सुनसरी, २० जेठ । वैदेशिक रोजगारीका नाममा ठगिमा परेका या पीडित बनाइएका कामदारलाई न्याय दिन पर्याप्त लिखित प्रमाण आवश्यक नरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसएसपी पोषराज पोखरेलले बताएका छन् ।
उनले वैदेशिक रोजगारका नाममा ठग्ने वा अन्यायमा पार्ने जोसुकै व्यक्ति वा संस्थालाई लिखित प्रमाण नभएपनि व्यवहारिकताका आधारमा कारवाही गर्न आफु मातहतका जिल्लाका सम्पूर्ण प्रहरी कार्यालयलाई निर्देशन दिएका छन् ।
सुरक्षित आप्रवाशन परियोजना (सामि)ले सुनसरी जिल्लामा प्रहरीसँग गरेको एक दिने अन्तक्र्रिया कार्यक्रममा बोल्दै एसएसपी पोखरेलले सो कुरा बताएका हुन् । जिल्लाभरी प्रहरीको संयन्त्र रहेको हुँदा सबैसँग मिलेर यस्ता ठगी र अन्याय रोक्न आफुहरु प्रतिवद्ध रहेको उनले सो अवसरमा बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले पीडितलाई स्थानियस्तरमै न्याय दिलाउन जिल्ला प्रशासन कार्यलयले कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाए । उनले सो अवसरमा वैदेशिक रोजगार क्षेत्रका सबै सरोकारवालाहरु मिलेर अघि बढ्ने हो भने यस क्षेत्रका ठगीका घटना अन्त्य हुने बताए । प्रजिअ चापागाईले राहदानी बनाउँदा नै सुनसरी जिल्ला प्रशासन कार्यालयले यससम्वन्धी पर्याप्त सुचना दिने गरेको समेत जानकारी दिए ।
सामी परियोजनाका सुनसरी जिल्ला संयोजक कोपिला दाहालले सुनसरीमा सामीले सुरक्षित वैदेशिक रोजगारका क्षेत्रमा गरेका गतिविधीहरुबारे प्रकाश पारिन् । कार्यक्रम संयोजक डिम्पल यादवले सामी परियोजनाका गतिविधी तथा उपलब्धीहरुलाई कार्यक्रममा प्रस्तुत गरेकी थिइन् ।
सुरक्षित आप्रवासन परियोजना (सामी)ले काठमाडौं जिल्ला र उपत्यका बाहिरका १८ जिल्लामा वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन सम्बन्धी सूचना दिने र सूचनाको पहुँच अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । वैदेशिक रोजगारबाट पीडित व्यक्तिहरुका लागि पुनःस्थापना गृहको संचालन, वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई व्यवसायिक सीप तथा तालिम, घरेलु महिला कामदारका लागि तालिम तथा पुर्वप्रस्थान र अभिमुखीकरण तालिम दिने दिलाउने कार्यमा सहयोग पुर्याउँदै आएको छ । सामी परियोजनाले आप्रवासी कामदारको संरक्षणका लागि कानुनी उपचार र वकालत सम्बन्धी सहयोग समेत उपलब्ध गराउँदै आएको छ ।














प्रतिक्रिया