
काठमाडौं, १४ असार । संसदको गतिरोध खुलाउने विषयमा छलफल गर्न बसेको कार्यदलको बैठक विनाकुनै निष्कर्ष सक्किएको छ ।
सिंहदरबारमा आज बिहान बसेको कार्यदलको बैठकमा कांग्रेस र सत्तारुढ दलहरू एमाले, माओवादी केन्द्र र राप्रपा नेपालले आ–आफ्नो अडान यथावत राखेपछि सहमति हुन नसकेको हो ।
एमालेका नेताहरूले पार्टीको आन्तरिक कार्यक्रम रहेको भन्दै दिउँसो पुनः बैठक बस्न प्रस्ताव गरेपछि बिहानको छलफलमा कुनै सहमति हुन नसकेको कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा सत्तारुढ दलहरूले पुरानो कार्यविधिलाई देखाउँदै एकमुष्ट दुई लाख दिन नसकिने भनाइ दोहराएका थिए ।
कांग्रेसले भने कार्यविधिलाई संशोधन गरेरै भए पनि भूकम्पपीडितलाई दुई लाख रुपियाँ घर बनाउनका लागि दिनुपर्ने अडान दोहोराएको मुख्य सचेतक श्रेष्ठले बताउनुभयो ।
संसदको गतिरोध हटाउनका लागि सोमबार प्रमुख दलका शीर्ष नेताहरूले दोस्रो नेताहरू रहेको कार्यदल बनाएका थिए ।
संसदको बैठक दिउँसो दुई बजे बस्दैछ । सदन बस्नुअघि सहमतिको प्रयास खोजिने कांग्रेस मुख्य सचेतक श्रेष्ठले बताउनुभयो ।












प्रतिक्रिया