काठमाडौं, १७ जेठ । स्थानीय चाहना बमोजिम पूर्वमन्त्री पद्मसुन्दर लावतीको सालिक उहाँको गाउँ यासोकमा स्थापना गरिने भएको छ । पूर्ण कदको ६ फिट अग्लो सालिक, लावतीको निधनको पहिलो वार्षिकी, जेठ २७ गते अनावरण गरिने तय भएको छ ।
‘सालिक स्थापनाका लागि निर्माण कार्य जारी छ । अहिले यासोक बजारको केन्द्र भागमा सालिक राख्ने स्तम्भको निर्माण भइरहेको छ । स्वर्गीय पद्मसुन्दर लावतीले साठी वर्ष लामो राजनीतिक जीवनमा देश र जनताको हितमा गर्नुभएको योगदानको कदर गर्ने प्रयास हो यो,’ लाओती पापोहाङ संयङका अध्यक्ष जगतजंग लावती बताउछन् ।
लावतीहरुको जातीय संस्था लाओती पापोहाङ संयङले सालिक निर्माणको संयोजन गरीरहेको छ । यस अघि यासोकमा राजनीतिक दल, संघ संस्था लगायतको सर्वपक्षीय भेलाले यासोक बजारमा सालिक स्थापना गर्ने निर्णय गरेको थियो । यासोक बजार स्थापना गर्नमा नेता लावतीको निर्णायक भूमिका रहेको थियो ।
सयङका निवर्तमान अध्यक्ष पूर्णमान लावतीको भनाइमा, वरीष्ठ राजनीतिज्ञ लावती राष्ट्रको सम्पति भएको कारण उहाँको सम्मानमा उहाँकै गाउँमा सालिक बनाउने निर्णय गरिएको हो ।
राजनीतिक जीवनको क्रममा लावतीले गृह, स्वास्थ्य, सामान्य प्रशासन, उद्योग, वाणिज्य, कृषि, सुचना संचार, भूमीसुधार लगायतका मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो । जनतामा लोकप्रिय लावतीले पाँचथर जिल्लाको निर्वाचित प्रतिनिधि भएर संसदमा २५ वर्ष जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
सिक्कीमको चार धाममा राखिएको यलम्बर, सिलगडी मूल चोकमा राखिएको विवेकानन्द जस्ता असंख्यौं प्रतिमा निर्माण गर्ने सिलगढीका सिद्धहस्त कारीगारले लावतीको सालिक निर्माण गरेका हुन् ।
संयङका सचिव देवेन्द्र लावतीको संयोजकत्वमा रहेको सालिक निर्माण समितिले निर्माण कार्यको दैनिक रेखदेख गरिरहेको छ । सालिक निर्माणकै लागि पापोहाङ लाओती सयङ हङकङले सहयोग रकम उपलब्ध गराइसकेको छ ।
प्राज्ञ वैरागी काइँलाले लावतीको जीवनी, ‘मेरो देश, मेरो परिवेश’को विमोचनको क्रममा व्यक्त शुभकामनामा भन्नुभएको छ, ‘पूर्वाञ्चलमा विशेषतः पाँचथर जिल्लाको विकासको पूर्वाधार निर्माणकर्ताका रुपमा पक्ष विपक्ष सबैले उहाँलाई संझछन् ।’
प्राज्ञ काइँलाका अनुसार, ‘पूर्वाञ्चल नेपालको विशेषतः पल्लोकिराँत लिम्बुवानमा वि.सं. २०२० सालपछि पद्मसुन्दर लावतीझैं प्रभावशाली, सक्रिय र कार्यकर्ताबीच लोकप्रिय तथा विपक्षीबीच विवादस्पद तर सम्मानित राजनीतिक व्यक्तित्व अर्को भएका छैनन् आजसम्म ।’
सिलौटीमा पनि सालिक
नेता लावतीको सालिक यासोकमा मात्र नभएर, महागुरु फाल्गुनन्दको समाधि रहेको पाँचथरको ऐतिहासिक सिलौटीमा समेत निर्माण गरिने भएको छ ।
महागुरु फाल्गुनन्द अध्ययन तथा संरक्षण प्रतिष्ठानको संयोजनमा सिलौटीमा सालिक स्थापना गरिनेछ । लावती सो प्रतिष्ठानका संस्थापक संरक्षक थिए । महागुरु फाल्गुनन्दको समाधीस्थल रहेको पवित्र भूमी सिलौटीमा नेता लावतीको अर्ध कदको सालिक स्थापना गरिने योजना छ ।
‘राष्ट्रिय व्यक्तित्व पद्मसुन्दर लावतीको सालिक स्थापना हुनुपर्छ भन्ने आम धारणा छ । यस पवित्र कार्यमा देश विदेशमा रहेका आम शुभचिन्तकहरुको सहयोग रहनेछ,’ सालिक निर्माणका लागि अन्तर्राष्ट्रिय संयोजन गरीरहेका उत्तम थाम्सहाङ बताउछन् ।
सिलौटीमा राखिने सालिक यासोकको कार्यक्रमपछि अनावरण गरिनेछ ।












प्रतिक्रिया