९ कार्तिक २०८३, सोमबार

पत्नी शैलीद्वारा राजेन्द्र महतोका गोप्य कुरा सार्वजनिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shaili Mahatoकाठमाडौं, १५ जेठ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पटक–पटक सांसद र मन्त्री भए । पछिल्लो संविधानसभा चुनावमा गृहजिल्ला सर्लाहीबाट उम्मेदवार बनेका उनी पराजित भए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तर, पत्नी शैली महतोलाई समानुपातिकतर्फबाट सभासद् बनाएपछि उनको आलोचना भयो । मिडिया फ्रेन्ड्ली नेता महतो आक्रामक अभिव्यक्तिका कारण वेला–वेलामा विवादमा पनि पर्छन् ।

१. तपाईंहरूको बिहे कहिले भएको हो ?

२०३७ साल असार १० गते भएको हो ।

२. प्रेम विवाह कि मागी विवाह ?

मागी विवाह हो ।

३. तपाईंको माइती कुन ठाउँ हो ?

सर्लाहीकै पारि भारतको सीतामणि हो माइती ।

४. एक–अर्कालाई हेरेर बिहे गर्नुभयो कि अभिभावकले नै टुंगो लगाइदिनुभयो ?

मेरा ससुरा र बुबाले कुरा गर्नुभयो । उहाँहरूले नै बिहेको टुंगो लगाउनुभयो ।

५. तपाईंलाई सोध्नु नै भएन ?

आमाले ‘यस्तो केटा छ, बिहे गरिदिन लागेका छौँ,’ भन्नुभयो । मेरो उमेर नै बुझ्ने खालको भएको थिएन, १४ वर्षकी मात्रै थिएँ । मैले पनि ‘हुन्छ’ भनिदिएँ ।

६. बिहेअघि एक–अर्कालाई हेर्न पनि पाउनुभएन ?

एकैपटक बिहेमा एक–अर्कालाई देखेका हौँ । उहाँ सर्लाहीबाट जन्ती लिएर सीतामणि आउनुभयो । चार सय त जन्ती थिए । हाम्रोमा फेरि बिहे चार दिन हुन्थ्यो ।

७. दुईजनाबीच पहिलो बोलचालमा के कुरा भयो, अहिले सम्झिनुहुन्छ ?

चौथो दिन मलाई (दुलही) लिएर जन्ती घर फर्किंदै थियो, गाडीमा मलाई उल्टी (भमिट) भयो । त्यतिखेर उहाँले मेरो एकदमै ख्याल गर्नुभयो । ‘कस्तो छ अहिले’ भनेर सोध्नुभयो । सायद, हामीबीच भएको पहिलो बोलचाल त्यही हो ।

८. दाइजोमा कति सम्पत्ति ल्याउनुभयो ?

८–१० तोला सुनका गहना थिए । मेरो घरबाट उहाँलाई अलिकति नगद पनि दिनुभएजस्तो लाग्छ ।

९. बुहारी बनेर नेपाल भित्रिनुभयो, घरपरिवार र छिमेकीहरूले ‘नयाँ बुहारी’ हेरेर कस्तो प्रतिक्रिया जनाए ?

नयाँ दुलही आउँदा ‘कस्ती रहिछे’ भनेर गाउँभरिका महिलाहरू हेर्न आइहाल्छन् नि । उनीहरूमध्ये केहीले मेरा ससुरासँग ‘दाइजो बढी ल्यायो, केटी राम्रो ल्याएन’ भनेको सुनेँ (हाँसो) । चार–पाँच दिन घर बसेर म ६ महिना माइतीमै बसेँ ।

१०. त्यसबीचमा दुईजनाको भेटघाट हुन्थ्यो कि हुँदैनथ्यो ?

भएन । एकपल्ट सीतामणिमा भेट्ने कुरा भएको थियो तर, उहाँ आउन पाउनुभएन । टेलिफोनमा कुरा हुन्थ्यो, उहाँले चिठी, कार्डहरू पठाउनुहुन्थ्यो ।

११. चिठीहरूमा सायरी कत्तिको लेख्नुहुन्थ्यो ?

लेखेको हुन्थ्यो नि । तर, अहिले ठ्याक्कै याद छैन । कहिलेकाहीँ मेरा साथीहरूको हातमा पथ्र्यो, उनीहरूले जिस्क्याउँथे ।

१२. बिहान कति बजे उठ्नुहुन्छ ?

हरेक दिन पाँच बजे उठ्नुहुन्छ, यो उहाँको रुटिन नै हो ।

१३. चिया–कफी के रुचाउनुहुन्छ ?

बिहान खाली पेट केही पनि खानुहुन्न । ब्रेकफास्ट गरेपछि मात्रै चिनी नराखेको दूधचिया खानुहुन्छ ।

१४. एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?

गर्नुहुन्छ नि । बिहान आधा घन्टा घरको छतमा कुद्नुहुन्छ । पहिला त बाहिर नै जानुहुन्थ्यो, अचेल छतमै कुद्नुहुन्छ ।

१५. योगा पनि गर्नुहुन्छ ?

गर्नुहुन्छ । छतमा कुदिसकेपछि कोठामा आएर रामदेवको योगा गर्नुहुन्छ । करिब आधा घन्टा अनुलोमविलोम, कपालभाँतीलगायतका आशन गर्नुहुन्छ ।

१६. कहिलेदेखि गर्न थाल्नुभएको ?

पहिलेदेखि नै हो । काठमाडौंमा हुँदा कहिल्यै छुटाउनुहुन्न । जिल्लामा भएका वेला भने बिहानैदेखि कार्यकर्ता भेटघाटमा व्यस्त बन्नुहुन्छ ।

१७. साँझमा पनि एक्सरसाइज गर्नुहुन्छ ?

साँझमा त गर्नुहुन्न ।

१८. राति कतिखेर सुत्नुहुन्छ ?

९–१० बजेसम्म सुतिसक्नुहुन्छ ।

१९. सुत्नुअघि केही खाने बानी छ ?

छैन ।

२०. बिहानको खाजामा के लिनुहुन्छ ?

कहिले केही, कहिले केही लिनुहुन्छ । प्राय: ओट, स्याउ, उसिनेको अन्डा, ब्रेड, कन्फ्लेक्स लिनुहुन्छ ।

२१. खानामा के मन पराउनुहुन्छ ?

उसिनेको चामलको भात, दाल, तरकारी, भुजिया, दही खानुहुन्छ ।

२२. माछामासु नि ?

माछा एकदमै मन पराउनुहुन्छ । तर, खानामा नभइहुन्न भन्ने हुँदैन । मटन उहाँले रुचाउनुहुन्न । चिकनमा पनि खासै रुचि देखाउनुहुन्न ।

२३. दिउँसो खाजा के खानुहुन्छ ?

बाहिर हुनुभयो भने त्यही चिया, बिस्कुट खानुहुन्छ । नत्र प्राय: खाजा खाने वेला घरमै आउनुहुन्छ । चामलको रोटी, मकैको रोटी, भुटेको चिउरा, उसिनेको मकै आदि खान्छौँ ।

२४. रातिको खानामा के रुचाउनुहुन्छ ?

रातिमा रोटी, तरकारी, दूध खानुहुन्छ ।

Rajendra Mahato२५. खानामा कमेन्ट गर्ने स्वभाव कत्तिको छ ?

उहाँ खानाको एकदम सौखिन हुनुहुन्छ । खाना मीठो भएन भने ‘के पकाएको यस्तो’ भनेर गाली गर्नुहुन्छ । खानामा दुई–तीन प्रकारको तरकारी चाहिन्छ उहाँलाई ।

२६. खाना कसले पकाउँछ ?

पकाउने स्टाफ पनि छ । तर, विशेष बनाउनुपर्‍यो, घरमा पाहुना आएका छन् भने म आफैँ पनि पकाउँछु ।

२७. कसले पकाएको धेरै मीठो मान्नुहुन्छ ?

मैले पकाएको मीठो मान्नुहुन्छ नि ।

२८. कहिलेकाहीँ आफैँ किचनमा पस्नुहुन्छ कि पस्नुहुन्न ?

पहिला–पहिला पस्नुहुन्थ्यो । अचेल त पस्नुहुन्न ।

२९. आफैँ खाना पकाउन कति रुचि देखाउनुहुन्छ ?

कहाँ खाना पकाउन रुचि देखाउनु ? केही गर्नुहुन्न । पहिला–पहिला किचनमा पस्दा तरकारीहरू चलाएर सघाउनुहुन्थ्यो, अचेल त्यो पनि भ्याउनुहुन्न ।

३०. खाना पकाउन आउँछ कि आउँदैन उहाँलाई ?

आउन त आउँछ, दालभात–तरकारी बनाउन । पहिला छोराछोरी साना हुँदा, म बिरामी हुँदा पकाउनु पनि हुन्थ्यो ।

३१. उहाँले पकाएको तपाईंले खान नपाएको कति भयो ?

धेरै भयो नि । २० वर्ष नै भयो होला ।

३२. कहिलेकाहीँ पकाएर खुवाउन भन्नुहुन्न ?

भन्दिनँ । उहाँलाई फुर्सद पनि हुन्न ।

३३. तपाईंले पकाएको सबैभन्दा मीठो कुन परिकार मान्नुहुन्छ ?

दालभात, तरकारी, तरुवा (पकौडा) मीठो मान्नुहुन्छ । हाम्रो मिथिलाको सबैभन्दा मीठो परिकार नै त्यही हो ।

३४. आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ?

सचेत नै हुनुहुन्छ । तर, उहाँले लगाउने लुगा एकै प्रकारका हुन्छन् । प्राय: धोती–कुर्ता, कुर्ता–पाइजामा नै लगाउनुहुन्छ ।

३५. के लगाउन रुचाउनुहुन्छ ?

पहिला त पाइन्ट–सर्ट लगाउनुहुन्थ्यो । अचेल धोती–कुर्ता लगाउन मन पराउनुहुन्छ ।

३६. तपाईंले चाहिँ कस्तो लुगामा उहाँलाई राम्रो देख्नुहुन्छ ?

सुरुमा मैले उहाँसँग ‘धोती नलगाउनुस्’ भभन्थेँ । धोती उहाँको खुट्टामा अल्झिन्थ्यो । तर, अचेल मैले पनि धोती–कुर्तामै राम्रो देख्छु । जाडोमा प्रिन सुट लगाउनुहुन्छ । त्यसमा पनि स्मार्ट देखिनुहुन्छ ।

३७. लुगामा आइरन गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ?

जान्नुहुन्छ ।

३८. आफैँ लगाउनुहुन्छ आइरन ?

पहिला–पहिला त लगाउनुहुन्थ्यो । अचेल लगाइदिनुपर्छ ।

३९. आफ्नो लुगा आफैँ किन्नुहुन्छ कि अरूले किनिदिनुपर्छ ?

आफैँले किन्नुहुन्छ । कहिलेकाहीँ सपिङ गर्न म पनि सँगै जान्छु ।

४०. कुन ब्रान्डका लुगा मन पराउनुहुन्छ ?

उहाँको ब्रान्ड एउटै छ । लुगा खादीको, चप्पल बाटाको ।

४१. सहयोगी कत्तिको हुनुुहुन्छ ?

सहयोगी त हुनुहुन्छ । पहिला–पहिला त मेरो लुगामा पनि आइरन लगाइदिनुहुन्थ्यो, बिहे गरेका सुरुका वर्षमा मलाई लुगा धुनसमेत आउँदैनथ्यो । लुगा धुन पनि सघाउनुहुन्थ्यो ।

४२. अनि, अचेल ?

अचेल त साह्रै अल्छी हुनुभएको छ । पानी खान मन लाग्यो भने पनि अह्राउनुपर्छ, अगाडि ल्याइदिनुपर्छ । आफैँ किचनमा गएर फिल्टरबाट गिलासमा राखेरसमेत खानुहुन्न ।

४३. त्यति अल्छी गरेपछि कराउनुहुन्न तपाईं ?

कराउँछु नि । तर, माने पो, ‘अब मेरो त्यत्ति काम छ’ भन्नुहुन्छ ।

४४. आफ्नो आम्दानी तपाईंलाई दिनुहुन्छ कि आफैँ राख्नुहुन्छ ?

कहाँ मलाई दिनु ? सबै आफैँ राख्नुहुन्छ ।

४५. तपाईंलाई कत्ति पनि दिनुहुन्न ?

दिनुहुन्न ।

४६. घरखर्च त दिनुहुन्छ होला नि ?

सटरहरू भाडामा लगाएका छौँ । ‘त्यही भाडाबाट आएको पैसाले चला’ भन्नुहुन्छ । बरु, वेला–वेलामा त्यसको पनि हिसाब माग्नुहुन्छ । वेला–वेलामा त्यही विषयमा झगडा नै पर्छ नि ।

४७. के भन्नुहुन्छ र ?

‘त्यत्रो पैसा के–केमा खर्च भयो र’ भन्नुहुन्छ । मलाई रिस उठ्छ ।

४८. तपाईं पनि सभासद् हुनुहुन्छ, तपाईंको तलब आफैँ राख्नुहुन्छ कि त्यो पनि उहाँलाई दिनुहुन्छ ?

मेरो तलब त मैले अहिलेसम्म देख्न नै पाएको छैन । गाडी किन्नुभएको छ, त्यसैको किस्तामा जान्छ सबै । अझ, बरु वेला–वेलामा मसँग उल्टै पैसा माग्नुहुन्छ पछि फिर्ता गर्छु भनेर, तर फिर्ता गर्नुहुन्न ।

४९. फिर्ता गर्न भन्नुहुन्न ?

भन्छु नि । तर, लिने वेला लिइहाल्नुहुन्छ, दिने वेला दिनुहुन्न । त्यही एक मात्र नराम्रो बानी छ उहाँको । झगडा हुन्छ यही विषयमा ।

५०. कति चलाउनुभएको छ तपाईंको पैसा ?

धेरै त होइन । कहिलेकाहीँ मागेको २५ हजार, ५० हजार पनि फिर्ता गर्नुहुन्न ।

५१. त्यति मात्रै ?

मेरो दाइजोमा आएका गहनाहरू नयाँ मोडलको बनाउँछु भनेर एक वर्षअघि बेचेकी थिएँ । त्यो पैसा पनि उहाँले नै चलाउनुभएको छ । ‘खै त नयाँ गहना किनिदिएको’ भन्छु । ‘अब बनाइदिउँला’ भन्नुहुन्छ ।

५२. उहाँको खर्च केमा हुन्छ ?

त्यही पार्टी र कार्यकर्तामा त हो नि ।

५३. पैसाको बारेमा बूढाबूढीबीच किचलो कत्तिको हुन्छ ?

हुन्छ, वेला–वेलामा । तर, धेरै ठूलो होइन ।

५४. सिनेमा हेर्न कति मन पराउनुहुन्छ ?

पहिला–पहिला त खुब हेरिन्थ्यो, उहाँले मन पनि पराउनुहुन्थ्यो । हरेक शनिबार हामी सिनेमा हेर्न हलमा जान्थ्यौँ । अचेल नगएको पनि वर्षौँ भइसक्यो ।

५५. कति भयो दुईजना सँगै सिनेमा नहेरेको ?

धेरै भयो नि । हाम्रो बिहे भएका सुरुका वर्षहरूमा उहाँ अन्नपूर्ण ट्राभल्समा काम गर्नुहुन्थ्यो । त्यतिवेला हो, हप्ताको एक दिन सिनेमा हेर्न जान्थ्यौँ । उहाँ राजनीतिमा आएपछि हलमा जाने क्रम छुट्यो ।

५६. कस्ता फिल्म रुचाउनुहुन्छ ?

पहिला त जुनसुकै पनि मन पराउनुहुन्थ्यो । पछिल्लो समयमा राजनीतिक विषयवस्तु भएका सिनेमा मन पराउनुहुन्छ ।

५७. टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ?

हेर्नुहुन्न । दुई–चारवटा सिरियल म हेर्छु । मलाई पनि गाली गर्नुहुन्छ । ‘यो हेरेर के पाइन्छ ? समाचार हेर, दुई–चार कुरा थाहा हुन्छ’ भन्नुहुन्छ ।

५८. गीत कत्तिको सुन्नुहुन्छ ?

सुन्नुहुन्छ । पहिला–पहिला त घरमा कबिराका गीतहरू टेपमा खुब घन्काइन्थ्यो ।

५९. कस्ता गीत रुचाउनुहुन्छ ?

पुराना गीत, गजल सुन्न मन पराउनुहुन्छ ।

६०. आफू चुनावमा हारेपछि श्रीमतीलाई सभासद् बनायो भन्ने आरोप छ नि उहाँमाथि ?

त्यही त । कहिलेकाहीँ त कुरा नबुझेरै यस्तो भनेको देख्दा मलाई दिक्क लाग्छ । म गजेन्द्रनारायणजी हुँदादेखि नै पार्टीमा लागेकी हुँ । उहाँकी पत्नी भएकै कारण मैले अवसर पाउनुहुन्न भन्ने हुन्छ र ? त्यसमाथि मलाई सभासद् उहाँले इच्छाले बनाएको होइन ।

६१. अनि, कसरी बन्नुभयो त ?

मैले कति जिद्दी गरेँ, लडाइँ नै लड्नुपर्‍यो नि । उहाँले त बनाउन नै चाहनुभएको थिएन । मैले ‘म पनि उहिलेदेखि पार्टीमा लागेकी मान्छे हुँ, अरूले अवसर पाउने, मैले नपाउने कसरी हुन्छ ? कुन कानुनमा छ म हुनुहुँदैन भन्ने ? मेरो मिहिनेतको कदर किन हुँदैन ?’ भनेर कराएँ । उहाँलाई ‘यसपालि पनि मलाई सभासद् नबनाए तपाईंलाई पनि सघाउन्नँ’ भनेँ ।

६२. कहिलेदेखि लाग्नुभएको तपाईं पार्टीमा ?

गजेन्द्रनारायणजी अध्यक्ष हुँदाखेरि नै म महिला मञ्चकी सदस्य थिएँ । ०६२–६३ सालको आन्दोलनमा दिनदिनै रत्नपार्कको जुलुसमा सहभागी हुन्थेँ । यसबीचका तपाईंका आन्दोलनमा पनि सक्रिय भएर लागेँ । गोली पनि चल्यो, म मर्न पनि सक्थेँ नि ।

६३. कार्यकर्ताहरू पैसा माग्न कति आउँछन् ?

अप्ठ्यारो परेका, बिरामी भएका कार्यकर्ता आइहाल्छन् नि ।

६४. कत्तिको सहयोग गर्नुहुन्छ उहाँले ?

आफूले सक्ने सहयोग गरिहाल्नुहुन्छ नि ।

६५. चुरोट खानुहुन्छ कि खानुहुन्न ?

पहिला त धेरै खानुहुन्थ्यो । पछि छाड्नुभयो ।

६६. कति भयो छाडेको ?

८–१० वर्ष भयो ।

६७. कुन चुरोट खानुहुन्थ्यो ?

याक ।

६८. तपाईंले नखान भन्नुहुन्थेन ?

मलाई गन्हाउँथ्यो, गाली गर्थेँ नि । पछि लुकेर पनि खानुहुन्थ्यो ।

६९. खैनी खानुहुन्छ कि खानुुहुन्न ?

आफैँ खल्तीमा राखेर माडेर त खानुहुन्न । तर, जिल्ला जाँदा, यहीँ पनि कसैले माडेर दियो भने मुखमा राखिहाल्नुहुन्छ ।

७०. नखान भन्नुहुन्न ?

भन्छु नि । उहाँलाई मात्रै होइन, माडेर सुर्ती दिने व्यक्तिलाई पनि गाली गर्छु मैले ।

७१. रक्सी खानुहुन्छ कि खानुहुन्न ?

कहिलेकाहीँ पार्टीहरूमा खानुहुन्छ । तर, थोरै ।

७२. अरू वेला खानुहुन्न ?

खानुहुन्न । रक्सी उहाँलाई पच्दै–पच्दैन । खायो कि बिरामी पर्नुहुन्छ ।

७३. रक्सी खाएर कहिल्यै मात्नुभएको छ कि छैन ?

छैन ।

७४. परिवारलाई समय कत्तिको दिनुहुन्छ ?

दिनुहुन्छ फुर्सद हुँदा ।

७५. कति वेला दिनुहुन्छ परिवारलाई समय ?

प्राय: शनिबार पार्टी कार्यालय नगएर घरमै बस्नुहुन्छ । अरू दिन पनि बिहान–बेलुका घरपरिवारलाई समय दिनुहुन्छ ।

७६. परिवारसँग बसेका वेला कस्ता कुराकानी गर्नुहुन्छ ?

सबै खालका कुराकानी हुन्छन् । राजनीतिदेखि परिवारसम्मका गफ गर्छौँ ।

७७. आफ्नो पार्टीको कुरा तपाईंसँग कत्तिको सेयर गर्नुहुन्छ ?

त्योचाहिँ त्यति गर्नुहुन्न । त्यही विषयमा कहिलेकाहीँ सानोतिनो झगडा नै पर्छ । मैले ‘पार्टीभित्र के हुँदै छ, कस्ता कार्यक्रम आउँदै छन् मलाई किन बताउनुहुन्न ? अन्तबाट थाहा पाउँदा मलाई नराम्रो लाग्दैन, मैले पनि त जवाफ दिनुपर्छ’ भनेर कराउँछु ।

७८. अनि, के भन्नुहुन्छ त ?

केही भन्नुहुन्न । ‘तिमीले किन जवाफ दिनुपर्‍यो र ? चुप लागे भइहाल्यो नि’ भन्नुहुन्छ ।

७९. खाजा–खाना खुवाउन कहिलेकाहीँ रेस्टुरेन्ट लैजानुहुन्छ कि हुन्न ?

पहिला–पहिला जान्थ्यौँ, अचेल गइन्न ।

८०. किन नि ?

अचेल त मलाई नै जान मन लाग्दैन, उहाँले पनि त्यति रुचि गर्नुहुन्न । बरु, घरमै पकाएको खान मीठो लाग्छ । कहिलेकाहीँ केटाकेटीले जिद्दी गरे भने जान्छौँ ।

८१. रिसाउने बानी कति छ ?

त्यति धेरै त होइन, तर कहिलेकाहीँ रिसाउनुहुन्छ ।

८२. कस्ता कुरामा रिसाउनुहुन्छ ?

उहाँले घरमा राखेको पैसा कहिलेकाहीँ मैले चलाइदिन्छु । त्यस्तो वेला रिसाउनुहुन्छ ।

८३. रिसाएपछि के गर्नुहुन्छ ?

कराउनुहुन्छ । एक छिन नबोल्ने पनि हुन्छ ।

८४. रिसाएपछि कसले पहिला फकाउँछ ?

उहाँले नै हो । तर, त्यस्तो फकाउनुहुन्न ।

८५. के भनेर फकाउनुहुन्छ ?

पहिला–पहिला बच्चा सानो हुँदा त उसलाई बीचमा राखेर ऊसँग कुरा गरेजस्तो गरेर गरिन्थ्यो ।

८६. अरूको रिस घरमा कत्तिको रिफल्याक्ट हुन्छ ?

हुँदैन त्यस्तो त ।

८७. रिसले वा मायाले कहिल्यै पिट्नुभएको छ ?

छैन ।

८८. माया गरेर तपाईंलाई के भनेर बोलाउनुहुन्छ ?

नामले बोलाउनुहुन्न । ‘कहाँ छि हो’ (कहाँ छौ) भन्नुहुन्छ ।

८९. तपाईंले नि ?

मैले पनि त्यही भन्छु ।

९०. उहाँको नाम उच्चारण गरेर बोल्नुहुन्छ कि बोल्नुहुन्न ?

हाम्रो मधेसतिर महिलाहरूले श्रीमानको नाम उच्चारण गर्नु राम्रो मानिँदैन । कसैले श्रीमानको नाम सोधेको बाध्यात्मक अवस्थाबाहेक मैले पनि उच्चारण गरेको छैन । अरूसँग कुरा गर्दा पनि ‘मन्त्रीजी’, ‘अध्यक्षजी’ भन्छु ।

९१. उपहार कत्तिको दिनुहुन्छ ?

उपहार नै भनेर त बिहेको दिनबाहेक अहिलेसम्म दिनुभएको छैन ।

९२. बिहेमा के दिनुभएको थियो ?

हाम्रो चलनअनुसार दुलही घर ल्याएको पहिलो दिन पतिले पत्नीलाई केही न केही उपहार दिनुपर्ने चलन हुन्छ । उहाँले मलाई काठमाडौंबाट लगिदिएको घडी दिनुभएको थियो ।

९३. विदेशबाट आउँदा केही ल्याइदिनुहुन्छ कि हुन्न ?

त्यस्तो त केही न केही ल्याइदिनुहुन्छ । लुगाहरू, पर्स, पफ्र्युमलगायतका सामान ल्याइदिनुुहुन्छ ।

९४. जन्मदिन, म्यारिज एनिभर्सरीमा, भ्यालेन्टाइन डेमा सम्झेर ‘विस’ गर्नुहुन्छ कि बिर्सनुहुन्छ ?

प्राय: बिर्सनुहुन्छ । कहिलेकाहीँ मैले पनि बिर्सन्छु । केटाकेटीले कहिलेकाहीँ सम्झाइदिन्छन्, त्यस्तो वेला भने विस गर्नुहुन्छ ।

९५. विदेश जाँदा तपाईंलाई सँगै लैजान कत्तिको मन पराउनुहुन्छ ?

त्यस्तोमा त मन पराउनुहुन्छ, धेरै ठाउँ लैजानु पनि भएको छ ।

९६. कुन–कुन देश सँगै जानुभएको छ ?

अमेरिका, डेनमार्क, स्विडेन, नर्वेलगायतका देश सँगै गएका छौँ ।

९७. विदेश जाँदा घुमघाम–रमाइलो कत्तिको गर्नुहुन्छ ?

एकदमै गर्नुहुन्छ । नयाँ–नयाँ ठाउँहरू घुम्न, हेर्न मन पराउनुहुन्छ ।

९८. जिद्दी गर्ने स्वभाव कत्तिको छ ?

जिद्दी त साह्रै गर्नुहुन्छ । घरमा त उहाँको मनमा जे लाग्छ, त्यही हुन्छ ।

९९. कस्ता कुरामा जिद्दी गर्नुहुन्छ ?

उहाँलाई ठीक लागेका कुरामा जिद्दी गर्नुहुन्छ ।

१००. सम्झाउँदा पनि मान्नुहुन्न ?

सम्झाउनै सकिन्न ।

१०१. पार्टीभित्रका छलफलमा कत्तिको अडान राख्नुहुन्छ ?

पार्टीमा पनि त्यही हो ।