– झलक पाली
डोटी, ९ असार । डोटीको सानागाउँ गाविसमा विहीबार दुवै खुट्टामा किरा परेको अवस्थामा वेवारिसे फेला परेका नागरिकको उपचारका लागि समस्या आएको छ ।
जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा उप–क्षेत्रीय अस्पताललाई रिफर गरेको भए पनि ति नागरिक को हुन् र कहाँका हुन् भन्ने नखुलेकाले कोहि पनि वारिस नहुँदा उनको उपचारमा समस्या देखिएको हो ।
उनको खुट्टाको प्लाष्टिक सर्जरी गर्नुपर्ने भएकाले जिल्ला अस्पताल डोटीमा सम्भव नभएको डाक्टर मदन श्रेष्ठले बताए ।
ती नागरिकलाई रिफर गर्दा जिल्ला स्तरबाट आर्थिक सहयोग जुट्न सक्ने देखिए पनि उनको साथमा जान सक्ने वारिस नपाईएपछि समस्या उत्पन्न भएको हो ।
केही मानिसहरुले ति व्यक्ति मानसिक सन्तुलन गुमाएका मानिस पनि हुन् भन्ने बुझिएको छ ।
यस विषयमा डोटीका प्रमूख जिल्ला अधिकारी केशवप्रसाद आचार्यसँग बुझ्दा वारिस नभएका बिरामी नागरिकलाई जिल्ला बाहिर पठाउन नसकिने बताए । उनले भने-‘यो जटिल प्रकृतिको केश हो, वारिस नभएको बिरामीलाई जिल्ला बाहिर पठाउन माथिल्लो निकायको निर्णय चाहिन्छ । प्रहरीमार्फत सुदूरपश्चिमका नौ वटै जिल्लामा उनको फोटो, हुलिया सहित पठाउँछौं, घरपरिवार, आफन्तहरुले जानकारी पाएमा आउन सक्छन् ।’
जिउँदै मानिसको खुट्टामा किरा परेको अवस्थामा फेला पारेपछि बचाउन सकिन्छ की भनेर आफुहरुले उद्दार गरी जिल्ला अस्पतालसम्म पुर्याएको डोटीका प्रहरी प्रमूख प्रहरी उपरिक्षक दिल्लीराज बिष्टले बताए ।
यद्यपी उनको उपचारमा आर्थिक श्रोत जुट्न सक्ने देखिएको छ ।
रिफर गर्ने खालका बिरामीहरुलाई रिफरल फण्डबाट चार हजार जति नगद रकम उपलब्ध गराउन सकिने जिल्ला स्वास्थ्य कार्यालय डोटीका बरिष्ठ जनस्वास्थ्य प्रशासक रिता भण्डारी जोशीले बताईन् ।
यस्ता प्रकृतिका बिरामीहरुलाई सक्दो आर्थिक सहयोग नगरपालिकाबाट पनि उपलब्ध गराउन सकिने दिपायल सिलगढी नगरपालीकाका सामुदायिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताए ।
त्यस्तै मानसिक सन्तुलन गुमाएका बिरामीहरुको क्षेत्रमा काम गर्दै आएको अन्तराष्ट्रिय गैर सरकारी सँस्था युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टरका टिम लिडर धनमाया गुरुङ्ले ६-७ हजार जति आर्थिक सहयोग गर्न सकिने बताईन् ।
बोल्नै नसक्ने अन्दाजी ५०-५५ वर्ष उमेरका देखिने ति मानिसलाई विहीबार दिउँसो सानागाउँ प्रहरीचौकीका ईन्चार्ज नवराज अवस्थी नेतृत्वको टोलीले उद्दार गरि जिल्ला अस्पताल पुर्याएको थियो ।
सडकबाट झण्डै ४५ मिनेट टाढा रहेको सानागाउँ, काणामाण्डौ र गैरागाउँ गाविसको बिचमा पर्ने खोलामा ति व्यक्ति फेला परेको प्रहरीले जनाएको छ ।
ति नागरिक केहि दिन पहिले जिल्ला स्दरमुकाम सिलगढीमा देखिएको नेकपा माओवादीका युवा नेता विरबहादुर थापाले बताए ।
उनको हेरचाह गर्ने कोहि नभएपछि अहिले जिल्ला अस्पताल डोटीलाई समेत समस्या परेको छ ।
सहयोग गर्न सक्ने निकाय वा व्यक्तिले मोबाईल नं. ९८६८५५३४०० मा सम्पर्क गर्न सकिनेछ ।













प्रतिक्रिया