काठमाडौं, ७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीमा नयाँ अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता पशुपति शम्शेर राणाले पाउँदै हुनुहुन्छ ।
पूर्व सहमति र निर्णयअनुसार राणा असार १२ गतेदेखि राप्रपाको अध्यक्ष बन्नु हुनेछ । राप्रपाका सहप्रवक्ता किरण गिरीले पूर्वसहमति र पार्टीको निर्णयअनुसार अध्यक्ष पद चक्रीय प्रणालीमा रहने बताउनुभयो । सोही सहमतिअनुसार अहिले राप्रपामा राणालाई अध्यक्ष बनाउने तयारी भइरहेको छ ।
‘अध्यक्ष लोकेन्द्रबहादुर चन्द ज्यूको छ महिने कार्यकाल असार ११ गतेदेखि सकिदैछ’, सहप्रवक्ता गिरीले भन्नुभयो, ‘त्यसपछि असार १२ गतेदेखि वरिष्ठ नेता पशुपति शम्शेर राणा छ महिनाका लागि अध्यक्ष बन्नु हुनेछ । त्यसपछि अर्का वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहानी ज्यूले अध्यक्ष पद पाउनु हुनेछ । लोहनीको कार्यकालमा पार्टीको महाधिवेशन हुनेछ ।’
हाल राप्रपाका अध्यक्ष चन्द उपचारका लागि बैंकक जानु भएको छ । अध्यक्ष चन्द आठ गतेसम्म स्वदेश आउने बताइएको छ ।
स्रोतका अनुसार पूर्व सहमति अनुसार वरिष्ठ नेता राणालाई अध्यक्ष बनाउन सबैको सहमति छ । तर, अध्यक्ष चन्दले सहमति उल्लंघन गर्ने केही संकेत देखाएको राप्रपाका एक केन्द्रीय सदस्यले दाबी गरे ।
अध्यक्ष बनेका बेला चन्दले आफ्ना छोरा जयन्त चन्दलाई मन्त्री बनाएका छन् । जयन्तले पनि पार्टीभित्रको बिबादलाई धेरै अगाडि बढाउन नहुने धारणा राख्दै आएका छन् । राप्रपाभित्र बिबाद भएमा जयन्त चन्दको मन्त्री पद पनि धरापमा पर्ने बताइन्छ ।
उता, केन्द्रीय सदस्य सुनिलबहादुर थापा समूह पार्टीलाई एकताबद्ध बनाएर लैजान ज्यान फालेर लागेको दाबी गर्दै आएको छ ।
पूर्व सहमतिअनुसार चन्दले असार १२ गतेदेखि राणालाई सहज रुपमा अध्यक्ष पद हस्तान्तरण गर्नुपर्ने भन्दै सुनिल थापा समूहले लबिङ गरिरहेको छ ।












प्रतिक्रिया