१८ कार्तिक २०८३, बुधबार

विद्युत् चोरी गर्ने ८३ जनालाई कारवाही, ३८ जना थुनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jail– प्रकाश न्यौपाने

भैरहवा, १८ जेठ । नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले पछिल्लो डेढ महिनाको अवधिमा विद्युत् चोरी गर्ने तथा हुकिंग गर्ने ८३ जना ग्राहकलाई कारवाही गरेको छ ।

त्यसमध्ये विद्युत् चोरी तथा हुकिंगमा संलग्न ३८ जना व्यक्तिलाई पक्राऊ गरी एकदिन थुनामा राखेर छोडिएको भैरहवा वितरण केन्द्रका प्रमूख मुनिन्द्र ठाकुरले जानकारी दिए ।

कारवाहीमा पर्नेहरूमा लुम्बिनी सांस्कृतिक नगरपालिका, मानपकडी गा.वि.स. मर्चवार र पोखरभिण्डीका ग्राहक रहेको प्राधिकरणले जनाएको छ । यस मध्ये सबैभन्दा धेरै विद्युत् चोरी हुने क्षेत्रको रूपमा लुम्बिनी रहेको प्राधिकरणको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलिले गत चैत १९ गते बैशाख महिनालाई विद्युत् चुहावटरहित महिनाकोरूपमा अभियान चलाउन निर्देशन दिएपछि थालिएको कारवाहीमा यस्तो सफलता हात पारिएको केन्द्रका प्रमुख ठाकुरको भनाई छ । सुरूमा बैशाख महिनालाई मात्र भनिए पनि हाल उक्त कारवाहीलाई निरन्तरता दिईएको उनले बताए ।

त्यस्तै प्राधिरणले थुनामा राखिएका तथा कारवाहीमा परेकामध्येबाट बैशाख महिनामा मात्र जरिवाना स्वरूप ५ लाख ९३ हजार २ सय ७९ रूपैयां २० पैसा संकलन गर्न सफल भएको छ । त्यसैगरी हुकीङ असुली मार्फत डेढ महिनाको अवधिमा ८ लाख २४ हजार ३ सय ६९ रूपैयां ५२ पैसा संकलन भएको केन्द्रका लेखा अधिकृत प्रकाश भुसालले जानकारी दिए ।

पक्राउ परेकाहरूबाट ७ हजार देखी ३ लाखसम्म रकम असुली गर्न सफल भएको प्राधिकरणले बताएको छ । त्यस्तै समयमा विद्युत महशुल नतिर्ने २ सय ५ जना ग्राहकको लाईन काटिएको र लाईन काटिएका ग्राहकबाट ६३ लाख ११ हजार ६ सय ९० रूपैयां रकम असुल गरिएको केन्द्रका प्रमुख ठाकुरले जानकारी दिए ।

त्यसैगरी प्राधिकरणले यो अवधिमा ८ जना ग्राहकलाई कालोसूचीमा राखेर कारवाही गरेको छ । लगातार ६ महिनासम्म विद्युत् महशुल नतिर्ने ग्राहकलाई कालोसूचीमा राखिने र उक्त व्यक्तिले उपभोग गर्ने सम्पूर्ण सरकारी सुविधामा तीन पुस्तेसम्म रोक्का गरेर रकम असुली गर्ने प्रावधान अनुरूप कारवाही चलाईएको ठाकुरले बताए । यो अवधिमा कालोसूचीमा परेका ग्राहकबाट प्राधिकरणले १ लाख ८४ हजार ४ सय ८२ रूपैयां ६२ पैसा रकम असुल गरेको छ । त्यसैगरी मिटरबाट तार काटेर विद्युत् चोरी गर्ने १८ जना ग्राहकबाट १ लाख ६३ हजार ४ सय ८२ रूपैयां संकलन भएको छ भने स्विकृत क्षमताभन्दा बढी विद्युत् उपभोग गरेको पाईएका ६ वटा उद्योगलाई कारवाही गरिएको र सो बापत ६८ हजार ६ सय ५० रूपैयां संकलन भएको प्राधिकरणले जनाएको छ ।

भैरहवा वितरण केन्द्र अन्तर्गत ८६ हजार ५ सय ६३ ग्राहक रहेका छन् । जस मध्ये भैरहवा वितरण केन्द्र भैरहवा अन्तर्गत ३८ हजार ७ सय ७२, नयांमिल प्रशाखा अन्तर्गत १६ हजार ८ सय ७७, अमवा प्रशाखा अन्तर्गत १५ हजार ७ सय २५ र लुम्बिनी प्रशाखा अन्तर्गत १५ हजार १ सय ८९ ग्राहक रहेका छन् ।

आर्थिक वर्ष ०७२–०७३ मा भैरहवा वितरण केन्द्रमा १ करोड ४९ लाख ९४ हजार ९ सय ९ रूपैयां ८७ पैसा विद्युत् महशुल असुल हुनुपर्ने रकम रहेको र सो अवधिमा ५ सय ३४ ग्राहकको लाईन काटिएको प्राधिकरणको भनाई छ । लाईन काटिएका ग्राहक मध्यबाट ४ सय ९१ जना ग्राहकको लाईन पुनः जोडिएको र १ करोड ८४ लाख ४८ हजार ८ सय १८ रूपैयां ४७ पैसा रकम असुल गरिएको प्राधिकरणले जनाएको छ ।