दाङ, १४ असार । सरकारी लगानीमा सञ्चालित विद्यालय जहाँ माओवादी शीर्ष नेता बेलाबेला ुपाहुनाु झुल्किन्छन् ।
दुई महिनायता नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, आपूर्तिमन्त्री गणेशमान पुन र माओवादी नेता नेत्रविक्रम चन्दले यो विद्यालय टेके । पाहुनालाई स्वागत गर्ने यहाँका विद्यार्थीको शैली भने फरक छ । नागरिक दैनिकले समाचार छापेको छ ।
‘नमस्कार’, गुड मर्निङ वा गुडअफ्टरनुन केही चल्दैन । ४ सयभन्दा बढी विद्यार्थी मुठी कसेर हात उठाउँदै भन्छन्, कामरेड लालसलाम’
सहिदका छोराछोरी पढाउन खोलिएको दाङ, मानपुरस्थित सहिदस्मृति आवासीय उच्च माविमा मासिक १२ लाख रुपैयाँका दरले राज्यकोषको खर्च हुन्छ । तलब र आवासीय खर्चका लागि मात्र वार्षिक चानचुन डेढ करोड रुपैयाँ सरकारी खर्च पुग्छ । राज्यको लगानी भए पनि विद्यालय भने विशुद्ध माओवादीको जस्तै छ ।
विद्यालयमा ४ सय १५ विद्यार्थी अध्ययनरत छन्। पाहुनालाई स्वागत गर्ने लालसलाम शैलीले यसलाई जिल्लामा माओवादी स्कुल भनेर चिनिन्छ । हो, यो स्कुललाई माओवादी स्कुल भनिन्छ, विद्यालयका प्राचार्य नारायण पौडेलले भने । ‘विद्यार्थीमा क्रान्तिकारी विचारधारा मर्न सकेको छैन’, प्राचार्य पौडेल भन्छन्, ‘आमाबाबुको रगतको मूल्य जसरी पनि पाउनुपर्छ भन्ने मानसिकता विद्यार्थीमा छ ।’
विद्यालयको वातावरणबाटै विद्यार्थीमा प्रतिशोध भावना विकास हुन्छ । शिक्षक स्वयं क्रान्तिकारी आस्था मर्न नदिनू भन्ने ज्ञान विद्यार्थीलाई सिकाइरहेका छन् । द्वन्द्वकालीन घटनाको उदाहरण दिँदै अन्याय विरुद्ध लाग्न प्रेरित गर्ने गरेको प्राचार्य आचार्य स्विकार्छन् ।
अध्यक्ष दाहाल वैशाखमा विद्यालय पुगेका बेला विद्यार्थीलाई भेला पारेर भनेका थिए, ‘हाम्रो क्रान्ति ५० प्रतिशत पूरा हुन बाँकी छ।’ सहिद विद्यालयमा सहिद परिवारका बालबालिकाले पढ्न पाउनु ५० प्रतिशत क्रान्ति पूरा भएको उनको भनाइ थियो । द्वन्द्वकालीन घटनाको अवशेष मेटाउनुपर्ने भनिए पनि विद्यार्थीलाई बारम्बार द्वन्द्वकालीन घटना स्मरण गराइने भएकाले प्रतिशोध भावना बढ्दै गएको छ ।
द्वन्द्वका क्रममा राज्य वा विद्रोही पक्षबाट मारिएका परिवारका सन्तानको शिक्षादीक्षाका लागि भन्दै देशका पाँचै विकास क्षेत्रलाई लक्षित गरेर २०६६ मा यस्ता विद्यालय खोलिए । तत्कालीन सरकारले यस्ता विद्यालय सञ्चालनका लागि सहिद स्मृति प्रतिष्ठान नामक एनजिओलाई करोडौँ रकम दिन थाल्यो। सोही एनजिओले पाँचै विद्यालयलाई रकम वितरण गरिरहेको छ । राज्य र विद्रोही पक्षबाट मारिएका परिवारका सन्तानलाई यस्ता विद्यालयमा पठनपाठन व्यवस्था हुनुपर्नेमा अधिकांश विद्यालयमा माओवादी परिवारका विद्यार्थी मात्र अध्ययन गर्छन् । दाङका विद्यालयमा अध्ययनरत ४ सय १५ जना विद्यार्थी माओवादी परिवारका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा माओवादीका सन्तानलाई मात्र विद्यायलमा भर्ना गर्ने आफूहरूको नियत नरहेको दाबी गर्छन् । विद्यालयमा १८ शिक्षक र ५ कर्मचारी गरी २३ जनाको जनशक्ति छ ।
आवासीय यो विद्यालयका शिक्षक तथा कर्मचारी पनि स्कुलमै बस्छन् । शिक्षक कर्मचारीको तलब–सुविधा, आवास तथा प्रशासनिक गरी विद्यालयका लागि मासिक १२ लाख निकासा हुने गरेको र त्यो रकम अपुग भएको प्राचार्य पौडेलको भनाइ छ ।
विद्यालयमा विद्यार्थीलाई पार्टीगत नारा सिकाउनु जायज नभएको जिल्ला शिक्षा कार्यालयको धारणा छ। सहिद विद्यालयको नियम–कानुन उसको एकलौटी रहने भएकाले केही गर्न नसकिएको दाङका निमित्त जिल्ला शिक्षा अधिकारी दण्डपाणि घिमिरे बताउँछन् । ‘त्यो विद्यालयले जिल्ला शिक्षा कार्यालयको निर्देशनभित्र रहँदैन’, घिमिरेले भने ‘विद्यालय सिधै मन्त्रालयबाटै परिचालित भएकाले त्यहाँको गल्ती, कमजोरीबारे हामीले बोल्नै मिल्दैन ।’















प्रतिक्रिया