काठमाडौं, १० असार । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भूकम्प राष्ट्रिय प्राधिकरण पुनर्निर्माण प्राधिकरणले काम गर्न नसकेको भन्दै आक्रामक शैली अपनाएको छ ।
लामो समय हुँदा पनि भूकम्पबाट पीडितहरूले उपयुक्त राहत पाउन नसक्नुका साथै घरबासको व्यवस्था हुन सकेको छैन । वर्षायाम सुरू भइसकेको अवस्थामा सरकारले प्राधिकरणलाई ताकेता गर्न नसकेको आरोप कांग्रेसको छ ।
सोही विषयलाई लिएर कांग्रेसले बिहीबारदेखि सदन अवरोध सुरू गरेको छ । कांग्रेसले भूकम्पपीडितहरूलाई तत्काल दुई लाख रुपियाँ दिनुपर्ने सर्त अगाडि सारेको छ ।
कांग्रेसले पुनर्निर्माणका विषयमा भइरहेको प्रगति विवरणको जानकारी नआउँदासम्म सदन चल्न नदिने बताएपछि प्रधानमन्त्री केपी ओलीले सो विषयमा अन्तरिक परामर्श गर्नुभएको स्रोतले जनाएको छ । ओलीले बिहीबार र आज बिहान सरोकारवाला निकायसँग सो विषयमा परामर्श गर्नुभएको हो ।
कांग्रेसको चेतावनीपछि प्रधानमन्त्री ओलीले आजै बिहान पुनर्निर्माण निर्देशक समितिको बैठक पनि बोलाउनु भएको छ । संसदको आजको बैठकमा सरकारले कांग्रेसलाई कडा जवाफ दिने तयारीमा रहेको स्रोतको भनाइ छ ।












प्रतिक्रिया