२९ आश्विन २०८३, बिहिबार

किन छायाँ बन्दैछ एमालेको युवा नेतृत्व ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

????????????????????????????????????

प्रमुख सत्तारुढ दल नेकपा एमालेको नवौ महाधिवेशन सकिएको आगामी असारमा ३ वर्ष पूरा हुदैछ । नवौ महाधिवेशनको समाप्तीसंगै एमालेमा आगामी २०७५ सालमा हुने दशौ महाधिवेशनबाट नेतृत्व लिने भित्री कसरत शुरु भइसकेको छ । निश्चय नै निर्वाचनका लागि तयारी हुनु आफैमा नराम्रो होइन, यस भन्दा पहिला पनि यस्ता खाले घटनाहरु नभएका होइनन् । नवौ महाधिवेशनमा केपी शर्मा ओली र माधवकुमार नेपालबीच भएको प्रतिस्पर्धामा ओली अध्यक्ष बने, नेपाल वरिष्ठ नेता बने ।

नेपाल यस भन्दा पहिला पार्टीको प्रमुख भएर लामो समय नेतृत्व गरिसकेका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमालेको लज्जास्पद हार भएपछि नैतिकताको आधारमा राजिनामा गर्नु भएको नेपाल त्यसको ६ वर्षपछि ओलीसंग अध्यक्ष पदमा प्रतिस्पर्धा गर्नु भएको थियो । पटक पटक प्रमुख पदमा पुगेका नेपाल र उनकै साथमा काम गर्दै आएपनि प्रमुख पदका लागि पहिलो पटक प्रतिस्पर्धामा आएका ओलीबीचको प्रतिस्पर्धाबाट ओलीले जिम्मेवारी पाएका थिए ।

आठौ महाधिवेशनका प्रतिस्पर्धी भएर विजयी झलनाथ खनाल अध्यक्ष भएका थिए भने ओली वरिष्ठ नेता बनेका थिए । निर्वाचन हारेका ओलीले मदन भण्डारी फाउण्डेशनका नाममा निरन्तर रुपमा गुट चलाएको आरोप लाग्दै आएको छ । गुटलाई बलियो बनाउदै ओली नवौ महाधिवेशनमा अध्यक्ष भएका हुन् भन्ने निष्कर्ष अहिलेको नेपाल पक्षधरको रहेको छ ।

नेपाल पक्षले पनि मदन भण्डारी अध्ययन केन्द्र नामक संस्था गठन गरेर गुट चलाई रहेको छ । संस्थापन पक्षले फाउण्डेसन र अर्को पक्षले अध्ययन केन्द्र चलाएर आफ्ना गतिविधि बढाउदै गएका छन् । केही समय पहिला फाउण्डेसनका नाममा ओली गुटको भेला काठमाडौमा भएको थियो । गुटमा रमाउनेहरु र एमाले कमजोर भएको, मुलुकले स्थिरता नपाएको हेर्न चाहनेहरुलाई यसले अत्यन्तै उर्जा थपिदिएको छ तर जो गुट होइन, सवल एमाले हुनुपर्छ भन्ने मान्यतामा छन् उनीहरुलाई भने यो गतिविधिले असाध्यै पिरोलेको छ ।

पछिल्लो पटक मदन भण्डारी अध्ययन केन्द्रले काठमाडौंमा २ दिने कार्यशालाको आयोजना गरेर संस्थापन पक्ष खास गरेर केपी ओलीको विरुद्ध जेहाद छेडेपछि सामाजिक सञ्जालदेखि नेता कार्यकर्ताहरुका बीच यो विषयले प्राथमिकता पाएको छ । एक अर्काबीच तर्क वितर्कदेखि आरोप प्रत्यारोपसम्म देखिएको छ । आफुलाई मन पर्ने नेता वा गुटका पक्ष तथा अर्कोको विपक्षमा लेख्ने, बोल्ने गतिविधिले तिव्रता पाएको छ ।

मदन भण्डारी फाउण्डेसनले केपी शर्मा ओलीलाई अध्यक्ष बनाउन जसरी सहयोग गरेको बताइन्छ, स्वभाविक छ, मदन भण्डारी अध्ययन केन्द्रले पनि दशौ महाधिवेशनबाट माधव नेपाललाई अध्यक्ष बनाउन चाहन्छ । यो चाहना राख्नु माधव नेपालका समर्थकहरुका लागि गलत किमार्थ होइन, जसरी हिजो केपी ओलीलाई अध्यक्ष बनाउन उनका समर्थकहरुले फाउण्डेशनलाई प्रयोग गरे भनिएको छ ।

जव जव एमाले सशक्त बन्छ, पहिलो पार्टी बन्छ, पहिलो बन्ने प्रयासमा रहन्छ, तव तव एमालेमा आन्तरिक मतभेद शुरु हुन्छ । २०५४ को स्थानीय निर्वाचनमा पहिलो पार्टी बनेको एमाले विभाजन नै भएको तितो यथार्थ छदैछ । अहिले पनि एमाले पहिलो पार्टी बन्ने अभियानमा छ । पार्टीको शिर उठेको यो समयमा फाउण्डेसन वा अध्ययन केन्द्रका नाममा हुने गुटगत क्रियाकलापले आफु अनुकुलको नेतृत्वको चाहना राख्नेहरुलाई त फाइदा होला तर सिंगो एमालेलाई असर गर्छ । सवल एमालेका लागि गरिने गतिविधि जसले जहाँबाट गरेपनि त्यसको स्वागत गरिनुपर्छ तर पार्टीभित्रका कमीकमजोरीलाई सार्वजनिक गर्ने, एकले अर्कालाई दुश्मन घोषणा गर्ने, पार्टीकै नेताका विरुद्ध जेहाद छेड्ने जस्ता क्रियाकलापले कसलाई हित गर्छ ? भनिरहन पर्दैन ।

मैले यहाँ उठाउन खोजेको विषय दशौ महाधिवेशन अर्थात २०७५ सालमा माधव नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली, इश्वर पोखरेल, भीम रावल वा सुरेन्द्र पाण्डे को अध्यक्ष बन्छ भन्दा पनि युवा नेताुहरु किन वरिष्ठ नेताहरुलाई विवादमा ल्याउदैछन् भन्नेमा हो । यतिबेला मदन भण्डारी अध्ययन केन्द्रको ध्यान आगामी महाधिवेशनबाट माधव नेपाललाई अध्यक्ष बनाउनेमा केन्द्रीत छ । केन्द्रको ध्यान त्यता जानु अन्यथा होइन । तर किन त्यसो गरिदैछ त ? बहसको विषय हो ।

नवौ महाधिवेशनको पूर्व सन्ध्यामा माधव नेपालले कार्यकर्ताहरुको दवावका कारण अध्यक्षको उमेदवार बन्दैछु भन्नु भएको थियो । त्यतिबेलाको भन्दा कम दवाव यति बेला पक्कै छैन र त्यो दवाव दिनेमा सबैभन्दा अग्रपंक्तिमा मदन भण्डारी अध्ययन केन्द्र छ । जसको नेतृत्व पार्टीका केन्द्रीय सचिव तथा युवा, प्रभावशाली, भोलीको पार्टी अध्यक्ष, सरकार तथा राष्ट्र प्रमुखको संभावना भएको व्यक्तिले गर्नु भएको छ । उहाँसहित धेरै संभावना भएका नेताहरुले माधव नेपाललाई अगाडि सार्दै हुनुहुन्छ ।

एमालेको एकजना कार्यकर्ताको हिसावले जो अध्यक्ष भएपनि मेरो अध्यक्ष हो र मैले उहालाई मान सम्मान गर्नु पर्छ, र स्वतन्त्र नागरिकको रुपमा उहाँका सकारात्मक र नकरात्मक कामको बारेमा सोही अनुसार आफ्नो मत राख्न पाउनुपर्छ, र म त्यो गर्छु ।

मदन भण्डारी प्रवत्ता भएको जानकारी पाएदेखि मदन, मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल, केपी ओली जो नेतृत्वमा गएपनि सबैलाई सम्मान नै छ । दशौबाट माधव नेपाल पुनः फर्किए पनि वा झलनाथलाई सर्वसम्मत बनाए पनि वा केपी ओलीले नै दोहो¥याए पनि सम्मान नहुने कुरै भएन । फलानो अध्यक्ष भएन भने पार्टी सकिन्छ, फलानाले टिकट ल्याएन भने हारिन्छ भन्दै गुटकै पछि लाग्ने र आफ्नालाई हराउन हिड्ने प्रवृति पनि नभएको होइन, तर कालान्तरमा त्यसले उ आफैलाई कमजोर बनाउछ भन्ने कुरा कतिपय उदाहरणबाट देखिएकै छन् ।

२०५० सालमा पार्टीको कार्यकारी महासचिव भएका, मनमोहनको निधनपछि २०५६ देखि २०६५ बैशाख पहिलोसातासम्म पार्टीको प्रमुख त्यो पनि एकल भइ सकेका माधव नेपाललाई २०७५ सालका लागि अगाडि सार्ने र त्यसको अगुवाई युवा भनिएका नेताहरुले गरेको कुराले भने मलाई च्वास्स घोचेको छ । किन युवा नेताहरु आफु अगाडि नसरेर सम्मानका साथ अभिभावकको भूमिका निभाएर बस्नु पर्ने नेताहरुलाई अगाडि सार्दैछन् ? छलफलको विषय बनाइनु पर्छ ।

के साच्चिकै एमालेका युवा नेताहरु पार्टी चलाउन सक्षम छैनन् । पहिलो कारण यहि नै हुन सक्छ । २०३९ सालमा महासचिव भएर पार्टीको अगुवाई गरेका झलनाथ खनाललाई २०६६ मा अध्यक्ष बनाइयो, उहाँलाई अध्यक्ष बनाउने अभियानको नेतृत्व इश्वर पोखेरल, घनश्याम भुषाल, योगेश भट्टराईहरुले गरेका थिए । २०७० मा केपी ओलीलाई अध्यक्ष बनाउन इश्वर पोखरेल, शंकर पोखरेल, प्रदिप ज्ञवालीहरुले गरे । २०७५ का लागि माधव नेपाललाई अध्यक्ष बनाउन योगेश भट्टराईको अगुवाईमा ठाकुर गैरे लगायतका नेताहरु लागि परेका छन् ।

यसले यि युवा नेताहरु वरिष्ठ नेताहरुको काँधमा बन्दुक राखेर पड्काउने भन्दा माथिको सोचमा छैनन्, उनीहरु आफुलाई पार्टीको प्रमुख पदमा पु-याउने पक्षमा देखिदैनन, अर्थात उनीहरुको त्यसखालको क्षमता छैन त ? भएको भए ०३९ साल, ०५० सालमै नेतृत्व लिइ सकेकाहरुलाई पटक पटक नेतृत्वमा ल्याउन प्रयत्न किन गर्छन ? युवा पुस्ताको नेतृत्व चाहने कार्यकर्ताको प्रश्न हो यो ?

झलनाथ खनाल, माधव नेपाल र केपी शर्मा ओलीले चलाएको पार्टीको अवस्थाका बारेमा धेरै व्याख्या गर्नै पर्दैन । कसले कसरी चलाए, कसले के के गरे सिंगो एमाले मात्रै होइन, आम सचेत नेपाली जनता जानकार नै छन् । जहाँसम्म आगामी नेतृत्वको कुरा हो यस विषयमा फेरी एक पटक ०५० सालमा कार्यकारी महासचिव बनेका व्यक्तिलाई २५ वर्ष पछि पुन नेतृत्वमा लैजान गुट बलियो बनाउने कुराका पछाडि युवा नेताहरुको के स्वार्थ छ ? बहसको विषय बनाइनु पर्छ । युवा नेताहरु वरिष्ठ नेताहरुको आड लाएर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्दैछन् कि ? छलफल चलाइनुपर्छ ।

२०५० सालमा जन्मिएका बालबालिका आज पार्टीको युवा नेता हुने अवस्थामा पुगिसके । लगातार स्थानीय निकायको निर्वाचन भएको भए आज २०५० सालमा जन्मेको व्यक्ति गाविस अध्यक्ष, नगरपालिकाको अध्यक्ष, जिविस सदस्य भइसक्थ्यो । २५ वर्ष उमेरको लक्का जवान भइसकेको त्यो युवाले ४० वर्षमा पार्टीको अध्यक्ष हुने सोचका साथ काम गथ्र्यो र ५५ वर्ष भन्दा पहिला नै नेतृत्व गरिसक्थ्यो । ६० वर्ष पुग्दा निजामती कर्मचारी सेवा निवृत भए जस्तै राजनीति छोडेर धर्मकर्ममा लाग्थ्यो होला ।

मदन भण्डारी ४० वर्षको उमेर नपुग्दै पार्टीको महासचिव बनेको पार्टीका ५५ वर्ष कटि सकेका युवा भनिने नेताहरुले ७० नजिक पुगेका नेताहरुलाई नै अध्यक्ष बनाउन प्रस्ताव गर्नु पर्ने कारण खोजी गर्न सकियो भने अवस्य पनि एमालेलाई फाइदा नै हुन्छ । उनीहरु या त सक्षम छैनन्, या त उनीहरुको केही स्वार्थ छन् जसले उनीहरुलाई मुख्य नेतृत्व होइन, अरुको आडमा आफ्नो काम फत्ते गर्नुृछ भन्ने आशंका उनीहरुकै गतिविधिले देखाएको छ । यसलाई मेट्ने वा यसको खण्डन मण्डन कामबाट दिने जिम्मा तिनै युवा भनिने नेताहरुको हो ।

मैले यसो भनिरहदा, माधव नेपाल, झलनाथ खनाल, केपी शर्मा ओलीसंग क्षमता, दृढता वा लगनशिलता नभएको अर्थमा बुझियो भने गलत हुन्छ, उनीहरु तिनै जना पार्टीका आदरणीय नेताहरु हुन् । उनीहरुको सक्रियता, क्रियाशिलता र अग्रसरताकै कारण एमाले आज एमाले भएको हो । उनीहरुकै अगुवाईमा एमाले मुलुकको दोस्रो ठुलो दल बन्न सफल भएको हो । त्यस कारण उनीहरु सद्धेय नेताका रुपमा छन्, सम्मानित छन् । पार्टीको प्रमुख मात्रै होइन, तिनै जना सरकार प्रमुख समेत भइसकेका छन् र अब उनीहरुले पाउनु पर्ने पद अव केवल राष्ट्र प्रमुख मात्र बाँकी छ ।

त्यसैले उनीरुलाई पार्टीको अभिभावक बनाउने र पार्टीको कार्यकारी पदमा दोस्रो पुस्ताका नेताहरु इश्वर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डेहरुकाबीच प्रतिस्पर्धा आवश्यक छ । त्यसपछि क्रमश शंकर पोखरेल, प्रदिप ज्ञवाली, योगेश भट्टराईहरुको पालो आउन सक्छ । होइन ०७५ मा माधव नेपाल, २०८० मा झलनाथ खनाल भन्दै जाने हो भने युवा पुस्ताले पार्टीको नेतृत्व कहिल्यै पाउन सक्दैन । युवा नेताहरुले आँट गर्नु प¥यो तपाईहरु अभिभावक भएर मार्गनिर्देशन गर्नुस, हामी पार्टी चलाउछौ ।

खनाल, नेपाल र ओलीले पनि अब सोच्नु पर्छ, विभिन्न वहानामा पार्टीको कार्यकारी पद लिने होइन, अब उचित सल्लाह दिएर अभिभावकको भूमिका निर्वाह गरेर पार्टीलाई एकतावद्ध, सुदृढ र प्रभावशाली बनाउनुपर्छ ।

हिजो जे जस्तो भयो त्यसलाई बिर्सेर तिनै जना नेताहरुलाई पार्टीको शिर्ष स्थानमा राखेर दोस्रो पुस्ताले पार्टीको नेतृत्व गर्नु पर्छ । त्यसका लागि युवा नेताहरुको अगुवाई हुन जरुरी छ, युवाका नाममा गुट चलाउने र फर्काइ फर्काइ पुरानै स्वादमा रमाउने हो भने नयाँको कल्पना गर्न सकिदैन, र जनता र कार्यकर्ताले त्यतिबेला प्रश्न गर्ने छन् के एमालेको युवा पुस्ता असक्षम नै छ ? जवाफ दिने फेरी पनि त्यहि पुस्ताले नै हो । घाम बनेर प्रकाश दिनु पर्ने युवा नेताहरु किन छाया बन्दैछन् ।