९ कार्तिक २०८३, सोमबार

प्रधानन्यायाधीशको कनेक्सन, भ्रमण छोट्याउनुको रहस्य अर्कै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushila-karki-05-624x420काठमाडौं, २० जेठ । कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्की विदेश भ्रमण छोट्याएर निर्धारित कार्यक्रमभन्दा ६ दिनअघि नै अकस्मात् स्वदेश फर्केकी छन् ।

कार्की अकस्मात् स्वदेश फिर्ता भएको विषयलाई न्याय क्षेत्रमा नयाँ विकसित घटनाक्रमसँग जोडेर हेरिएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

कार्कीको अनुपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीशको दायित्व समालेका न्यायाधीश बैजनाथ उपाध्यायको एकल इजलासले मंगलबार ११ जना न्यायाधीश सिफारिसको निर्णय खारेज गर्न माग राखेर पेस भएको रिट दर्ता गरी सुनुवाइ अघि बढाउन आदेश दिएको थियो । उक्त रिटलाई यसअघि सर्वोच्चकै रजिस्ट्रारले दरपीठ गरी फिर्ता पठाइदिएका थिए ।

निवर्तमान प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र वरिष्ठ न्यायाधीशका हैसियतमा कार्की पनि सदस्य रहेको न्याय परिषद्को सिफारिसमा परेका ११ जना न्यायाधीशको नियुक्तिमा अदालतमा मतभेद रहेको अड्कलबाजी भइरहेका बेला उपाध्यायको आदेश र त्यसले निम्त्याउने संकटकै पृष्ठभूमिमा कामु प्रधानन्यायीश कार्कीको स्वदेश फिर्तीलाई हेरिएको छ ।

अमेरिकास्थित वासिङ्टन डिसीमा ‘महिला न्यायाधीश र कानुनको शासनु विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जेठ ११ गते उनी त्यसतर्फ लागेकी थिइन् ।

अमेरिकाको बसाइपछि क्यानडा भ्रमणको कार्यक्रम पनि थियो । स्रोतका अनुसार उनी क्यानडा जाने जहाजको टिकट रद्द गरेर फर्किएकी हुन् । त्यहाँ न्यायमा पहुँचका विषयमा अदालतको अवलोकन, न्यायाधीशसँग भेटघाट र निजी भ्रमणको कार्यक्रम तय भएको थियो ।

सर्वोच्च अदालत स्रोतका अनुसार उनी जुन ६ तारिखमा स्वदेश फर्कने कार्यक्रम थियो । कार्की फर्के पनि सँगै गएका पुनरावेदन अदालतका अरू न्यायाधीश भने उतै छन् । ‘उहाँ आउनुभएको थाहा भयो । किन चाँडो आउनुभएको हो भनेर केही जानकारी हुन सकेको छैन’, सर्वोच्चका एक न्यायाधीशले बुधबार अन्नपूर्णसँग भने, ‘मैले पनि ६ तारिखसम्म कार्यक्रम थियो भनेर सुनेको हुँ । बिहीबार भेटेपछि मात्रै थाहा होला ।’

कार्यवाहक प्रधानन्यायाधीश उपाध्यायको एकल इजलासले सर्वोच्चका रजिस्ट्रार श्रीकान्त पौडेलबाट दरपीठको आदेशमार्फत दर्ता इन्कार गर्नेगरी भएको निर्णयलाई मंगलबार बदर गर्दै दर्ता गर्न आदेश दिएपछि सुनुवाइ प्रक्रिया अघि बढ्ने बाटो खुलेको थियो ।

उक्त रिटमा परिषद्को संरचना र सिफारिस प्रक्रियालाई लिएर वैधानिकताको प्रश्न उब्जाइएको थियो । उक्त रिट बिहीबार नै सुनुवाइ हुने क्रममा थियो ।

उक्त रिटमा निवेदक रहेका अधिवक्ता पूर्णचन्द्र पौडेललगायतका कानुन व्यवसायीले सिफारिस रोक्न अन्तरिम आदेश माग गर्दै गम्भीर संवैधानिक प्रश्न सन्निहित रहेका कारण सुनुवाइका लागि संवैधानिक इजलासमा पठाउन माग गर्ने तयारीमा थिए ।

अमेरिका र क्यानडा भ्रमणमा कार्कीका साथमा पुनरावेदन अदालत इलामकी मुख्य न्यायाधीश मीरा खड्का, पुनरावेदनकी न्यायाधीश सुष्मालता माथेमा, निता गौतम दीक्षित, सारंगा सुवेदीलगायत सहभागी थिए ।

सर्वोच्चका सहायक प्रवक्ता विश्वराज पौडेलले कामु प्रधानन्यायाधीश चाँडो फर्केको विषयमा आफूलाई केही थाहा नभएको बताए । ‘मलाई किन, के भनेर केही थाहा भएन’, पौडेलले भने, ‘साथमा गएका अरु श्रीमान् फर्किनुभएको छैन । उतै हुनुहुन्छ ।’

यसैबीच न्यायाधीश सिफारिस विवादमा नेपाल बारले रिट निवेदकका पक्षमा प्रतिरक्षा गर्ने तयारी गरेको छ ।