– अनिल खत्री
गुल्मी, २० जेठ । जिल्ला वन कार्यालय गुल्मीलाई जग्गा दान गरिएको छ ।
गुल्मी जिल्लामा विगत पाँच वर्षदेखि संचालित मदाने संरक्षित वन कार्यक्रमको कार्यालय भवन निर्माणका लागि गुल्मी जिल्ला सिर्सेनी गा.वि.स.–७ वस्ने श्री नोखलाल अर्याल र बाँझकटेरी गा.वि.स.–२ वस्ने श्री ज्ञानकुमार भुषालले वाँझकटेरी गाविस–३ स्थित मझुवा भन्ने ठाँउमा सालझण्डी – ढोरपाटन सडकसंग जोडिएको करीव १२ लाख मूल्य बराबरको एक रोपनी जग्गा निशुल्क जिल्ला वन कार्यालयलाई प्रदान गर्नुभएको छ ।
जिल्ला वन कार्यालय गुल्मीमा एक कार्यक्रम विच जग्गाधनी श्री भुषाल र श्री अर्यालले सो जग्गाको जग्गाधनी प्रमाण पूर्जा जिल्ला वन अधिकृत विशाल घिमिरेलाई हस्तान्तरण गर्नुभयो ।
आफ्नो जन्मस्थान, वसोवास क्षेत्र र जिल्ला भरीकै वन, वनस्पति, जैविक विविधता र प्रकृति संरक्षणमा काम होस् र यसले समग्र मानव जगतलाई फाइदा पुरयाओस भन्ने उद्धेश्यले आफ्नो नीजी जग्गा कार्यालयका लागि हस्तान्तरण गरेको कुरा जग्गादाता द्धयले वताउनुभयो ।
मदाने संरक्षित वन कार्यक्रम गुल्मी जिल्लामा जैविक विविधता संरक्षण, वैकल्पिक उर्जा, स्थानीय वन स्रोत संरक्षण लगायत क्षेत्रमा २०६८ सालदेखि जिल्ला वन कार्यालय मार्फत संचालनमा छ ।
गुल्मीको उत्तर पश्चिम क्षेत्रका ११ वटा गा.वि.स. लाई समेटेर संचालित यस कार्यक्रमले लुम्विनी अंचलकै सवैभन्दा उच्च स्थान मदाने लेक (२६९० मीटर) र यसवाट वग्ने नदीहरु छल्दी, पनाहा, निस्ती लगायत अन्य साना नदीहरुको संरक्षण गर्दै यस क्षेत्रको कृषि, वन, वातावरण र जीविकोपार्जन को क्षेत्रमा काम गर्दै आईरहेको छ ।
उक्त कार्यक्रमका लागि प्राप्त भएको जग्गामा कार्यालय भवन निमार्णका लागि वजेट प्राप्त गर्न पहल गरी यथाशीघ्र कार्यालय निमार्ण गर्ने लक्ष्य राखेको कुरा जिल्ला वन अधिकृत विशाल घिमिरेले वताउनुभयो ।
गुल्मी जिल्लामा मदाने का अतिरिक्त रेसुङ्गा र थाप्ले सत्यवती संरक्षित वनको पनि कार्ययोजना तयार भई स्वीकृतिको क्रममा रहेको कुरा जानकारी प्राप्त भएको छ ।













प्रतिक्रिया