
– योगेन्द्र योगी
संखुवासभा, २० जेठ । वर्षातको सुरुवातसँगै पूर्वीपहाडी जिल्ला संखुवासभाको सडक खहरेमा परिणत हुन थाल्छन् ।
१२ महिनामा ६ महिना पनि राम्ररी गाडी गुड्न नसक्ने यहाँका सडकले जनतालाई सुविधा भन्दा सास्ती दिइरहेका खांदबारी नगरपालिका ढुंगेधाराकी उमा विक बताउँछिन् ।
वर्षायाम सुरु भएपछि हिलाम्ये हुने सडकमा सुख्खायाममा गाडी गुड्दा यात्रुलाई धुलोले विरुपै बनाउने गरेको छ । कोशी पहाडी राजमार्गको सिधुँवादेखि चैनपुर हुँदै खाँदबारीसम्म आउने सडकको दुदर्शाले यात्रुले ठूलै सास्ती भोग्पनुरेको छ ।
धनकुटा सडक कार्यालय र तुम्लिङटार सडक डिभिजन कार्यालयले हरेक वर्ष सडक मर्मतका लागि लाखौं खर्च गर्ने गरेको छ । प्रभावकारी अनुगमन नहुँदा मर्मत गरे पनि नटिक्ने गुरुङको भनाइ छ । ‘मर्मत हुन्छ, कोही हेर्न आउँदैनन्, वैशाखबाटै सडक हिलाम्मे भएर यातायात सञ्चालनमा अवरोध हुँदै आएको छ,’ मामलिङका भक्तबहादुर गुरुङले भने, ‘सडक डिभिजनले करोडांैको मर्मत गरे पनि बालुवामा पानी हाल्नेजस्तै मात्र भएको छ ।’
वसन्तपुरबाट चैनपुर खण्डसम्म गरिएको कालोपत्रे उक्किएको छ । करोडांै खर्च गरेर मर्मत गरिए पनि एक महिना नटिक्ने उनले बताए । हिलेसम्म पुग्न कम्तीमा ४–५ ठाउँमा उत्रिनुपर्ने र सामान हराउने समस्या उत्तिकै रहेको स्थानीयवासीको भनाई छ ।
कोशी राजमार्गअन्तर्गत संखुवासभा जोड्ने मुख्य सडक निर्माण पूरा भएको ६ वर्ष नबित्दै पुरानै अवस्थामा फर्केको हो । एसियाली विकास बैंकको लगानीमा कालोपत्रे गरिएको ७५ किलोमिटर सडकको कालोपत्रे पानीले बगाएपछि सडक पुरानै अवस्थामा फर्केको हो । पानी पर्नासाथ सडक हिलाम्मे हुने गरेकाले पैदल हिंड्नसमेत गाह्रो हुने गरेको गुरुङको भनाई छ ।
सुनसरीको धरानबाट १ सय ४२ किलोमिटर सडकमध्ये ६० किलोमिटर सडकको ठाउँ–ठाउँमा ठूल्ठूला खाल्टा परेकाले दैनिक उपभोग्य सामान ढुवानी गर्न पनि समस्या हुँदै आएको चैनपुरका बासिन्दाहरू बताउँछन् । कालोपत्रे र ग्राभेल भएको डेढ वर्षमै उक्त सडकको नामोनिसान मेटिएको थियो । कम गुणस्तरको कालोपत्रे गरिएका कारण सडक यस्तो हविगतमा पुगेको स्थानीय बासिन्दाको अनुभव छ ।
कालोपत्रे गरेको भनिएको सडकका ठाउँ–ठाउँमा गाडीसमेत डुब्ने खाल्डा परेका छन् । ६ वर्षअघि एउटा प्याकेजमा चार करोड ५० लाख रुपैयाँका दरले १६ वटा प्याकेजमा करिब ७२ करोड रुपैयाँको लगानीमा सडक कालोपत्रे भएको थियो ।
यहाँको सडकको दुरावास्थाले स्थानीय देखि प्रशासकलाई समेत पीडा दिएको छ ।












प्रतिक्रिया