१८ कार्तिक २०८३, बुधबार

कृषि क्याम्पसमा पुनः विवाद, रामपुरमा त्रिविलाई स्थान छैन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rampur Krishi Campus– तिलकराम रिमाल

चितवन, १४ जेठ । सरकारले चितवनको रामपुरमा रहेको कृषि क्याम्पस र हेटौंडामा रहेको वन विज्ञान अध्ययन संस्थानलाई मिलाएर बि.सं. २०६७ सालमा कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) स्थापना गरे पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले उक्त स्थानमा आफूले पनि कक्षा संचालन गर्न पाउने पर्ने भन्दै विवाद गर्दै आएको छ ।

एएफयू स्थापना भएपछि त्रिविले रामपुरमा भर्ना रोकेको छ । तर त्रिविका उपकुलपति डा. तीर्थ खनियाले केही दिन अघि त्रिविले आगामी भदौ महिनाबाट रामपुरमा भर्ना लिने बताएपछि पुनः विवाद बझिल्एको हो ।

उक्त भनाई सार्वजनिक भएपछि कृषि तथा वनविज्ञान विश्वविद्यालयले आपत्ति जनाएको छ । विश्वविद्यालयले “फेज आउट” हुन लागेको त्रिविले फेरि भर्ना लिन्छु भन्नु गैरकानुनी र हेपाहा प्रवृति भएको जनाएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. मनराज कोलाक्षपतिले त्रिविले रामपुर भित्र अब फेरि भर्ना लिएर कार्यक्रम सञ्चालन गर्न नसक्ने बताए । रामपुर कृषि क्याम्पसको ९० प्रतिशत दायित्व र सम्पत्ती एएफयूको मातहतमा आइसकेको भन्दै रजिष्टार कोलाक्षपतिले त्रिविले कार्यक्रम नै सञ्चालन गर्ने भए जिल्लाका अन्य भूभागमा सञ्चालन गर्न सक्ने बताए । “रामपुरमा आएर विश्वविद्यालयसँग सिगौरी खेल्न जरुरी छैन” रजिष्ट्रार कोलाक्षपतिले भने । उनले चितवनमा कृषि बिषय नै अध्ययन गराउनका लागि अर्को कृषि क्याम्पस आवश्यक नभएको दावी गरे ।

“कृषि तथा वनविज्ञान विश्वविद्यालय पनि राज्यकै सम्पती हो, त्रिवि पनि राज्यकै सम्पत्ती हो । एकैठाँउमा दुई वटा संरचना राखेर दोहोरो खर्च किन गराउने” रजिष्ट्रार कोलाक्षपतिले भने ।

त्रिविको भेटेनरी संकायको अन्तिम संकाय मात्र रामपुरमा बाँकी रहेको छ । अबको ५ महिना पछि त्रिविका सबै कार्यक्रम रामपुरबाट सम्पन्न हुँदैछन् । फेरि कृषि तथा वनविज्ञान विश्वविद्यालय भित्र भर्ना शुरु गर्ने भनेर त्रिविले गरेको तयारी राज्यको नीति नियम र कानुन नमान्ने काम हुने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयको ऐनमा नै रामपुर र हेटौडा क्याम्पस मिलाएर कृषि तथा वनविज्ञान विश्वविद्यालय बनाउने उल्लेख छ । समायोजनकै बेलामा समेत पक्लिहवा क्याम्पस र लम्जुङ कृषि क्याम्पस त्रिविलाई र रामपुर र हेटौंडाको संरचना कृषि तथा वनविज्ञान विश्वविधालयमा रहने गरि दिइएको रजिष्टार कोलाक्षपतिले बताए ।

हेटौडाको वन विज्ञान संकायमा समेत त्रिविले विश्वविद्यालयसँग अनावश्यक विवाद गरिरहेको छ । हेटौडाको वन संकायलाई विश्वद्यिालय मातहतमा राख्ने र पोखराको वन विज्ञान अध्ययन सस्थानलाई त्रिविको मातहतमा लैजाने सहमतीलाई त्रिविले लत्याउदै आएको रजिष्टार कोलाक्षपतिले बताए ।

चितवनका राजनीतिक दलहरु समेतले त्रिवि रामपुर छिर्न लागेको भन्दै त्यसको विरोध गरेका छन् । “आजसम्म त्यस बिषयमा कुनै पनि छलफल र बैठक क्रियाशील जिल्लाका राजनीतिक दलहरुका बीचमा भएको छैन्” नेकपा माओवादी केन्द्रका जिल्ला नेता यम बहादुर परियारले भने, “रामपुर अब त्रिविलाई फेरि किन चाहियो ?”

एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले त्रिवि रामपुरमा आएर एएफयूसँग निहुँ खोज्ने काम गलत भएको बताए । थपलियाले भने, “बरु जिल्लाकै अन्य स्थानमा व्यवस्था गर्न सकिन्छ तर रामपुरमा त्रिविलाई अब स्थान दिइदैन् ।”

काँग्रेस चितवनका सभापति जीत नारायण श्रेष्ठले शक्तिखोर, दियालो बंगला वा अन्य स्थानमा त्रिविको कृषि संकाय सञ्चालन गर्न सकिने बताए । उनले दीर्घकालिन रुपमा स्थानको खोजी गरि अल्पकालिन व्यवस्था गर्न सकिने बताए ।

त्रिविका उपकुलपति डा. तीर्थ खनियाले त्रिविले आगामी भदौ महिनाबाट रामपुरमा भर्ना लिने बताएका थिए । तर त्रिविकै रजिष्ट्रार डिल्ली उप्रेतीले त्रिविले अहिलेसम्म रामपुर क्याम्पसमा भर्ना लिने बारेमा कुनै पनि निर्णय नगरेको बताए । “निर्णय गर्ने स्थानमा म छु परिषद्को सदस्य सचिव नै म हुँ, अहिलेसम्म भर्ना खोल्ने निर्णय भएको बारेमा मलाई जानकारी छैन् ” रजिष्ट्रार उप्रेतीले भने ।

यता, त्रिवि रामपुर क्याम्पस कृषि संकायका डिन नरेन्द्र चौधरीले आफ्नो यस बारेमा कुनै धारणा नरहेको बताए । उनले भने “पत्रिकामा आएको छ पढ्नुस् मेरो केही धारणा छैन् ” चौधरीले भने । रामपुरमा त्रिविका ८/१० जना कर्मचारी र ८/१० जना प्राध्यापक मात्रै बाँकी रहेकाले पुनः कक्षा संचालन गर्न मानवशक्तिको पनि अभाव देखिएको छ । यस अघि रामपुरमा रहेका त्रिविका अधिकांश कर्मचारी तथा प्राध्यापकहरु एएफयूमा समायोजन भईसकेका छन् भने त्यहाँ रहेका भौतिक सम्पत्ति तथा गाईफर्म, कृषि फर्म लगायतका सम्पत्ति एएफयूले संरक्षण तथा उपभोग गर्दै आईसकेको छ ।