
– शेरबहादुर थापा
मुम्बई, २१ जेठ । गत विहिवार विहान उल्हासनगरमा नृशंस हत्या गरि फालिएको अवस्थामा भेटिएका दुई यूवाहरुको आज दाहसंस्कार गरिएको छ ।
सयौँ नेपालीहरुको सहभागितामा निकालिएको शवयात्रा सँगै उल्लासनगरमा रहेको हिन्दु श्मसान भूमिमा उनीहरुको दाहसंस्कार गरिएको हो । मृतक मदन सुनार र राजु सुनारको शव उल्लासनगरस्थित सेन्टर अस्पतालमा पोस्टमार्टम गरिएको हो भने शवयात्रा पनि त्यहिबाटै सुरु गरिएको शवयात्रामा सहभागी समाजसेवी पदम भूलले जानकारी दिए ।
उता, बालाजी प्यालेस सोसायटीमा सेक्युरिटी गार्डको काम गर्दै आएका मृतक मध्येका एक राजु सुनारको परिवारलाई उनले काम गर्दै आइरहेको सोसायटीले दश हजार क्रिया खर्च स्वरुप सहयोग गरेको छ । साथै सोसायटीले मृतक राजु सुनारकी श्रीमती पवित्रा सुनार र निजकै ६ महिने छोरीलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको एकता मञ्चका केन्द्रीय सह–कोषाध्यक्ष मोहन देवकरले बताए ।
सोसायटीबाट उक्त रकम तथा प्रतिबद्वता कार्यान्वयनका लागि मुम्बईमा रहेका प्राय सबै संघसंस्थाका प्रतिनिधि, वकिल, समाजसेवीहरुको रोहबरमै केहि दिनमै थप सहयोग गर्ने समझदारी भएको प्रनेसका अध्यक्ष कटक शाहीले बताएका छन् ।

मृतक राजु सुनारकी श्रीमती र छोरी उल्हासनगरमै बस्दै आएका थिए भने अर्का मृतक मदन परियारका परिवारजन समेत उल्हासनगरमा पुगिसकेका बताइएको छ । गत विहिबार विहान २ बजे मृतक दुवैजनामाथि स्थानीय कुलतमा फसेका यूवाहरुले सांघातिक आक्रमण गरि लिंग काटेर उनीहरुको निर्मम हत्या गरेका थिए । हत्या भएको सूचना पाए लगत्तै भारतीय प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गर्दै दुई घण्टामै ५ जना अपराधीहरुलाई पक्राउ गरेको थियो भने अहिले आरोपीहरु पुर्पक्षकालागि थुनामा रहेका छन् ।
स्थानीय एक अदालतले प्रहरीलाई आगामी ८ जुनसम्म थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको एपिआई समाधान नागरेले बताएका छन् । पाँचैजना अपराधीहरुले अपराध कबुल गरिसकेका छन भने प्रहरीले हत्यामा प्रयोग भएको हतियार, मोटरसाइकल समेत बरामद गरेको थियो । कल्याण तालुका टिटवाला प्रहरी परिसर अन्र्तगत घटित सो हृदयविदारक हत्याकाण्ड पश्चात उक्त क्षेत्रमा काम गर्दै आइरहेका हजारौँ नेपाली श्रमीकहरु अहिले त्रसित अवस्थामा रहेका छन ।
शवयात्रामा प्रवाशी नेपाली संघ भारत, अखिल भारत नेपाली एकता मञ्च, हिरोम नेपाली एकता समाज, नेपाल दलित प्रवाशी संघ भारत लगायत थुप्रै संघसंस्थाका प्रमूख एवं प्रतिनीधिहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
सबै सहभागीहरुले आगामी दिनमा एकताबद्व भएर अघि बढने भन्दै मृतक आत्माको चीर शान्तिको कामना समेत गरेका छन् ।















प्रतिक्रिया