काठमाडौं, १२ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. गोबिन्द केसीलाई ‘मानसिक रोगी’ भनेको छ ।
डा केसीले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत नेपाल सरकारसँग लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग गरेको चार घण्टामै विज्ञप्तिमार्फत कडा जवाफ फर्काउँदै अख्तियारले उनलाई ‘मानसिक रोगी’ भन्दै तत्काल उपचार गर्न सरकारलाई आग्रह गरेको हो ।
अख्तियारले विज्ञप्तिमा भनेको छ, ‘बारम्बार आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट बिमुख डा. केसीको मानसिक उपचारको शीघ्र उचित व्यवस्थाका लागि समेत आयोग सरकारसँग आग्रह गर्दछ ।’
यसैबीच आफ्ना प्रमुख आयुक्तमाथि महाअभियोग लगाउन गरेको मागप्रति अख्तियारले कडा भत्र्सना पनि गरेको छ । ‘भ्रष्टाचार, अनाचार एवं सबैखाले बिसंगति बिरुद्धको अभियानमा क्रियाशील आयोगका प्रमुख आयुक्त र आयुक्तहरुप्रति लक्षित उनका माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक भएको आयोगको ठम्याइ रहेको छ’ प्रवक्ता कृष्णहरि पुष्करद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
केसीका मागमा उल्लेख भएजस्तो कुनैपनि काम नगरेको र उक्त अभियोगको तथ्यगत पुष्टि गर्न अख्तियारले केसीलाई चुनौति पनि दिइएको छ ।
केही समययता चिकित्सा एवं स्वास्थ्य क्षेत्रको सुद्धताका लागि आयोगले गरेको पहलबाट चिढिएका मेडिकल माफियाहरुसँगको डा. केसीको सानिध्यता, संगठित अपराधी र भ्रष्टहरुसँग साँठगाँठ रहेको आरोप आयोगको छ ।















प्रतिक्रिया