२८ आश्विन २०८३, बुधबार

टेलिकमले डाटा नदिँदा रोयल्टी वितरणमा समस्या भएकै हो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Santosh Shrestha Ji– सन्तोष श्रेष्ठ, संगीतकार

समय पाउनेवित्तिकै संगीतकार सन्तोष श्रेष्ठ संगीतकर्मीहरूको हकहितका लागि कुरा उठाउन भ्याइहाल्छन् । विषेश गरेर सुगम संगीतमा दख्ल राख्ने श्रेष्ठ अहिले रोयल्टी संकलन समाजमा आबद्ध छन् । उनले सोही संस्थामार्फत संगीतकार, गीतकार र रचनाकारको हितमा काम गर्दै आएका छन् । सांगीतिक क्षेत्रका समग्र विकासका लागि एक्लै गरेर केही हुन नसक्ने बताउने गरेका संगीतकार श्रेष्ठले अहिले भएको सामान्य सुधार पनि धेरै भएको बताउँछन् । संगीतकार श्रेष्ठसंग हाम्रा सहकर्मी विमल योगीले गरेको कुराकानी :

० गीतसंगीतमा लागेर अहिलेसम्म कस्तो अनुभाव पाउनु भो ?

– जुन श्रष्टाहरूलाई मैले किताबमा पढेर आए, तिनै श्रष्टाहरूसँगको सांगीतिक सहकार्य गर्न पाउँदा गौरवको अनुभूति हुन्छ । मभन्दा दोस्रोपुस्तासंग सहकार्य गरिरहँदा संगीत क्षेत्रमा मेरो अझै ठूलो जिम्मेवारी छ जस्तो लाग्छ । अबका दिनमा मेरा अनुभव भन्दा पनि मैले यो क्षेत्रमा कस्तो योगदान दिएँ भनेर मनभित्र कुुरा खेल्ने गर्छन् ।

० तपाईले थुप्रै गीतमा संगीत गर्नु भएको छ । ती सबै कुन प्रकारका संगीत हुन् ?

– मैले लोकसंगीतदेखि आधुनिक, चलचित्र र सास्त्रीय संगीतसम्मका गीतमा संगीत गरेको छु । ती सबै गीतहरू आ–आफ्ना मौलिकता बोकेका छन् । यस्तै प्रकारको भन्ने छैन । ती सबै संगीतहरूमा मेरो आफ्नै शैली र पूर्ण नेपालीपन भएका श्रृजनाहरू छन् ।

० नेपाली संगीत क्षेत्र व्यवस्थित भएको छ कि छैन ?

– नेपाली संगीत क्षेत्र अहिलेसम्म पूर्ण रुपमा व्यवस्थित भइसकेको छैन । यसलाई पूर्णरुपमा व्यवस्थित बनाउनका लागि हामी संगीतकर्मीहरू नै अग्रसर हुनुपर्छ । राज्यले पनि स्पष्ट सांस्कृतिक नीति बनाएर कार्यान्वयनमा पनि सघाउनु पर्छ ।

० त्यसो भए सांगीतिक क्षेत्र व्यवस्थित बनाउन अझै कसैले पहल गरेको छैन है ?

– विभिन्न व्यक्ति, संघसंस्थाहरूको पहल भइरहेको छ । राज्यको तर्फबाट पनि सहयोग गर्ने प्रतिवद्धता आइरहेको छ । तर, केवल कागजमा लेखिँदैमा र प्रतिवद्धता व्यक्त गरिँदैमा व्यवस्थित हुन सक्दैन । त्यसका लागि पूर्णरुपमा कार्यान्वयन हुन आवश्यक हुन्छ ।

० तपाई पनि जिम्मेवार सांगीतिक व्यक्ति हुनुहन्छ । तपाईको तर्फबाट यस क्षेत्रलाई व्यवस्थित बनाउन कुनै पहल भएको छैन ?

– व्यक्तिगत रुपमा मैले मात्रै पहल गरेर संस्थागत कुरा अगाडि बढ्छ जस्तो लाग्दैन । तर, हामी सबै संगीतकर्मीहरू एक जुट हुन सक्यौँ भने असंभव पनि छैन । मैले संस्थागत ढंगबाट संगीतलाई व्यवस्थित गर्नका लागि जिम्मेवारी पाएको बेला पहल पनि गरेको छु । र अहिले त्यसका लागि निरन्तर सक्रिय छु ।

० तपाई स्वयम् सदस्य रहेको ‘संगीत रोयल्टी संकलन समाज नेपाल’ बेलाबेला विवादमा आइरहन्छ नि किन हो ?

– कुनै पनि जिम्मेवार संस्थामा सानातिना वादविवाद हुनु सामान्य कुरा हो । संगीत रोयल्टी संकलन समाज नेपालमा सबैको चासो भएका कारणले र रोयल्टी व्यवस्थापन गर्ने एउटा जिम्मेवार संस्था भएकाले समयमै रोयल्टी वितरण हुन नसक्नु तथा ‘एग्रिकेटरहरू’बाट समयमा बास्तविक डाटा उपलब्ध हुन नसक्दा विभिन्न समस्याहरू आएका हुन् । यसलाई व्यवस्थित गर्न खोजी रहेका छौँ । यी विषयलाई विवाद भन्नु भएको हो भने त्यो हाम्रो संस्थाबाट भन्दा अर्को संस्थाको अहसयोग हो । त्यसमा हामी सचेत छौँ ।

० रोयल्टी समाज एक पटक फुटको संघारमा पनि पुगेका थियो है ?

– एउटा संस्थामा विभिन्न विचार भएका व्यक्तिहरूको उपस्थिति हुनु । तर, हामी सबैको गन्तव्य एउटै हो भन्ने सोँच्न नसक्नुका कारण कहिले काहीँ सानातिन कुराहरूमा विवाद हुन सक्छ । त्यसैका कारण संस्था विभाजन हुने भन्ने कुरा हुँदैन । बरु संस्थाभित्रै बसेर संघर्ष गर्नुपर्छ ।

० नेपाल टेलिकमले त सीआरबीटी नै हटाइ दियो रे नि हो ?

– नेपाल टेलिकमले सीआरबीटी सिष्टम बन्द गरेकै हो । तर, बन्द गर्नुभन्दा अगाडि स्पष्ट रुपमा श्रष्टाहरूको बास्तविक डाटा उपलब्ध गराइदिनु पर्ने हो । तर, डाटा दिएन । त्यसैको कारण पनि रोयल्टी बितरणमा समस्या आइरहेको छ । यसको लागि हामी श्रष्टाहरू पटक पटक टेलिकमसँग सम्पर्कमा रहँदा पनि खासै परिणाम आउन सकेको छैन ।

० अहिले तपाईहरूको संस्थाले कहाँ–कहाँबाट रोयल्टी लिने गरेको छ ?

– हाम्रो संस्थाले रोयल्टी स्वरुप नेपाल टेलिकमबाट केही रकम लिएको छ । र, एनसेलसंग पनि सम्झौता भएको छ । रेडियो नेपालबाट वार्षिक रुपमा सांगीतिक विज्ञापनको ५ प्रतिशत रोयल्टी प्राप्त भएको छ ।

० बेलाबेला तपाईले एकल सांगीतिक साँझ पनि गर्नु हुन्छ हो ?

– गर्ने गरेको छु । म संगीतमा मात्रै होइन । गाउन पनि रुची राख्छु । स्वर धेरै राम्रो छैन । तर, कहिले काहीँ एकल सांगीतिक साँझ गरेर मेरो शुभेच्छुकहरूलाई मनोरञ्जन दिने गरेको छ ।

० तपाई अलि व्यस्त संगीतकार हो ?

– त्यस्तो होइन । म धेरै व्यस्त छैन । तर गीतका लागि संगीत गर्ने काममा भने व्यस्त नै छु । काम आइरहन्छ । अहिले एउटा फिल्मको लागि संगीतको काम गरिरहेको छु ।

० कुन फिल्म हो ?

– गणेश बेलवासेद्वारा निर्माण गर्न लागिएको ‘प्रेम रक्षक’मा संगीत गर्दैछु । मलाई दिइएको जिम्मेवारी बहन गर्न म इमान्दारिताका साथ लागेको छ ।

वरिष्ठ संगीतकार रञ्जित गजमेरसँग श्रेष्ठ
वरिष्ठ संगीतकार रञ्जित गजमेरसँग श्रेष्ठ

० फिल्मका गीतमा संगीत दिन सहज हुन्छ कि अन्य गीतहरूमा सहज हुन्छ ?

– हामी संगीतकारहरूका लागि यो वा त्यो भन्ने हुँदैन । सबै सृजना एकैनासका रुपमा लिनुपर्छ । फिल्ममा कथावस्तुमा बाँधिएर गीतमा संगीत भर्नु पर्छ । अरु गीतमा त्यस्तो कुनै बन्धन हुँदैन । तर, सृजना जे भए पनि त्यसमा मिहिनेत भने लागेकै हुन्छ ।

० गीतसंगीतको क्षेत्रमा कति संघर्ष गर्नुभयो ?

– संघर्ष नगरेर कतै पनि उपलब्धि पाउन सकिँदैन । तपाई आफै भन्नुस् मिहिनेत नगरेर कुनै कार्य सफल हुन्छ ? हो मैले पनि गीतसंगीतको क्षेत्रमा चिनिन धेरै संघर्ष गरेको छु । यसको कथा लामो छ ।

० तपाईलाई कसैले घमण्डी भनेका छन् ?

– त्यो त मलाई थाहा छैन । अहिलेसम्म कसैले त्यस्तो कसैले भनेको सुनेको छैन । सबैसँग मिलनसार रुपमा प्रस्तुत भए जस्तो लाग्छ । मेरा शुभेच्छुकहरूबाट माया पाइरहेको छु । काम पाइरहेको छु । घमण्डी र ढोँगी भएको भए यो अवसर पाउने थिएन होला ।

० तपाई धेरै जसो औपचारिक कार्यक्रममा व्यस्त हुनुन्छ किन हो ?

– बोलाएको ठाउँमा जानै प-यो । कुनै न कुनै सांगीतिक कार्यक्रमका लागि निमन्त्रणा आइरहन्छ । कसैले सम्झेर बोलायो भने जनुपर्ने मेरो कर्तव्य ठान्ने गरेको छु । समय भएसम्म जाने गरेको छ । समाजका लागि मेरो पनि योगदान हुनुपर्छ भन्ने लाग्छ ।

० अहिले बजारमा आउने गरेका गीत संगीत तपाईलाई मन पर्छ ?

– किन नपर्नु पर्छ नि । मैले सुन्ने पनि गरेको छु । राम्रा गायक, गायिका र रचनाकार आउनु भएको छ । राम्रा कलाकारहरू उत्पादन भइरहेका छन् । तर, केही विषयमा भने मन खिन्न हुन्छ ।

० कुन विषयमा मन खिन्न हुन्छ ?

– होइन त्यस्तो केही होइन । कसै कसैले गीतसंगीतका नाममा जे पनि गरेको देख्दा नरमाइलो लाग्छ । सकेसम्म जुन क्षेत्रमा प्रवेश गर्ने हो त्यो क्षेत्रको सामान्य ज्ञान राखेर जाँदा राम्रो हुन्छ । ज्ञान नै नभएको विषयमा हातहाल्दा त्यसले नकारात्मक सन्देश दिन सक्छ ।