– रबिना बोहरा
बागलुङ, १९ जेठ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सभापतिले विधान विपरित विभिन्न गाविस र नगरपालिकाका वडाहरुमा उपशाखाको अधिबेशन गरेको भन्दै जिल्ला शाखाको कार्यालयमा बुधवार तालाबन्दी भएको छ ।
भिमापोखरा उपशाखाका सभापति विद्यापति शर्मा, लहरेपिपल उपशाखाका सभापति रुद्रबहादुर केसी र रेश उपशाखाका सभापति थानेन्द्रप्रसाद गौतमको नेतृत्वमा रेडक्रसकर्मीहरुको एक समुहले जिल्ला शाखाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
रेडक्रसको मुल्य, मान्यता र नियमलाई पालना नगरी एकलौटी ढंगबाट अधिवेशन तय गरेकाले स्थगित गर्न मागगर्दै कार्यालयमा तालाबन्दी गरेको भीमापोखरा उपशाखाका सभापति विद्यापति शर्माले बताउनुभयो ।
भीमापोखरा उपाखाको निर्वाचन प्रक्रिया गत असार महिनामा सुरु भएकोमा मतदाता नामावलीको बिषयमा विवाद उत्पन्न भएपछि स्थगित गरिएको थियो । त्यसपछि केन्द्रीय रेडक्रसको निर्देशनका आधारमा जिल्ला शाखामा निर्वाचन अधिकारी तोक्न आग्रह गरे पनि जिल्ला समितिको वैठक नै नबसी तदर्थ समिति गठन गरी मनपरी अधिवेशन तोकेको भन्दै उनीहरुले ध्यानाकार्षण गराएका छन् ।
यस्तै बानपा ८ र ९ को संयुक्त उपशाखाका रुपमा लहरेपिपल उपशाखा हुदाहुदैँ बानपा ८ मा पुन उपशाखा खोलिएको भन्दै विरोध गरेका छन् । जिल्ला शाखाका सभापति जब्बरबहादुर लामिछाने र सदस्य विकास पौडेलले एकलौटी रुपमा स्थापना गरिएको भन्दै लहरेपिपल उपशाखाले ध्यानाकार्षण गराएको सभापति रुद्रबहादुर केसीले जानकारी दिनुभयो । यसैगरी रेशमा पनि एकलौटी रुपमा उपशाखा विघटन गर्नुका साथै सदस्य नै नभएका प्रकाश कुँवरलाई संयोजक तोकेको भन्दै आपत्ति जनाएका छन् ।
जिल्ला शाखाको निर्णय बिना नै उपशाखाहरु विघटन गरेको, संयोजक तोक्ने र निर्वाचनका लागी सदस्यहरुलाई जानकारी नगराई निर्वाचन गर्न लागेकाले रेडक्रसको गरिमालाई कमजोर बनाएको उनीहरुको आरोप छ । पटक पटकको आग्रह पछि पनि कसै संग समन्वय नगरी एकल रुपमा अगाडी बढेकाले तालाबन्दी गर्न बाध्य भएको भन्दै आफ्ना माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने उनीहरुले चेतावनी समेत दिएका छन् ।
नेपाल रेडक्रस सोसाइटीको विधानमा जिल्ला शाखाको निर्णय अनुसार उपशाखा विघटन गर्नुका साथै अधिवेशन र निर्वाचन अधिकारी तोक्नु पर्नेमा सभापतिले वैठक नै नगरी ति कार्यहरु गर्दै अगाडि बढेको जिल्ला शाखाका एक सदस्यले जानकारी दिएका छन् ।
यता नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति जब्बरबहादुर लामिछानेले आफुले रेडक्रसको विधान अनुसार नै काम गरेको दाबी गर्नू भएको छ । रेडक्रसको नीति नियम अनुसार बैधानिक रुपमानै शाखा स्थापना गरेको भन्दै उपशाखाका सभापतिहरुले गलतकाम गरेको बताउनुभयो ।












प्रतिक्रिया