काठमाडौं, २० जेठ । वीरगन्जका व्यापारी सुरेश केडियालाई अपहरणमुक्त गर्न भारतीय जेलमा रहेका बब्लु दुबेका पत्नी र छोरीलाई पक्राउ गर्नुपरेको रहस्य खुलेको छ ।
प्रहरी अनुसन्धानअनुसार अपहरणको सम्पूर्ण योजना भारतको बक्सर जेलमा रहेका बब्लु दुबेले सहयोगीमार्फत डेढ महिनाअघि नै बनाएका थिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
व्यापारिक घरानाका केडिया सातामा एकदुईपटक बाराको बरियारपुरस्थित परमात्माको घरमा आउजाउ गर्ने गर्थे ।
ब्लड प्रेसर र सुगर भएका कारण उनी परिवारका सदस्यको डरले मन परेको खानपिन गर्न पाउँदैनथे । सातामा एकदुई दिन परमात्माको घरमा पुगेर उनी ढुक्कले खानपिन गरेर घर फर्कन्थे । त्यसै क्रममा गत बिहीबार उनी खानपिन गरेर फर्किरहेका बेला बाटोमै अपहरणमा परे ।
उनी बरियारपुर आए–नआएको जानकारी परमात्माकै मोटरसाइकल चालक चञ्चल पाण्डेले बक्सर जेलमा रहेका बब्लु दुबे र अन्य सहयोगीलाई गराउँथे । बुधबार परमात्मासँग फोनसम्पर्क हुँदा केडियाले बिहीबार आउने बताएको पनि पाण्डेले थाहा पाएका थिए ।
परमात्माको घरमा आउजाउ भएकै कारण पाण्डेलाई केडियाको आर्थिक हैसियतबारे राम्रै जानकारी थियो । थुप्रै व्यवसायमा हात हालेका केडियाको आयआर्जन बलियो थियो । जेलमा रहेका दुबेले पाण्डेलाई प्रयोग गरेर केडियालाई अपहरण गर्न सकेको प्रहरीले जनाएको छ ।
केडियाले परमात्माको घरमा खानपिन गरिरहेका बेला पाण्डेलगायतका अपहरणकारीको समूहले उनलाई अपहरण गर्न बारा गढिमाई पसाहा पुल नजिकैको क्षेत्र छानिसकेका थिए । तीनजना नेपाली र चारजना भारतीय अपहरणकारी त्यहाँ गाडी लिएर तैनाथ थिए । केडिया फर्किने बेलामा अपहरणकारीले गाडी तेस्र्याएर बाटो छेके ।
त्यस क्रममा केहीबेर विवाद भएपछि अपहरणकारीले केडियाका चालक उमेश साह कानुलाई गाडीबाट बाहिर निकालेर गोली हानी केडियालाई गाडीमा राखेर भारततर्फ लागे ।
सुरुमा गाडीले मान्छेलाई हानेर दुर्घटना गराई भागेको सूचना प्रहरीमा पुगे पनि घटना भएको झन्डै डेढ घन्टापछि मात्रै चालक कानुलाई गोली हानेर केडियाको अपहरण भएको सूचना प्रहरीले पायो । कानुलाई अस्पताल लैजाने व्यक्ति भने प्रहरी सम्पर्कमा आएका छैनन् ।
जिल्ला प्रहरी कार्यालय बारालाई उक्त सूचना प्राप्त हुनेबित्तिकै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पनि खबर पुग्यो । सीआईबीलाई अपहृत केडियाको नम्बर प्राप्त भएपछि राति अबेरसम्म लगाएर कलडिटेल हेरियो ।
साँझ पाँच बजेर आठ मिनेटमा केडियाको फोन बरियारपुर लोकेसनमा स्विचअफ भएको थियो । फोनमा उनै परमात्मासँग केडियाको पटकपटक सम्पर्क देखिएपछि प्रहरीले परमात्माको फोनको कलडिटेल हेर्यो । परमात्माको फोनमा भारतीय नम्बरबाट तारन्तार फोन आएको थियो । तर अपहरणकारीसँग उनको कनेक्सन नदेखिएको प्रहरी बताउँछ ।
सीआईबीबाट एसएसपी मनोज न्यौपाने र प्रहरी निरीक्षक रुगम कुँवरको टोली शुक्रबार बिहानै घटनास्थलतर्फ लाग्यो । भारतीय प्रहरीसँगको समन्वयमा प्रहरीले बक्सरमा रहेका बब्लु दुबेलाई केरकार गर्यो । दुबेले आफ्ना सहयोगीलाई ४० पटकभन्दा बढी सम्पर्क गरेको पत्ता लाग्यो । त्यसपछि प्रहरी ढुक्क भयो, अपहरणको सबै योजना दुबेबाटै भएको हो ।
उता बरियारपुरबाट केडियालाई लिएर भागेको गाडी रोक्न स्थानीय प्रहरी युनिट तेलकुवा र कविगोठ थानाबाट भएको प्रयास असफल भयो ।
गोली हान्ने आदेश पाए पनि हताहत हुने देखिएपछि प्रहरीले गोली चलाएन । सशस्त्र प्रहरीको सीमा पोस्टले पनि रोक्न सकेन । प्रहरीले ढुंगाले हान्दा केडियालाई अपहरण गरेर लगिएको बीआर०५पीए ३२३९ नम्बरको सेतो स्कारपियो गाडीको अगाडिबाहेक सबै साइडका सिसा फुटेका थिए ।
भारतको मोतीहारीमा स्थानीय चुनाव चलिरहेको थियो । प्रहरीले सुरक्षा जाँचका लागि सडकमा राखिएका फलामे ब्यारिगेडसमेत तोडेर भागेका थिए अपहरणकारी । भारतीय प्रहरीले गाडी नम्बर पत्ता लगाएपछि अपहरणकारीले सुरुमा गाडी बनाउन ग्यारेजमा पठाए ।
भारतीय प्रहरी अपहरणकारीले बनाउन पठाएको गाडीको ग्यारेजबाट गाडी र चालकलाई नियन्त्रणमा लिन सफल भयो । गाडी चालक थिए रञ्जन मिश्रा । रञ्जनबाट प्रहरीले पेस्तोल र चार राउन्ड गोली बरामद गर्यो ।
अपहरणकारी र केडियालाई बन्धक बनाइएको स्थान पत्ता लगाउन पहिलो सूत्राधार बने गाडी चालक रञ्जन । उनको फोनमा अपहरणकारीमध्येका बब्लु पासवान र अन्यबाट ३० देखि ४० पटक फोनसम्पर्क रहेको पत्ता लागेपछि भारतीय प्रहरीले लोकेसनका आधारमा केडियालाई लुकाएको स्थान पत्ता लगायो । स्रोतका अनुसार भारतीय प्रहरीले बक्सर जेलमा रहेका दुबेका भाइ, पत्नीलगायतलाई नियन्त्रणमा लिएको थियो ।
केडियालाई सकुशल अपहरणमुक्त नगरे परिवारका सदस्यलाई सिध्याइदिने चेतावनी दिएपछि मात्रै दुबे ‘मेरो परिवारलाई छाडिदेऊ, केडियालाई छाडिदिन्छु’ भनेर सहमतिमा आएको उच्च प्रहरी स्रोतले बतायो ।
भारतीय प्रहरीसँग मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पशुपति उपाध्याय, नारायणी अञ्चल प्रहरी प्रमुख एसएसपी नारायणसिंह खड्का, सीआईबीका एसएसपी मनोज न्यौपाने, जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विनोद शर्मा, सीआईबीकै प्रहरी निरीक्षक रुगम कुँवरलगायत समन्वयात्मक भूमिकामा थिए ।
केडियालाई राखिएको घरमा शनिबार राति ‘सर्चु गर्ने योजना बनाइए पनि धेरै हताहत हुने र केडियाको ज्यान पनि खतरामा पर्नसक्ने आँकलन गरेर आइतबार बिहान सर्च गर्ने निर्णय प्रहरीले गर्यो । आइतबार दुबेलाई परिवारको त्रास देखाएपछि उनले केडियालाई सकुशल मुक्त गर्ने वचन दिए । बिहारको कोटवास्थित सडकमा केडियालाई छाडेर अपहरणकारी फरार भए ।
नेपाल प्रहरीले बक्सर जेलमा रहेका दुबेको फोनसम्पर्ककै आधारमा बारा कबहीजब्दीका चञ्चल पाण्डे, तेलकुवाका जियालाल यादव र पुष्करकुमार चौधुरलाई पक्राउ गरेको छ । उनीहरू अपहरणको योजना बुन्ने र कामलाई मूर्त रूप दिने भूमिकामा रहेको प्रहरीको दाबी छ । अपहरणमा संलग्न चारजना भारतीय फरार छन् ।
प्रहरी प्रतिवेदनमा दुबेलाई पनि अपहरणको योजनाकारका रूपमा राखिएको छ । पक्राउ परेका पाण्डे र यादवकै फोनको कलडिटेल हेर्दा पटकपटक बक्सर जेलबाट फोन आएको खुलेको स्रोतले बतायो ।
क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रमुख डीआईजी पशुपति उपाध्यायले केडियाको अपहरण यही कारणले भएको हो भन्ने निचोडमा अझै प्रहरी पुग्न नसकेको बताए । उनले भने, ‘अपहरण भन्नेबित्तिकै आर्थिक पाटोसँग जोडिनु स्वाभाविकै हो तर हामी अनुसन्धानमै रहेकाले यही कारणले हो भन्ने ठोस निष्कर्षमा पुगेका छैनौं, फरारहरूको खोजी भइरहेको छ ।’ उनले सूचनाप्रविधिको अधिकतम प्रयोगबाट केडियालाई अपहरणमुक्त गर्न सहज बनेको पनि बताए ।
चालकमाथि भारतबाटै अनुसन्धान
व्यापारी सुरेश केडियाको अपहरणमा प्रयोग भएको गाडीका चालक रञ्जन मिश्रामाथि भारतीय प्रहरीले नै अनुसन्धान गर्ने भएको छ । अपहरणमा प्रयोग भएको हतियार र गाडीसमेत रञ्जनबाट बरामद भएको थियो ।
उनलाई पक्राउ गरिएको स्थान भारतमै रहेकाले उतैबाट अनुसन्धान हुने प्रतिवेदन बारा प्रहरीले क्षेत्रीय प्रहरी कार्यालय हेटौंडामा बुझाएको छ ।
तर नेपालका व्यापारी केडिया अपहरण घटनामा संलग्न भएको आरोपमा भने रञ्जनलाई फरार सूचीमा राखिएको छ । अपहरण घटनामा रञ्जनसँगै नेपाल प्रहरीले बक्सार कारागारमा रहेका दुबेलाई समेत फरार सूचीमा राखेको छ ।
नारायणी अञ्चल प्रहरीका तत्कालीन प्रमुख एसएसपी सर्वेन्द्र खनालले दुबेलाई पक्राउ गरी भारतीय प्रहरीको जिम्मा लगाएका थिए । ‘रञ्जन केडियाको अपहरण घटनामा गाडीका चालक भए पनि उनीबाट भारत मोतीहारीमै हतियार बरामद भएकाले उतैको प्रहरीले अनुसन्धान तथा कारबाही गर्ने भएको हो’, क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रमुख डीआईजी पशुपति उपाध्यायले भने ।















प्रतिक्रिया