्नेतले राधे भण्डारीलाई यतिखेर टेण्डरमा हुने असुलीदेखि हप्ता असुली र विभिन्न आपराधिक कृयाकलापमा संलग्न गराएको महाशाखा स्रोत बताउँछ ।
डेढ महिना अघि डिल्लीबजार कारागारबाट छुटेका भण्डारीले धादिङका अधिकांश निर्माणका टेण्डरबाट चरीकै सहयोगी दाप्पा भन्ने सूर्यबहादुर गुरुङलाई हातमा लिएर करोडौं उठाएको रेकर्ड पनि महाशाखाले फेला पारेको छ ।
राधेले धादिङमा एकलौटी गर्न लागेपछि गुरुङ राधे विरुद्ध लाग्दा उनीहरुबीच झगडा नगर्ने सहमति भएको पनि बताइएको छ । चरिमाथि गोली हानेको मुद्दामा सजाय भोगी कारागारबाट छुटेका राधेले सहयोगी शिव खड्कालाई पनि परिचालन गरी प्रहरी भित्र गुप्तचरी गरेर बस्नेतलाई सूचना पुगाउने गरेको पनि महाशाखाले जानकारी पाएको एक प्रहरी अधिकारीले बताए । केही समय अघि कांग्रेस नेता खुमबहादुर खड्का दिल्लीमा रहँदा बस्नेतले खड्कामार्फत मुद्दा मिलाउन प्रहरी अधिकारीहरुलाई दबाब दिएका थिए ।
तर, प्रहरीले बस्नेतका कृयाकलापलाई गोप्य रुपमा निगरानी गर्दा प्रहरी माथि नै आक्रमण गर्न बेला बेलामा भाडाका सुटरहरु परिचालन गरेको अनुसन्धानका क्रममा खुलेपछि प्रहरी बस्नेत विरुद्ध झन आक्रमक बनेको बताइन्छ । बस्नेतले नेपाल आउन नसक्ने अवस्था देखेपछि बाफलमा रहेको घर एक करोड पचास लाखमा बेचिसकेको र अमेरिका पलायन हुन खोजेको प्रहरी स्रोत बताउँछ ।















प्रतिक्रिया