१८ कार्तिक २०८३, बुधबार

लागूऔषध मुद्धामा प्रहरीको मनपरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देहीका प्रहरी अधिकारी
रुपन्देहीका प्रहरी अधिकारी

– नरेश केसी
भैरहवा, १६ जेठ । लागूऔषध मुद्दामा अधिकतम ९० दिन प्रहरी हिरासतमा राखी अनुसन्धान गर्ने प्रहरीलाई कानुनी अधिकार छ ।

यो गम्भिर प्रकृतिको मुद्दा भएको हुँदा यति धेरै समय पनि प्रदान गरिएको हो तर रुपन्देही प्रहरीले लागूऔषध मुद्दामा पक्राउ परेकाहरुको सम्बन्धमा विभेद गर्ने गरेको तथ्य बाहिर आएको छ ।

प्रहरीले दबाब र प्रभावका आधारमा लागूऔषध मुद्दाका अभियुक्तहरुको फाइल छिटो वा ढिलो अगाडी बढाउने गरेको देखिएकोछ । २०७२ साउन १ गतेदेखी अहिले यो समाचार तयार पार्दा सम्म रुपन्देही प्रहरीमा अढाई सय भन्दा बढी लागूऔषधका मुद्दा दर्ता भए । जसमध्ये केही बाहेक अधिकांशको ४० दिनभन्दा बढी प्रहरी हिरासतमा र कयौंको त ९० दिन मै प्रहरी हिरासतमा बसेपछि मुद्दा अदालतमा पेश गर्ने गरेको देखिएको छ । तर प्रभाव र दबाबको कारण सायदै रुपन्देही प्रहरीको इतिहांसमा ७ सय मिलीग्राम ब्राउन सुगर सहित पक्राउ परेका लहान नगरपालिका वडा नम्बर ८ सिराहाका समित कार्की १५ दिनमै छुट्न सफल भएका छन् ।

२४ वर्षिय कार्कीलाई ७ सय मिलिग्राम ब्राउन सुगर सहित लागूऔषध नियन्त्रण ब्यूरो भैरहवा शाखाका प्रहरी हवल्दार प्रभु कहांरको टोलीले बेलहियाबाट चैत्र १५ गते नियन्त्रणमा लिई थप अनुसन्धान र कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको थियो । १५ गते जिप्रका रुपन्देहीमा पेश भएका कार्कीसँग बरामदित लागूऔषधको आधिकारिकता परिक्षणकोलागी चैत्र १७ गते विद्यी विज्ञान प्रयोगशाला केन्द्र महाराजगन्ज काठमाण्डौंमा पठाइयो । चैत्र १९ गते केन्द्रले हिरोइन भनेर प्रमाणित गरेर पठायो ।

त्यसपछि कार्की विरुद्ध जिल्ला अदालत रुपन्देहीमा लागूऔषध सेवन १४ (ङ) को दफा अनुसार मुद्धा चल्यो । लगत्तै चैत्र ३० गते अदालतको आदेश अनुसार १० हजार जरिवाना र १५ दिन कैद हुनेगरी कार्कीको मुद्धा फैसला भयो । फैसला गर्दा प्रतिवेदकसंग अदालतले सोधपुछ गर्ने नियम नै हुन्छ तर यो मुद्दामा प्रतिवेदक नै खोजिएन । सधैं कछुवा गतिमा हुने प्रहरी अनुसन्धान यो मुद्दामा प्रहरी खरायो गतिमा भएको देखिन्छ । प्रहरीले त्यति छिटो अनुसन्धानगरी फाईल पठाउदा सरकारी वकिल समेत आश्चर्यचकित भएका थिए । कार्की नेपाल सरकारको छात्रवृतिमा अध्ययन गर्ने मेडिकल विधाका विद्यार्थी समेत रहेको बुझिएको छ ।

उनी अध्ययनरत कलेज युसीएमएस भैरहवालाई समेत अदालतले होस्टलमा बस्ने विद्यार्थीले कहाँ र कसरी लागूऔषध सेवन गरे भनी स्पष्टीकरण सोधेको छ । कलेजका जनसम्पर्क अधिकृत शुशील गुरुङले अदालते सोधनी गरे अनुसार जवाफ लिखित रुपमै दिएको जनाउदै भने “उ हाम्रो विद्यार्थी रहेछ । लागूऔषध प्रयोग कर्ता भएको थाहा भएपछि हामीले उसलाई कारबाही गरिसक्यौं ।”

यो मुद्दामा कार्कीका बुबा गोविन्द कार्की छोरा पक्राउ परेपछि आफै रुपन्देही आएर अनुसन्धानकर्ता र प्रहरीलाई आर्थिक प्रभावमा पारेर फाइल छिटो अगाडी बढाएको तथा अन्य प्रक्रिया पनि सामान्य समय भन्दा छिटो गराएको स्रोतले जनाएको छ । रुपन्देही प्रहरीको इतिहासमा सायदै यति छोटो समयमा लागूऔषध मुद्दा टुंगिएछ नी भनी हामीले रुपन्देही प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीलाई जिज्ञासा राख्दा उनले भने “कार्कीको मुद्दा छिट्टै टुंगियो । यसो हुनुमा रिर्पोट छिटो आएर पनि हो ।”

प्रहरीले कसैलाई ९० दिन हिरासतमा राखेर मात्र अदालत पेश गर्ने अनि कसैलाई १५ दिनमै अदालतमा पेश गर्ने यो त विभेद भएन र, भनी हामीले अर्को प्रश्न राख्दा डिएसपी कार्कीले प्रहरीको नजरमा सबै अभियुक्त बराबर भएको र कहिलेकाहीं छिटो चाँडो हुनेगरेको जवाफ दिए ।

रुपन्देही प्रहरीको हिरासतमा ८० प्रतिशत भन्दा बढी लागूऔषध मुद्दाका अभियुक्तहरु रहेका छन् । रुपन्देही लागूऔषध प्रयोगकर्ताको लागी मुख्य ट्रान्जिट प्वाइट बनेको छ । खुल्ला सिमानाको फाइदा उठाउँदै पछिल्लो समय लागूऔषध प्रयोगकर्ता र ओसापसार कर्ताले भैरहवालाई सुरक्षित केन्द्र ठानी कारोबार पनि गरिरहेका छन् ।

१८ वर्षदेखी ३० वर्ष उमेर समुहका युवा युवतीहरु मध्ये ८५ प्रतिशत प्रयोगकर्ताको रुपमा पक्राउ परेको प्रहरीको तथ्यांकले देखाउंछ । आधुनिक जीवन शैली, देखासिकी, आमाबुबाको आफ्ना सन्तानहरुप्रति नियन्त्रण नहुनु, आराम हुन्छ भन्ने भ्रमका कारण युवा युवतीहरु लागूऔषधमा फस्ने गरेकाछन् ।

खुल्ला सीमाना, सीमावर्ती बजारमा सहजै लागूऔषध पाउनाले लागूऔषध प्रयोगकर्ताले बेलहिया सुनौलीलाई रोज्ने गरेको बुझिन्छ । प्रहरीस्रोतका अनुसार राम्रो पढेलेखेका, राम्रा घरानाका मानिसहरु पनि लागूऔषधको शिकार भएको र यस क्षेत्रमा आउने प्रयोगकर्ता बढी भएको बताइएको छ । प्रयोगकर्ताले प्रयोग गरेपश्चात केही ग्राम बिक्री गर्ने उद्देश्यले पनि लाने गरेको बुझिएकोछ । रुपन्देही, नवलपरासी, कपिलवस्तुका अतिरिक्त पोखरा ,बाग्लुंग, नारायणगढ, काठमाण्डौं, स्याङ्जा, तनहुँ सम्मका मानिसहरु बेलहिया नाकाहुदैं सीमावर्ती भारतीय बजार सुनौलीमा लागूऔषध प्रयोग गर्न तथा खरिद गर्न जाने गरेको देखिन्छ ।

रुपन्देहीमा दर्जनौ लागूऔषध पुर्नस्थापना केन्द्र भएता पनि तिनीहरुको प्रभाव खासै नपरेको पनि देखिन्छ । समाजशास्त्री उमेशचन्द्र रिजालका अनुसार रिह्याब सेन्टरले केबल व्यापार मात्रै गर्ने गरेको बताउंछन् । रिजालका अनुसार भैरहवामा मात्रै दर्जनौ पुर्नस्थापना केन्द्र छन् तीनको काम भनेको लागूऔषध प्रयोगकर्तालाई समाउने, उनीहरुसंग मोटो रकम असुल्ने तर दिर्घकालीन रुपमा उपचार गर्न तिर ध्यान नदिने रहेकोछ । केही वर्ष पहिले रुपन्देही प्रहरीको अगाडी सीमावर्ती भारतीय प्रहरीले सुनौलीका औषधी पसलमा चेकजांच गरी ४ वटा औषधी पसललाई सिज पनि गरेको थियो ।