
काठमाडौं, ३१ जेठ । गृहमन्त्री शक्ति बस्नेतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई कारबाही गर्ने चेतावनी दिएको अर्को दिन महासचिव ‘विप्लव’ दमन भए प्रतिरोध हुने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महासचिव ‘विप्लव’ले घुमाउरो भाषामा गृहमन्त्री बस्नेतलाई विश्वासघाती भनेका छन् । उनले आफूहरूलाई दमन भए डटेर सामना गर्ने बताएका हुन् ।
‘हामी तिम्रा जस्तोसुकै र जुनसुकै टावरहरू ध्वस्त पार्ने क्षमता राख्छौं’, विप्लवले भनेका छन्, ‘किनकि त्यो तिम्रो बेइमानी, गद्दारी, चाकडी, कालाबजारी र लुटको जगमा उभिएको छ । अनि टावरका रक्षक बनेका बिश्वासघातीहरू, हामीले तिमीलाई पनि राम्रैसंग चिनेका छौँ, याद गर दमन भए प्रतिरोध हुनेछ ।’
गृहमन्त्री बस्नेतले आइतबार ‘विप्लव’ माओवादीका अराजक गतिविधि नियन्त्रण गर्ने भन्दै शान्ति सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने बताएका थिए । गृहमन्त्री बस्नेतले कार्यालय र एनसेलका टावरहरूमा आक्रमण गर्नेहरूलाई कानुनी दायरमा ल्याउने चेतावनी दिएका थिए ।
त्यसलगत्तै ‘विप्लव’ले गृहमन्त्री बस्नेतलाई चुनौती दिने गरी दमन भए प्रतिरोध गर्ने भनेर कडा शब्दमा प्रतिवाद गरेका हुन् ।
‘विप्लव’ माओवादीले एनजिओ, आइएनजिओ र एनसेलका टावरहरूमा आक्रमण सुरू गरेको छ ।
















प्रतिक्रिया