– युवराज श्रेष्ठ
लमजुङ, २३ जेठ । लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङले बेसीशहरस्थित बालगृहलाई सोलार सेट हस्तान्तरण गरेको छ ।
आदर्श महिला तथा बाल विकास केन्द्रद्धारा संचालित बालगृहमा एक कार्यक्रमका विच उक्त सोलार सेट हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा जिल्ला बाल कल्याण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मोहन जिसीले सोलार सेट खरिद मुल्य ६६ हजार रुपैयाँको चेक केन्द्रका अध्यक्ष सानुमाया गुरुडलाई हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा प्रजिअ जिसीले बालगृहमा जडान गरेको सोलार सेटको स्विच अन गरेर उद्घाटन समेत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रजिअ जिसीले बालगृहमा रहेका बालबालिकालाई सोलार सेट जडान गरेपश्चात अध्ययन लगायतका क्रियाकलाप थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
द्धन्द्धपीडित तथा अनाथ बालबालिकालाई संरक्षण दिएर केन्द्रले महान कार्य गरेको भन्दै उहाँले बालबालिका प्रति सबै संवेदनशिल हुनुपर्ने बताउनुभयो ।
विजुली आउने जाने भईरहने भएकाले बालगृहमा रहेका बालबालिकालाई अध्ययन लगायतका कार्य गर्न सहज होस् भनेर सोलार सेट प्रदान गरेको सम्पर्क समितिका सदस्य मिना गुरुङले जानकारी दिनुभयो ।
आदर्श महिला तथा बाल विकास केन्द्रका सचिव हुमा गुरुङले बत्ति गएको अवस्थामा मैनबत्ती बाल्दा आगलागीको डर हुने र एकै पटक धेरै मैन जलाउनुपर्ने समस्या अब नरहने बताउनुभएको छ ।
लमजुड सेवा समिति हङकङ, सम्पर्क समिति लमजुडका सदस्य मेघेन्द्र पोखरेलले समितिले अनाथ तथा पछाडी परेका बालबालिकाको शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको जानकारी दिनुभएको छ ।
समितिका सदस्य पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका अध्यक्ष सानुमाया गुरुङले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सो अवसरमा केन्द्रका पदाधिकारी तथा सदस्यहरु, बालबालिका लगायतको सभागिता रहेको थियो । हाल बेसीशहर स्थित उक्त बालगृहमा १७ जना बालबालिका आश्रित रहेका छन् ।
















प्रतिक्रिया