काठमाडौं,२३ जेठ । कांग्रेस सभापति शेरबहादुर देउवाले जेठ मसान्तभित्र विभाग र केन्द्रीय सदस्यहरूको मनोनयन टुंग्याउने भएका छन् ।
आकांक्षी धेरै रहेकाले विवाद हुने देखेपछि देउवाले तत्काललाई पदाधिकारी मनोनयन थाती राख्न लागेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
कांग्रेस विधानमा महाधिवेशन भएको दुई महिनाभित्र विभाग तथा केन्द्रीय सदस्यमा मनोनयन टुंग्याउनुपर्ने व्यवस्था छ । विधानअनुसार नै पदाधिकारीसहित विभाग गठन, केन्द्रीय सदस्य मनोनयन एकैपटक टुंग्याउने देउवाको तयारी थियो ।
तर, अहिले ४२ विभाग गठन र १४ केन्द्रीय सदस्यमध्ये दुई–तीन सदस्य बाँकी राखेर मनोनयन गर्ने तयारी उनको छ । केन्द्रीय कार्यसम्पादन समिति, संसदीय समिति, ज्येष्ठ राजनीतिकसभा पनि गठन गर्ने तयारी छ ।
‘पहिले पदाधिकारी, केन्द्रीय सदस्य, विभागलाई एकैपटक टुंग्याउने तयारी थियो,’ देउवानिकट स्रोतले भन्यो, ‘अब पदाधिकारीबाहेक केन्द्रीय समितिमा सदस्य थप्ने, विभागीय संयोजक र प्रदेश संयोजक तोक्ने तयारीमा सभापतिजी हुनुहुन्छ ।’
केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले मनोनयनको तयारी भइरहेको बताए । ‘अब विभाग, केन्द्रीय सदस्य र पदाधिकारीको टुंगो छिट्टै लाग्छ,’ महतले भने ।
उपसभापतिमा निधि कि खड्का
उपसभापतिमा खुमबहादुुर खड्का र विमलेन्द्र निधि प्रमुख दाबेदार छन् । तराई–मधेसको प्रतिनिधित्व, संगठनमा पकड र भावी उत्तराधिकारीका रूपमा देउवाले निधिलाई उपसभापति बनाउन चाहेका छन् । महाधिवेशनमा महत्त्वपूर्ण सहयोग गरेका खड्काले पनि उपसभापतिका लागि दबाब दिइरहेका छन् ।
तर, हिन्दूराज्यको अभियान चलाएका खड्काको एजेन्डा डा. शशांक र शेखर कोइरालासँग मिलेकाले देउवा सशंकित छन् । भ्रष्टाचार कसुरमा जेल सजाय भोगेका खड्कालाई पद दिँदा हुनसक्ने आलोचनाबाट पनि देउवा जोगिन चाहन्छन् । संसदीय बोर्डमा राखेर खड्कालाई मनाउने तयारी देउवाको छ । तर, आफूलाई बोर्डमा राखेमा महामन्त्री र सहमहामन्त्रीमा क्रमश: पूर्णबहादुर खड्का र पुष्पा भुसाललाई राख्नुपर्ने दबाब खड्काले दिएको स्रोतको भनाइ छ ।
प्रमुख सचेतकमा लेखक वा भण्डारी
प्रमुख सचेतकमा चिनकाजी श्रेष्ठलाई हटाएर रमेश लेखक वा चन्द्र भण्डारीलाई बनाउने देउवाको योजना छ । तर, लेखकले प्रमुख सचेतकमा रुचि देखाएका छैनन् । उनको इच्छा कांग्रेसको सरकार बनेमा मन्त्री बन्ने छ ।















प्रतिक्रिया