वरिष्ठ कृषि प्राज्ञ तथा विशेषज्ञ, मेलबर्न, अष्ट्रेलिया
– वर्तमान समयमा नेपालको कृषि क्षेत्रको अवस्था कस्तो देख्नु भएको छ ?
नेपालको कृषि क्षेत्रमा अझै पनि परम्परागत शैली विद्यमान छ, आधुनिकीकरण हुन सकेको छैन । केही केही क्षेत्रमा न्यून मात्रामा आधुनिकीकरण भएपनि समग्रमा नेपालको कृषि क्षेत्र अझै पनि निर्वाहमूखी नै रहेको छ । किनभने अधिकांश कृषकहरु अहिले पनि आफ्नो परिवारका लागि मात्र पुग्नेगरि कृषिकर्म गरिरहेका छन् ।
– तपाईंले अहिले अष्ट्रेलियामा बसेर पनि नेपालको कृषि क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्दै आउनुभएको छ । त्यहाँको कृषि र नेपालको कृषिमा के भिन्नता छ ?
धेरै भिन्नता छ । नेपालमा ससानो क्षेत्रको भूमिमा खेती किसानी भइरहेको छ । त्यसैले धेरैजसो घरकै श्रमको प्रयोग गरेर खेती गरेको पाइन्छ । तर, अष्ट्रेलिया र अमेरिका लगायत ठूला तथा विकसित देशहरुमा एकदम ठूला ठूला जग्गाहरुमा खेति गरिन्छ । त्यहाँ कम श्रमिक प्रयोग गरेर आधुनिक प्रविधि र यन्त्रहरुको सहायतामा एकदमै छिटो र छरितो ढंगले खेती हुन्छ । मेरो भनाईको मतलब के हो भने ती देशहरुतिर आधुनिकीकरण र यन्त्रीकरणको माध्यमबाट खेती हुन्छ भने नेपालमा अझै पनि परम्परागत रुपमा खेती किसानी भइरहेको छ । यसैले धेरै भिन्नता देख्छु म त ।
– तपाईं रामपुर कृषि क्याम्पसको सहायक डीन पनि हुनुहुन्थ्यो । नेपालमा भइरहेको कृषि अनुसन्धानले नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरणको बाटोमा लैजान कत्तिको सहयोग गरेको छ ?
पहिलाको तुलनामा केही फरक त आएको छ नै । जस्तो खाद्य बालीमा नयाँ नयाँ बिउविजनहरु उत्पादन भएका छन् । केही प्रविधिहरुको विकास समेत भएको छ । तर, जति मात्रामा र जुन रुपमा हुनुपथ्र्यो, त्यति चाहीँ भएको पाइदैन ।
– तर, त्यही कृषि क्षेत्रले अहिलेसम्म त्यति फड्को मार्न नसक्नुमा के कारण छ ?
पहिलो कुरा त जो नेतृत्व तहमा पुगेका छन्, उनीहरुमा कृषि क्षेत्रको भिजनको कमी हुनु मुख्य कारण हो । भिजनको अभावमा सही नीति बन्न सकिरहेको छैन । सबै कुराका लागि सर्वप्रथम सही नीतिकै आवश्यकता पर्दछ । हाल भएका नीतिहरु पनि सही रुपमा कार्यान्वयन भएका छैनन । अझ त्योभन्दा मुख्य कुरा के हो भने कृषि क्षेत्रमा कृषकलाई दिने भनेर प्रशस्त मात्रामा अनुदानको लागि रकम छुट्याइएको हुन्छ । तर, त्यो रकम माथिदेखि तलसम्म, मन्त्रीदेखि कर्मचारीसम्मले भ्रष्टाचार गरेरै सक्छन् । यदि केही रकम अनुदानस्वरुप कृषकलाई दिइयो भने पनि प्राविधिक रुपले त्यस्को सही रुपमा उपयोग भएको पाइन्न । यसप्रकार कसरी कृषिको विकास हुनसक्छ ? यी सबै कारणहरुले गर्दा सबैमा नैराश्यता छाएको देख्छु ।
– पछिल्लो समयमा धानको उत्पादनमा क्रमिक रुपमा ह्रास आउँदै गएको किसानहरुको गुनासो छ । यो किन होला ?
सबभन्दा पहिले धानको उन्नत बिउको अभाव नै प्रमुख कारण देख्छु म । परम्परागत र स्थानीय बिउबाट राम्रो उत्पादन हुन सक्दैन । उन्नत जातको बिउले मात्र राम्रो उत्पादन दिन्छ । नेपालमा तत्काल धानका राम्रो र उन्नत जातका बिउहरु उत्पादन गर्न नसकिए पनि भारत, बंगलादेश तथा अन्य देशहरुबाट ल्याउन सकिन्छ । तर, नेपालमा यस्तो काम पर्याप्त मात्रामा हुन सकेको छैन । अर्को कुरा, धान तथा अन्य कुनैपनि बालीबाट बढी उत्पादन पाउनको लागि सहिमात्रामा मल तथा पानी नभई नहुने कुरा हुन् । यी कुराहरुमा पनि नेपाली कृषकहरु बञ्चित छन् । यस्तै गरी रोग, किरा तथा झारहरु नलाग्नको लागि वा लागिसकेपछि गर्ने उपचारको अभाव पनि धान उत्पादनमा कमी आउनुको अर्को कारण देख्छु म । यी सबै कुराहरु माथिल्लो तहबाटै सही नीतिको अभाव तथा कार्यान्वयन पक्षको कमजोरीले गर्दा भइरहेको छ ।
– राम्रो बिउ कसरी उत्पादन गर्न सकिएला ?
सबैभन्दा पहिले प्लान्ट विडिङको माध्यमबाट नयाँ जातको बिउहरु निकाल्न सकिन्छ । त्यसमा स्थानीय जातलाई प्राथमिकता दिनुपर्छ । किनकि स्थानीय जातका बिउहरु स्थानीय माटो र हावापानी सुहाउने खालका हुन्छन् । तिनीहरुबाट राम्रो उत्पादन नभएपनि रोग प्रतिरक्षा क्षमता तिनमा धेरै हुन्छ । स्थानीय जातलाई उन्नत जातसँग क्रसिङ गरेर धेरै फल्ने जातहरु निकाल्न सकिन्छ । त्यसपछि ईन्टरनेशनल राईस रिसर्च ईन्ष्टिच्युट (ईरी) ले निकालेका धानका जात र ईन्टरनेशनल मेज एण्ड ह्वीट रिसर्च सेन्टर (सिमीट) ले निकालेका गहुँ र मकैका बिउहरु ल्याएर पनि लगाउन सकिन्छ । अब हाइब्रिड जातको उत्पादन र प्रयोगमा बढी जोड दिनुपर्छ । हाइब्रिड जातका बिउहरुमा गुणस्तरमा केही कमी भए पनि धेरै मात्रामा उत्पादन पाउन सकिन्छ । नेपालजस्तो खाद्यान्न अभाव झेलिरहने देशका लागि बढी मात्रामा भएको उत्पादनले फाइदा गराउँछ । किनभने सबैभन्दा पहिले त मान्छेले खान पाउनुपर्यो । अनि मात्र गुणस्तरको कुरा आउँछ ।
– मलको कुरा गर्नुभयो । अहिले रसायनिक मलले पार्ने नकारात्मक असर बारे निकै बहस भइरहेका छन् । तर तपाईं भने यसैको पक्षपोषण गर्दै हुनुहुन्छ किन ?
यो सब एनजीओहरुले छरेको भ्रम हो । बढी उत्पादनका लागि आवश्यक मात्रामा मल नभई हुन्न । मान्छेलाई रोग लाग्दा पनि औषधि चाहिन्छ । मानिस बलियो बन्न आवश्यक मात्रामा सन्तुलित खानेकुरा आवश्यक पर्छ । त्यस्तै बालिहरुका लागि पनि आवश्यक मात्रामा मलको आवश्यक पर्दछ । बढी उत्पादनका लागि बढी मल आवश्यक छ । कम उत्पादनका लागि कम मल भए पुग्छ । उदाहरणका लागि एक सय किलोग्राम युरिया मलमा ४६ किलो नाइट्रोजन तत्व हुन्छ । बाली राम्रोसंग सप्रनका लागि नाइट्रोजन अत्यन्त आवश्यक छ । तर, गोबर मलमा (त्यो पनि एकदम गुणस्तरको भनिएको एक सय किलोग्राम मलमा) मुस्किलले पोइन्ट पाँच देखि एक किलोग्रामसम्म मात्र नाइट्रोजन तत्व पाइन्छ । वैज्ञानिक कृषि प्रणाली अनुसार एक टन धान उत्पादन गर्न करिब २० किलो नाइट्रोजन आवश्यक पर्दछ । त्यति नाइट्रोजन पु¥याउन गोबर मल कति चाहिएला ? अर्को कुरा गोबर मलमा हुने तत्वहरुलाई जोगाईराख्न पनि चुनौतीपूर्ण छ किनकि बढी उत्पादनका लागि आवश्यक मात्रामा चाहिने गोबर मल उत्पादन गर्न, त्यसको भण्डार गर्न, र त्यसलाई उत्पादन गरेको ठाउँबाट खेतमा प्रयोग गर्न लैजान एकातिर अति नै गाह्रो हुन्छ भने अर्कातिर मलमा भएका तत्वहरुको धेरै नोक्सान हुन्छ । गोबर मलबाट नाइट्रोजन तथा अन्य तत्वहरु उडेर तथा पानी पर्दा तथा सिंचाई गर्दा जमिन भित्र छिरेर जानाले पनि छिट्टै नोक्सान हुन्छन् । यी सबै तथ्यहरुले के बुझाउँछन भने यदि कृषकहरुले बढी उत्पादन गर्न चाहन्छन भने उचित मात्रामा रासायनिक मल नहाली हुँदैन ।
– रासायनिक मलले मान्छेको स्वास्थ्यमा असर गर्छ भन्छन् नि ?

यो सरासर गलत हो । यसमा कुनै वैज्ञानिक आधार छैन । रसायनिक मलले स्वास्थ्य बिग्रिने भन्ने कुरा अफवाह मात्र हो । एकदम धेरै मात्रामा रसायनिक मल तथा विषादी प्रयोग गर्यो भने अर्कै कुरा हो । तर, नेपालका अधिकांश कृषकहरुले ससानो क्षेत्रमा खेती गर्ने भएकाले स्वास्थ्यलाई नै हानी पुग्नेगरी विषादी र रसायनिक मल प्रयोग भइरहेको छ भन्ने कुरामा मलाई विश्वास छैन । केही कृषकहरुले व्यवसायिक प्रयोजनका लागि तरकारी खेतीे गर्दा स्वास्थ्यका लागि हानीकारक विषादीहरु प्रयोग गर्ने गरेको भए, त्यसलाई चाहीँ रोक्नुपर्छ । सिफारिश गरिएको मात्रामा हालिने विषादीले स्वास्थ्यमा हानी गर्दैन ।
– निष्कर्श के त ? विषादी र रासायनिक मललाई व्यवस्थित ढंगले प्रयोग गर्न सके बढी उत्पादन गर्न सकिन्छ र त्यो सुरक्षित पनि छ भन्ने हो ?
यसमा कुनै शंका छैन । मैले माथि नै भनिसकें । एक टन धान उत्पादन गर्न करिब २० किलो नाइट्रोजन चाहिन्छ । त्यसैले एक हेक्टर जमिनमा ५–६ टन धान उत्पादनका लागि एक सय देखि १ सय २० किलो नाइट्रोजन चाहिन्छ । यति नाइट्रोजन माटोको गुण र मलिलो पनाको आधारमा केही मात्रामा माटोबाट प्राप्त हुन्छ तर बाकी नाइट्रोजन बाह्य श्रोतबाट दिनुपर्दछ । यदी माटोमा मलिलोपन अति नै कम छ र सबै आवश्यक मल बाह्य श्रोतबाट दिनु परेमा रसायनिक तथा अग्र्यानिक मलबाट दिनुपर्ने हुन्छ । उदाहरणको लागि १२० किलो नाइट्रोजन दिनको लागि रसायनिक मल मात्र प्रयोग गर्ने हो भने २२० देखि २६५ किलो युरिया मल चाहिन्छ । तर, गोबर मल मात्र हाल्ने हो भने २० देखि २४ हज्जार किलोसम्म चाहिन्छ । यतिधेरै मल कहाँबाट प्राप्त हुन्छ ? त्यसका लागि धेरै नै गाईबस्तु पाल्न तथा अग्र्यानिक मलको प्रयोग गर्न आवश्यक पर्छ । यति धेरै गाईबस्तु पाल्नको लागि काम गर्ने धेरै मान्छेहरु आवश्यक पर्छन् र धेरै मात्रामा अग्र्यानिक मलको श्रोतको पनि आवश्यक पर्छ । हालको नेपालको कृषि र कृषकहरुको अवस्था देख्दा यि सबै असम्भव छन । त्यसैले धान तथा अन्य बालीबाट बढी उत्पादन पाउनका लागि आवश्यक तत्व पुर्याउन रासायनिक मल नहाली सुखै छैन । अग्र्यानिक मलले माटो राम्रो पार्ने कुरा सत्य हो तर रासायनिक मलले माटोलाई बिगार्छ भन्ने कुरा चाहीँ सत्य होइन । म १९ वर्षदेखि अष्ट्रेलियामा छु । यहाँ पनि तरकारी उत्पादनहरुमा अग्र्यानिक मल हाल्ने गरेको पाइन्छ । तर धेरै क्षेत्रफलमा लगाउने धान, मकै, गहुँ लगायतका खाद्यान्न बालीमा त यहाँ सबै रासायनिक मल नै हाल्छन् । गोबर मलको प्रयोग अति न्यून छ । तर, यसो भन्दैमा रासायनिक मलको गुणस्तरमा भने ध्यान दिनु आवश्यक छ । साथै अग्र्यानिक मल उपलब्ध छ भने त्यस्को पनि प्रयोग गर्नुपर्छ र बाकी आवश्यक मात्रा रासायनिक मलबाट प्राप्त गर्नुपर्छ ।
– नेपालका माटोहरुमा मरुभूमिकरण हुँदै गएको भन्ने गुनासाहरु पनि सुन्न पाइन्छ । तपाईं विज्ञको आँखाबाट हेर्दा यस्तो माटोलाई कसरी संरक्षण गर्न सकिएला ?
सबैभन्दा पहिला सिंचाईको व्यवस्था हुनुपर्छ । पानीको अभावमा झन् झन् माटो सुक्दै गएर त्यसमा रहेका तत्वहरु नष्ट हुँदै गएका छन् । त्यसैले सरकारले नीतिगत रुपमै सिंचाईको सुविधा बढाउनुपर्छ । किनभने मललाई सही रुपमा बालीले लिनका लागि बालीलाई पानीको आवश्यकता पर्दछ । मल र पानी दुबै अति आवश्यक हुन् । मलविना पानी मात्र हालेर हुँदैन र पानीविना मलमात्रै हालेर पनि हुँदैन । त्यसैले उन्नत जातको प्रयोग र मल र पानीको उचित व्यवस्था भयो भने निश्चित रुपमा बढी उत्पादन प्राप्त गर्न सकिन्छ र माटो पनि संरक्षण गर्न सकिन्छ ।
– तपाईंले कृषि विज्ञानमा हाँसिल गर्नुभएको विज्ञता नेपालमा कसरी प्रयोग गर्दै आउनुभएको छ ?
म विगत १९ वर्षदेखि अष्ट्रेलियामै छु । तर, यहाँ म जहाँ कार्यरत छु त्यसको प्रोजेक्ट क्षेत्र बंगलादेश, भारत र नेपालमा छ । त्यसैले हरेक वर्ष तीन चार पटक नेपाल गइनै रहन्छु । हरेकपल्ट जब म नेपाल जान्छु, मैले विगतमा पढाएको कृषि क्याम्पसहरुमा जाने गरेको छु र आफुले जानेका कुराहरु विद्यार्थी र शिक्षकहरुसँग शेयर गर्ने र तालिम दिने गरेको छु । यसदेखि बाहेक हाल नेपालको झापा र मोरङमा मेरो प्रोजेक्ट छ । त्यहाँ उन्नत जातको धान, मकै र गहुँको सम्बन्धमा करिब तीन सय कृषकहरुसँगै अनुसन्धान तथा परीक्षण सम्बन्धी काम गर्दैछु । उनीहरुलाई उन्नत जातको मल र पानीको प्रयोगका बारेमा जागरुक बनाउने काम गर्दैछु ।
– अन्त्यमा भन्नुपर्दा नेपालका कृषकहरुलाई खाद्यान्न बालीबाट बढी उत्पादन तथा फाइदा पाउनका लागि सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?
यस प्रश्नको उत्तर दिनका लागि त्यति सजिलो तथा छिटटै दिन नसकिएपनि मुख्यरुपले भन्नुपर्दा देशभरिनै सिंचाईको सुविधा बढाइनुपर्दछ । कृषकहरुलाई उचित मात्रामा र नियमित रुपले रसायनिक मलको व्यवस्था गरिनु पर्दछ । प्रांगारिक मलको प्रयोग बढाउनका लागि गाईबस्तु तथा कुखुरा पालनलाई पनि प्राथमिकता दिनुपर्दछ । उन्नत जातका बिउहरुको व्यवस्था मिलाउनु पर्दछ । कृषिमा यन्त्रीकरणलाई प्राथमिकता दिनुपर्दछ । कृषकहरुलाइ बैज्ञानिक ढंगले खेति गर्ने सम्बन्धी तालिमहरु दिनुपर्दछ । यी सबैका लागि कृषि शिक्षा, अनुसन्धान तथा कृषि प्रशारणलाई प्राथमिकता दिनुपर्दछ । अनि नीति निर्माण गर्नेहरुले राम्रो भिजनका साथ निस्वार्थ रुपमा काम गर्नुपर्दछ ।
















प्रतिक्रिया