– प्रेम गुरागाईं, ‘नेपालको माया’ सिडि एल्बमबाट
आजको अत्यन्त द्रुत गतिमा अघि बढिरहेको अशान्त युगमा घाउ र चोटपटक लागेको बिरामीलाई मल्हम र टाइनोलोनको महत्व भए झैं शान्तिका अग्रदुत महामानव भगवान गौतम बुद्धका सन्देशहरु अत्यन्त महत्वपुर्ण छन् ।
सात अरब भन्दा बढी जनसँख्या भएको पृथ्वीमा विभिन्न धर्ममा आस्था राख्नेहरु आँफ्ना धर्मगुरुहरुको बारेमा अझ बढि ज्ञान प्राप्त गर्न साथै पुण्य कमाईन्छ भन्ने विश्वासका साथ उनीहरु जन्मेको भुमीमा पाइला टेक्न पाए हुन्थ्यो भन्दै अनेक वाधा व्यवधान पार गर्दै त्यो मुलुकमा पुग्छन् र त्यहाँ पुग्न पाएकोमा आँफुलाई अत्यन्त भाग्यमानी ठान्छन् । जेरुसेलम, मक्का मदिना, भ्याटिकन सिटी यसका केहि उदाहरणहरु हुन् ।
उच्च शिक्षा, सम्पत्ति, मान, प्रतिष्ठा कमाई सक्दा पनि मनमा शान्ति प्राप्त नभएपछि ‘सच्चा सुखको’ खोजमा निस्केको मानवले अध्ययनका क्रममा जव गौतम बुद्धका वाणिहरु पढ्छ र मनन गर्न थाल्छ, उ प्राकृतिक रुपमा बुद्धको बारेमा अझ बढि गहिरिएर अध्ययन गर्न थाल्छ र उनको जीवनबाट प्रभावितत भएर मानव उत्थानमा लागेका अन्य आदरणिय नेताहरु महात्मा गान्धी, नेल्सन मण्डेला, मार्टिन लुथर किङ्ग जुनियरका बारेमा अध्ययन गर्छ जसले शान्तिका दुत गौतम बुद्धका बारेमा अध्ययन गर्दै उनीबाट प्रतिपादित शान्तिको मार्गलाई अँगालेका थिए ।
आजको युगमा भगवान गौतम बुद्ध शान्तिको पर्यायवाची भएका छन् र सँसारको जुनसुकै कुनामा बस्ने नेपालीहरुका लागि यो अत्यन्तै गर्वको कुरा हो ।
लुम्बिनी, नेपाललाई ‘शाक्यमुनी बुद्धको जन्मभुमी’ भनेर विश्वमा चिनाउन सके मात्र ५० करोड भन्दा बढी बौद्ध धर्मावलम्बी मात्र नभई अरबौं शान्तिप्रेमी जनसमुदाय नेपाल भ्रमण गर्न जाने कुरामा कसैको दुई मत हुनै सक्दैन ।
‘दश लाख हस्ताक्षर अभियान’, ‘शान्ति पदयात्रा’, ‘नेपाल डे परेड’, ‘विश्व बुद्धिस्ट सम्मेलन’, ‘बुद्ध बर्न ईन नेपाल फिल्म’, ‘लुम्बिनी कपिलवस्तु अभियान’, ‘बुद्ध जयन्ति’ लगायत अन्य विभिन्न अभियान र प्रर्वद्धनका माध्यमबाट नेपाललाई पवित्र बुद्धभुमीका रुपमा परिचित गराउन नेपाल सरकार लगायत व्यक्तिगत र संस्थागत रुपमा धेरै सकारात्मक कामहरु भई रहेका छन् ।
हामी सबै मिलेर ‘हातेमालो गर्दै’ ‘एकतामा बल छ’ भन्ने सास्वत सत्यलाई हृदयङगम गरेर ‘शान्तिपथमा’ अघि बढौं र आँफ्ना दैनिक सोच, बोली, व्यवहार, चरित्रद्वारा अरुलाई पनि यो मार्गमा अघि बढ्न निरन्तर प्रेरणा प्रदान गरौं ।
शान्ति शान्ति शान्ति ।
– प्रेम गुरागाईं, लस एन्जलस, क्यालिफोर्निया, अमेरिका ।















प्रतिक्रिया