२९ आश्विन २०८३, बिहिबार

हाम्रो शिक्षा प्रणाली पछि पर्नुका कारणहरुः एक बिश्लेषण

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Min-bhadur-Panditहाम्रो शिक्षा प्रणाली पछाडी पर्नुको एकमात्र कारण १०४ बर्षसम्म चलेको राणा शासन नै थियो । यदि राणाहरुले जनताका छोराछोरीलाई पनि पढ्ने अनुमति दिएका भए, अनि जनताका लागि पनि स्कुलहरु खोली दिएका भए आज हाम्रो समाज यति पछाडी पर्ने थिएन । १०४ बर्षसम्म हाम्रो बाउ बाजेले पढ्न लेख्न पाएनन, त्यसैले स्वभाबिक रुपले शिक्षामा हामी अरु देशको दाजोमा १०४ बर्षले नै पछि पर्यौ भन्दा फरक नपर्ला । शिक्षा नभएपछि चेतनाको स्तर पनि बृद्धि हुन् पाएन र हाम्रो सामाजिक र आर्थिक बिकास हुन् सकेन । अशिक्षा, अन्धबिश्वास र गरिबीले नेपाललाई धेरै बर्ष पछाडी धकेल्यो । जब युरोप र अमेरिकामा १९ औं शताब्दीमा अनेकौ बैज्ञानिक आबिष्कारहरु हुँदै थियो, तर हाम्रो बाउ बाजेलाई त्यति बेला क ख ग… चिन्ने मौका समेत थिएन । सीमित नेपालीहरु लाहुर जाँदा वा इन्डिया पुगेर केही कुरा सिकेर आउथे । आज पनि राणा परिबार नेपालमा अरु जातिभन्दा निकै माथि र सम्पन्न छन्, यदि राणाहरुले जस्तो अरु नेपालीले पनि पढ्न पाएको भए सायद अरु नेपालीहरु पनि आज राणा खानदान कै हैसियतमा हुने थिए । त्यति बेला कर्मकाण्डका लागि ब्राह्मणहरुले राणाहरुको अनुमतिमा संस्कृत मात्र पढ्न पाउथे । कि त दरबारमा चाकडी गर्ने भाइ भारदारहरुका सन्तानले राणाको कृपाले पढ्न पाउथे, हिजो राणाको दरबारमा चाकडी गर्नेहरुका सन्तानहरु आज शिक्षित र सम्पन्न छन् यो हामी सबैले देखेकै कुरा हो ।

जुनसुकै क्षेत्रको विकासका लागि शिक्षा नै चाहिन्छ । शिक्षा विना कुनै पनि क्षेत्रको प्रगति र विकास हुनसक्दैन । तर, नेपालमा राणाहरुले पढे लेखेका मान्छे हुनै दिएनन् । जब २००७ सालपछि देशमा प्रजात्रन्त्र आयो, त्यसपछि राजधानी र देशका प्रमुख ठाउँहरुमा फाट्टफुट्ट स्कुलहरु खुल्न थाले र तर, जिल्ला र गाउँहरुमा भने २०१५ सालपछि मात्र स्कुल खुल्न थालेका हुन्, त्यो पनि कक्षा ५ सम्ममात्र हुन्थ्यो । नेपालीमा पढाइन्थ्यो र चार कक्षा पुगेपछि ए बि सी डी सिकाइन्थ्यो । अहिले पनि ७५ जिल्लामा रहेका सरकारी स्कुलहरुको साइनबोर्डमा स्थापना २०१७, स्थापीतः २०२० भनेर लेखेको पाइन्छ । आज पनि हरेक स्कुलमा छदैछ । त्यतिखेरको शिक्षा आजको जस्तो आधुनिक थिएन र औपचारिक जस्तो मात्र थियो र अहिले जस्तो कापी कलम सजिलै उपलब्ध थिएन र तीन चार ओटा पंचायतमा एउटा प्राथमिक स्कुल हुन्थ्यो (अहिलेको गाबिस) भने सत्र अठार गाबिसको एउटा हाइस्कुल हुन्थ्यो । हिडेर धाउन गाह्रो थियो । बर्खा लागेपछि स्कुल जान नदी तर्न सकिदैन थियो । खेतिपातीको काम गर्नुपर्ने भएकाले सबैका छोराछोरी स्कुल जान पाउदैन थिए । छोराछोरी पढाउनुपर्छ भन्ने चेतना विकास भएको थिएन । छोरीलाई बिरलै पढ्न पठाइन्थ्यो र यिनै कारणले गर्दा आज हाम्रो समाज धेरै पछाडी पर्न गयो ।

२०४७ सालपछि शिक्षामा धेरै परिबर्तनहरु हुँदै गए । छोराछोरी पढाएमात्र सुखी र सम्पन्न हुन्छन भन्ने जनचेतना बिस्तारै बिकास हुन थाल्यो । निजी क्षेत्रबाट पनि स्तरीय स्कुलहरु खुल्न थाले । तर, सरकारी र निजी क्षेत्रका स्कुलहरुले जुन किसिमको जनशक्ति उत्पादन गर्नपर्ने थियो त्यो भने गर्न सकेनन । आज सरकारी र निजी स्कुलको पाठ्यक्रम लगभग उस्तै भएपनि शिक्षाको गुणस्तरमा आकाश जमिनको फरक छ । तलब हेर्ने हो भने सरकारी स्कुलका शिक्षकको निजी स्कुलका शिक्षकको तुलनामा लगभग दोब्बर छ तर पनि परिणाम भने ठिक्क उल्टो छ । सरकारी फितलो संयन्त्र नै यसको जिम्मेबार हो । अधिकांश नेपालीहरु जति नै महँगो भएपनि निजी स्कुलमै पढाउन बाध्य छन् र शिक्षामा अभिभावकले धेरै ठूलो लगानी गर्नुपर्छ । ऋणबन गरेर भएपनि फि तिर्ने पर्छ । त्यसैले महँगो शिक्षाले गर्दा उनीहरुको जीवनस्तर माथी उठ्न पाउदैन किनकि अरु व्यवसाय गर्ने सबै पैसा दुई तीन वटा बच्चाको शिक्षामै खर्च हुन्छ । यदि राज्यले नै सबैलाई भने जस्तो गुणस्तरीय शिक्षा उपलब्ध गराउने हो भने शिक्षामा लगानी गर्ने पैसाले कुनै पेशा गरिखान धेरै सजिलो हुन्थ्यो, अनि पो उन्नति प्रगति हुन्थ्यो । आर्थिक बचततर्फ जान्थ्यो । आज हरेक नेपालीलाई कसरि बच्चा पढाउने र कसरि उच्च शिक्षा दिने भन्ने पिर र चिन्ता छ, किनकि शिक्षा आज व्यापारीकरण र कमाउने धन्दा भएको छ र जति फी भएपनि तिर्ने पर्यो । एउटा निजी स्कुलले बर्षमा १० लाखदेखि २ करोडसम्म कमाउँछन । मनपरि ढंगले अनेक खालका शुल्क लिन्छन । यति धेरै लिएर पनि आफ्ना शिक्षकलाई खान र बस्न पुग्ने तलब समेत दिदैनन् । बरु राज्यले निजी स्कुल खोल्न चाहनेलाइ सस्तोमा लिजमा सरकारी खाली जमिन भाडामा उपलब्ध गराइदिने हो भने फी केही कम हुन्थ्यो कि ? १०० रुपैयाँ फि लिने समता स्कुलले पनि निजी स्कुलले जस्तै गुणस्तरीय शिक्षा दिएकै छ र सिन्धुपाल्चोक जिल्लाको एउटा बिकट ठाउमा खुलेको सरकारी स्कुल ‘मेलम्ची घ्यांग स्कुल’ जिल्लाको सबैभन्दा गुणस्तरीय शिक्षा दिने स्कुल भएको छ र जहाँका सतप्रतिशत बिद्यार्थी बिसिष्ट र पहिलो श्रेणीमा एसएलसी पास हुन्छन ।

student

हाम्रो शिक्षाको गुणस्तरको पनि कुरा गरौं । नेपालमै चाइने भनेजस्तो दक्ष जनशक्ति अझै पनि हाम्रो शिक्षाले उत्पादन गर्न सकेको छैन । त्यसैले हुनेखाने र अबसर पाउनेहरु पढ्नका लागि बिदेशिने क्रम पनि बढ्दो छ । हामीले ब्यवसायिक शिक्षालाई भन्दा अंग्रेजीलाइ मात्र बढी ध्यान दिएका छौ । चीन, जापान, कोरिया, रसिया आदि देशमा अंग्रेजी होइन ब्यवसायिक शिक्षा छ । उनीहरु अंग्रेजी फिट्टीकै जान्दैनन् तर सम्पूर्ण उपभोग्य सामान र आधुनिक समान बनाउन सक्छन र त् उनीहरु बेरोजगार छैनन् र हाम्रो शिक्षाले बेरोजगार युबा मात्र जन्माउछ र यस्तो शिक्षाले राष्ट्रलाई कस्तो योगदान देला ?

स्कुलमा शिक्षक पनि कस्ता बन्छन भने, अलि ट्यालेन्ट जति डाक्टर, पाइलट, इन्जिनियर, वकिल आदि बन्छन अनि कुनै पेशामा फिट हुन् नसक्नेहरु शिक्षक बन्छन (अपबाद छोडेर) अनि कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ ? भन्न खोजेको कुरा के भने यदि अरु क्षेत्रमै जति मान, सम्मान र दाम दिने हो भने ट्यालेन्टहरुलाई पनि शिक्षक बनाउन सकिन्थ्यो कि ? शिक्षकले पनि जिम्मेबार भएर पढाउन पर्छ । तलब सुविधा कम भयो भन्दैमा लापरबाही गर्नु भएन । डिउटी पनि त् ६ घण्टा मात्र त् छ नि । बर्षमा १०० दिन जति छुट्टी पनि छ । अरु जागिरमा त्यत्रो छुट्टी कतै हुँदैन र पनि शिक्षकहरु काम पर्दा छुट्टी लिने अनि पछि हाजिर गर्ने चलन छँदैछ ।

एकातिर बारम्बार हुने बन्द हड्तालले हाम्रो शैक्षिक क्षेत्रलाई नराम्रो असर गरेको छ भने अर्काेतिर राजनीति गर्ने अखडा स्कुल र क्याम्पस हुनाले पठन पाठन नराम्रो संग प्रभावित भएको छ । कमसेकम शिक्षकहरु कुनै पनि दलमा लाग्न नपाउने नियम बन्नुपर्छ ।

२०४६ सालसम्म प्रायः जसो गाउँका स्कुलहरुमा एसएलसी नगरेका शिक्षकहरु नै हुन्नथे । यदि साच्चिकै शिक्षामा सुधार गर्ने हो भने दस बर्ष, पन्द्र बर्ष अगाडी जागिर खाएका शिक्षकहरुलाई उपुक्त उपदान वा सेवा अबधि हेरेर आधा पेन्सन दिएर हटाउन पर्छ किनकि एसएलसी पास गरेका र आइए पास गरेका शिक्षकहरु दस, पन्ध्र बर्षदेखि पढाइ रहेका छन् भने आज डिग्री पास गरेकाहरु बेरोजगार बसेका छन् । हामीसंग डिग्री पास गरेकाहरु पर्याप्त छन् भने किन एसएलसी पास गरेकालाइ शिक्षक राखी रहने ? उनीहरुलाई चित्त बुज्ने गरि एकमुष्ट बोनस वा आधा पेन्सन (५ प्रतिशतमा) दिएर डिग्री होल्डरहरुलाई शिक्षक बनाउनपर्छ र अनि मात्र शिक्षामा गुणस्तर बढ्ने छ । शिक्षा क्षेत्र सुधारिए मात्र अरु क्षेत्र सुधार्न सजिलो हुन्छ । हुन् त् बीस पच्चीस बर्ष पुरानो नेपालको कर्मचारी तन्त्र नफेरी यो देशमा कुनै पनि क्षेत्रमा आमुल परिबर्तन आउन सक्दैन । किनकी पुरातनबादी शैली र सोच भएको हाम्रो कर्मचारितन्त्र परिबर्तन गरेर आधुनिक पद्दतिमा नढाली देशमा कुनै पनि विकास निर्माणले गति लिन सक्दैन । जनताको काम छिटो छरितो हुन् सक्दैन र कुनै नयाँ काम सुरु हुन् सक्दैन सुरु भएपनि गति लिन सक्दैन ।

त्यसैगरि हाम्रो राजनीतिमा पनि शिक्षित र सक्षम व्यक्ति आउनुपर्छ । शारीरिक र मानसिक रुपले नै असक्षम व्यक्तिहरु राजनीतिमा रहेसम्म कसरि परिबर्तन आउँछ ? कुनै पनि क्षेत्रमा सुधार गर्ने हो भने सम्बन्धित क्षेत्रका बिज्ञको सल्लाह र सुझाब लिने गरि बिज्ञ राखेर आयोग बनाएर कार्यान्वयन गर्नुपर्दछ । हाम्रो शिक्षा क्षेत्रमा पनि बिज्ञको सल्लाह र सुझाब लिएर समय अनुकुल परिबर्तन र परिमार्जन गर्दै जानुपर्छ र देशलाई चाहिने जनशक्ति अबश्य उत्पादन हुनेछ । यति गर्न सकेमा हाम्रो शिक्षा प्रणाली कहिले पछि पर्ने छैन अनि अरु सबै क्षेत्रलाई पनि हाम्रो शिक्षा प्रणालीले नै अगाडी बढाउने छ ।