– हेमन्त पौडेल
धनगढी, १६ जेठ । मालपोत कार्यालय कैलालीका निमित्त प्रमुख मनोहर श्रेष्ठको मिलेमतोमा भ्रष्टाचार हुने गरेको खुलेको छ ।
सेवाग्राहीबाट अनावश्यक रकम असुल गर्दै आएको चर्चा चलिरहेको बेला शुक्रवार मालपोत कार्यालयका नि.प्रमुख श्रेष्ठ, फाँटका कर्मचारी र लेखनदासहरुको मिलेमतोमा भ्रष्टाचार हुने गरेको खुलेको हो ।
मालपोत कार्यालयमा जग्गाको कारोबार गर्ने सेवा ग्राहीलाई झुक्याएर रकम असुल्ने गरेको तथ्य बाहिर आएको छ ।
मालपोत कार्यालयका कर्मचारीहरुले केही सेवाग्राहीहरुलाई झुक्याएर नगरपालिका तथा गाविसमा हुने घर बाटो प्रमाणित सिफारिसको काम पनि आफै गरेर रकम असुल्ने गरेका छन् । जुन काम मालपोत कार्यालयले गर्न मिल्दैन ।
घर बाटो सिफारिसका लागि सम्बन्धित क्षेत्रका नगरपालिका, नगर विकास वा गाविसले सिफारिस गर्नुपर्छ । तर, नगरपालिकाका कर्मचारी र लेखापढी व्यवसायीहरुको मिलेमतोमा सेवाग्राहीबाट रकम असुल्ने काम भइरहेको छ । मिलेमतोमा सेवाग्राहीबाट लिइने रकमको रसिद पनि दिइँदैन ।
मालपोत स्रोतका अनुसार मालपोतका कर्मचारीहरुले लिखत गर्ने लेखापढी व्यवसायीलाई सेवाग्राहीबाट रकम माग्न लगाउने गर्छन् । यसरी लिइने रकमको कुनै पनि रसिद सेवाग्राहीलाई नदिइने गरेको स्रोतले बतायो ।
एकहजारदेखि एक हजार पाँचसय रुपैयाँसम्म रकम असुल्ने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । कञ्चनपुरका नवराज रानाले दुई दिनअघि आफुले मालपोतमा आएर जग्गा पास गरेपनि कुनै गाविस र नगरपालिकाको सिफारिस नलिएको बताउनुभयो । ‘जग्गाको राजस्व तिर्दा थप १ हजार ५ सय माग्यो’ उहाँले भन्नुभयो–‘मेरो काम भइहाल्यो, कुनै सिफारिस मागेन ।’
यसबारेमा आफुलाई पनि कुनै जानकारी नै नभएको उहाँले बताउनुभयो । रानाका अनुसार लेखापढी व्यवसायीले पनि अगाडि नै उहाँलाई नगरपालिका जानुपर्दैन रकम यतै तिरे हुन्छ भनेका थिए ।
जग्गा पास गर्ने सबैको नभई केहीको मात्रै यसरी रकम लिइने गरिएको स्रोतले बतायो । कर्मचारीहरुले लेखापढी व्यवसायीको संयोजनामा सेवाग्राहीहरुबाट रकम लिने गरेका छन् । यस्तो काम प्रायः विहानी समयमा हुने गर्छ । धनगढी उप–उपमहानगरपालिकाको कार्यालय १० वजेपछि मात्रै खुल्ने भएकाले पनि यस्ताखाले क्रियाकलाप विहानै हुने गरेको सेवाग्राहीले बताएका छन् ।
अत्तरियाका बलबहादुर बुढाले पनि केही दिनअघि मालपोत कार्यलयमा जग्गा पास गरेपनि उप–महानगरपालिकाको कार्यालयमा गएर कुनै पनि सिफारिस नल्याएको बताउनुभयो । उहाँले नगरपालिकामा हुने काम यहि हुन्छ भनेपछि मालपोतमै एक हजार रुपैयाँ तिरेर जग्गा पास गरेको बताउनुभयो । उहाँलाई पनि मालपोतका कर्मचारीहरुले रकम तिरेको रसिद दिएनन् । मालपोतका एक कर्मचारीले पनि सम्बन्धित क्षेत्रको जग्गाको घर बाटोको बारेमा कर्मचारीलाई थाहा भएर पनि सिफारिसका लागि नगरपालिका वा गाविस नपठाएको हुन सक्ने बताउनुभयो ।
यस कार्यमा स्वयम जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख मनोहर श्रेष्ठ संलग्न रहनुभएको छ । यसरी रकम असुल हुने कार्यालयको कोठा नम्बर १२ मा श्रेष्ठ लगायत अन्य दुई जना कर्मचारी पनि बस्नुहुन्छ । कार्यालय प्रमुख तालिमको सिलसिलामा डेढ महिनादेखि काठमाण्डौमा रहनुभएको छ । निमित्त प्रमुख तथा मालपोत अधिकृत मनोहर श्रेष्ठले भने मालपोत कार्यालयले सेवाग्राहीबाट यसरी रकम लिने गरेको गुनासोलाई अस्विकार गर्नुभएको छ ।
उहाँले घर बाटो प्रमाणित सिफारिसको काम सम्बन्धित नगरपालिका, गाविस वा नगरविकास समितिले गर्दै आएको बताउनुभयो । तर, उहाँले कहिले काँही भएको पनि हुनसक्छ भनेर अल्मलिएर जवाफ दिनुभयो । उता प्रमुख जिल्ला अधिकारी अब्दुलकलाम खाँलाई सम्पर्क गर्दा यसबारेमा आफूलाई कुने जानकारी नभएको र के भएको हो बुझ्ने बताउनुभयो ।












प्रतिक्रिया