काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्ब उपसभापति रामचन्द्र पौडेल सक्रिय राजनीतिबाट बिरक्तिएका छन् । आफैले स्थापना गर्न लगाएको सामाजिक लोकतन्त्र अध्ययन केन्द्र नामक संस्थाले मंगलबार राजधानीमा आयोजना गरेको ‘राजनीतिलाई कसरी सम्मानित क्षेत्र बनाउन सकिन्छ ?’ भन्ने बिषयक बिचार गोष्ठीमा नेता पौडेलले राजनीति भन्दा फोहोरी खेल केही नभएको भन्दै आफ्नो निरासा र कुण्ठा पोखेका हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
गत फागुन अन्तिम साता काठमाडौंमा भएको कांग्रेसको १३ औं महाधिवेसनमा सभापतिमा पराजित भएपछि पौडेलमा निरासा र तिक्तता आएको हो । १३ औं महाधिवेसनको उद्घाटन कार्यबाहक सभापतिको हैसियतले गर्दाको समय झलझली सम्झँदै पौडेलले भनेका थिए ‘मैले त्यही बेला भनेको थिएँ नि राजनीतिमा माफियागिरीको बोलाबाला छ, सचेत हुनुपर्छ भनेर ।’
राजनीतिप्रति तिब्र असन्तुष्टी, कुण्ठा, निरासा र आक्रोस मिश्रित भावमा भने ‘सर्बसाधरणले राजनीतिलाई घृणा गर्न थालेका छन् । हामी राजनीति गर्नेलाई राष्ट्रिय डाका भन्छन् ।’ आफु सँधै निष्ठा र इमान्दारिताको राजनीति हुनुपर्छ भन्ने पक्षमा रहेको जनाउँदै उनले भने–‘राजनीतिलाई सत्ताको छिनाझम्टी, ढाँट÷छल र गुण्डागर्दीको फोहोरी खेलको रुपमा जनताले हेरेका छन् । राजनीतिप्रति जनताको घृणा र वितृष्णा छ । धन सम्पत्ति हुनेले मात्र राजनीति गर्न सक्ने आवस्था आउँदैछ ।’
कांग्रेस संस्थापक नेता बिपि कोइरालाको भनाई उधृत गर्दै पौडेलले भने–‘एक दिन कांग्रेस भित्रका सुकिला मुकिलाबिरुद्ध पार्टीकै सच्चा कार्यकर्ताले संघर्ष गर्नुपर्छ भने झैं पार्टी भित्र अहिले त्यस्तै समय आएको छ ।’ पार्टीको नेतृत्व गरिरहेका सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै पौडेलले भने–‘पार्टीले समता दिवस मनाउन सकेन, अबदेखि हामीले दबाब दिनु पर्छ ।’ उनले भने–‘पैसाले मात्र राजनीति गर्न सकिन्छ भन्ने मान्यता स्थपित भयो भने राजनीतिमा इमान्दारहरुले ठाउँ पाउँदैनन् ।’ उनले राजनीति गर्न पैशा चाहिन्छ भनेर राजनीति गर्नेले दनादन घुस खान थाल्ने र सरुवा बढुवामा लाग्ने हो भने त्यसले अर्को बिकृति ल्याउन सक्ने चेतावनी पनि दिए ।
पूर्बअर्थमन्त्री एवम् कांग्रेस नेता रामशरण महतले भने पर्याप्त सम्पत्ति नहुनेले राजनीति गरेमा सत्तामा गएर भ्रष्टाचार गर्न सक्ने बताए । उनले भने–‘राजनीतिलाई सम्पत्ति आर्जन गर्ने पेशा बनाउनु हुन्न । अहिले राजनीतिलाई सत्ता, शक्ति र सम्पत्ति आर्जन गर्ने साधनको रुपमा दुरुपयोग गरिरहेका छन् ।’ उनले राजनीति सेवा नभएर पेशा बनेकोले यसप्रति बितृष्णा फैलिएको बताए ।
कार्यक्रममा कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले देश र जनताको पक्षमा काम गर्ने व्यक्तिले समाजमा सम्मान पाउने भन्दै जनताको भावाना बमोजिम काम गर्ने नेता नभएकाले राजनीतिमा बितृष्ण पलाएको बताइन् ।















प्रतिक्रिया