१ कार्तिक २०८३, शनिबार

जापानको भूकम्प प्रभावित क्षेत्रमा नेपाली प्रतिनिधिसहितको टोली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कार्यवाहक राजदुत राजभण्डारीले कुमामोतो प्रान्तका गर्भनर इकुओ कावासिमा,कुमामोतो नगरप्रमुख काजुफुमी ओनिसीलाई भेटेपछि संयुक्त रुपमा फोटो खिचाउदै । साथमा नेपाली युवाव्यवसायीहरु ।
कार्यवाहक राजदुत राजभण्डारीले कुमामोतो प्रान्तका गर्भनर इकुओ कावासिमा,कुमामोतो नगरप्रमुख काजुफुमी ओनिसीलाई भेटेपछि संयुक्त रुपमा फोटो खिचाउदै । साथमा नेपाली युवाव्यवसायीहरु ।

टोकियो (जापान), २४ जेठ । गत अप्रिल १६ मा गएको ७ दशमलव ३ रिक्टर स्केलको शक्तिशाली भूकम्पबाट प्रभावित क्षेत्र जापानको कुमामोतोका बासिन्दा र नेपाल सरकारका प्रतिनिधिबीच भेटघाट तथा सहानुभूति आदानप्रदान भएको छ ।

नेपाल सरकारका प्रतिनिधिका रुपमा कार्यबाहक राजदूत गेहेन्द्रराज राजभण्डारीले आफैं प्रभावित क्षेत्रमा गएर प्रभावितको सहयोगार्थ नेपाली समुदायले सञ्चालन गरेको योगाभ्यासमा समेत सहभागिता जनाउनुभयो । शनिबार र आइतबार दुईदिन चलाइएको योगाभ्यासमा अतिप्रभावित क्षेत्रका २० भन्दा बढी जापानी नागरिकले सहभागिता जनाएका थिए ।

त्यस्तै प्रभावित क्षेत्रमा पुग्नुभएका कार्यबाहक राजदूत राजभण्डारीले कुमामोतो प्रान्तका गभर्नर इकुओ कावासिमा, कुमामोतो नगरप्रमुख काजुफुमी ओनिसीलाई भेटेर जापानको दुःखमा नेपाल र नेपालीको हरपल सहयोग र साथ रहेको बताउनुभयो ।

सो अवसरमा नेपालीले भूकम्पपछिको पीडालाई महसुस गरेको भन्दै कार्यबाहक राजदूत राजभण्डारीले कुमामोतो क्षेत्रका प्रभावित हरेक जापानी नागरिकको पीडादायी अवस्थालाई जापानवासी नेपालीले नजिकैबाट नियालेको बताउँदै महसुस गर्ने गरी नेपालीको हरेक दुःखमा साथ रहेको जनाउनुभयो ।

त्यस्तै राजदूत राजभण्डारीले कुमामोतो विश्वविद्यालयका पदाधिकारीसँग भेटेर नेपाली विद्यार्थीका समस्याका विषयमा पनि जानकारी गराउनुभयो ।

नेपालीयुवा निरज ज्ञवालीले भूकम्प प्रभावित क्षेत्र कुमामोताका बासिन्दालाई योगाअभ्यास सिकाउदै ।
नेपालीयुवा निरज ज्ञवालीले भूकम्प प्रभावित क्षेत्र कुमामोताका बासिन्दालाई योगाअभ्यास सिकाउदै ।

सो क्षेत्रमा गैरआवासीय नेपाली सङ्घको नेतृत्वमा स्वयम्सेवकका रुपमा अध्यक्ष सुदन थापा सचिव बुद्धिराज घिमिरे, सल्लाहकार विज्ञानकुमार थापा, योगगुरु नीरज ज्ञवाली, युवा व्यवसायी केशव थापा र सरोजकुमार खत्रीलगायतका १० जना टोकियोबाट गएको टोलीले प्रभावित बासिन्दालाई सहयोग गरिराखेका छन् ।

शनिबार बिहानैदेखि खटिएको टोलीले आइतबार बेलुकासम्म भूकम्पमा भत्केका संरचना हटाउने, सरसफाइ, योगाभ्यासलगायतका काम गरेको गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष सुदन थापाले बताउनुभयो ।

भूकम्पलगत्तै गैरआवासीय नेपाली सङ्घ जापानको नेतृत्वमा गएको टोलीले तत्कालका लागि भन्दै नेपाली खाना खुवाएको थियो ।
रासस