२९ आश्विन २०८३, बिहिबार

स्वास्थ्य क्षेत्रमा बायोमेडिकल उपकरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepak-Mahat२१ औ शताब्दीको यस समयावधिमा थुप्रै क्षेत्रमा परिवर्तन भैरहदाँ स्वास्थ्य क्षेत्रमा पनि विभिन्न परिवर्तन तथा आविश्कार भई नै रहेका छन् । आजको युगमा मानिस अकाल मृत्युवरण गर्ने अवस्थाबाट टाढा रहुन् भन्ने स्वास्थ्य क्षेत्रमा लाग्ने सबैको उद्घेश्य र आम समाजको चाहना छ । उद्घेश्य र चाहना बिचको तारम्यता मिल्यो भने सबल स्वास्थ्य उपचारको सम्भावना जिवित रहन सक्छ । नभए त्यसको परिणाम कल्पनाभित्र मात्रै सिमित हुन जान्छ । आज उपचार गर्ने मानिस जति स्वास्थ्यकर्मीमा निर्भर रहेका छन्, त्यत्तिनै मात्रामा बायोमेडिकल उपकरणमा समेत भर पर्ने गर्दछन् । या भनौं एउटा स्वास्थ्यकर्मीले अगाल्ने उपचार पद्घतिमा बायोमेडिकल उपकरणले ठुलो भुमिका खेलेको हुन्छ । तर वर्तमान नेपालको सन्दर्भमा स्वास्थ्य क्षेत्रमा कति गुणस्तरीय उपकरण प्रयोग भएका छन्, यो खोजको विषय बन्न सक्नुपर्छ । यस विषय सम्बन्धि आम चासो प्रकट गरेका उदाहरण अति कम र न्युन मात्रामा रहेका छन् । यस सम्बन्धि खोज तथा चासो राख्ने समुदायको दायरा नबढ्दासम्म उपकरणबारेको सबाल नउठ्न सक्छ । तर अब हामी सबैले बुझ्नै पर्छ, स्वास्थ्य क्षेत्रमा बायोमेडिकल उपकरण र यसले खेल्ने भूमिकाबारे ।

“वर्षो पुराना/प्रयोग भैसकेका र क्यालिब्रेसनको अभाव खेपिरहेका उपकरणहरुबाट सहि नतिजाको अपेक्षा राख्नु ब्यर्थ र बिरामीमाथिको खेलबाड सिवाय केही हुन सक्दैन ।”

फरक-फरक उपचार कक्षमा उपचारत मानिसका लागि कस्ता र के–के बायोमेडिकल उपकरण आवश्यकता हुन्छन् ? यसबारे जबसम्म उपचार गर्ने मानिस,आफन्त तथा आम सर्वधारणले सामान्य जानकारी राख्दैनन् तबसम्म यहाँ थुप्रै प्रिय/अप्रिय घटनाको भागिदार बन्नुपर्ने अवस्था आइपर्न सक्छ । हामीले पत्तै नपाउन सक्छौ हामीबाट बिदा भएका आफन्त, प्रियजन कतै त्यही न्युनतम बायोमेडिकल उपकरणको सहायता बिना कतै हामीबाट त टाढिएनन् सबैले विचार गर्नेपर्छ । आज सुगम तथा विशेष गरी दुर्गम भेगका अस्पतालहरुमा प्राय अक्सिजन कन्सनटेटरबाट अक्सिजन नदिएर हावा मात्रै दिइएको छ । कारण त्यसको प्रयोग लामो समयसम्म गरिएको छ र त्यसको कार्यक्षमतामा ह्रास आई अक्सिजनको सट्टा हावालाई उपकरणले चापमा मात्रै रुपान्तरण गरेर बिरामीमा पुर्याइएको छ । यो त भयो सामान्य उदाहरण मात्रै । यस्तो हामीले कल्पना गरेभन्दा फरक हुनसक्छ तर वास्तविकता यसभन्दा कत्ति पनि टाढा छैन । यसले रोगको निदानमा कस्तो असर गर्छ त्यो सबैका लागि सोचनीय विषय छ ।

हामीले प्रायः देख्ने गरेका छौ, एक्स-रे गर्दा एक्स-रे फिल्ममा चित्र स्पष्ट नआउदाँ एउटै बिरामीलाई पटक पटक एक्स–रे गरिरहेको तर यो गलत कार्य हो । किनकी कोही/कसैलाई पनि उपचारका नाममा हानिकारक विकिरण बिरामीमा पुयाउने छुट छैन । तर नेपालमा रोगको निदानमा उपकरणको गलत प्रयोग गरिदै आइएको छ । वर्षो पुराना/प्रयोग भैसकेका र क्यालिब्रेसनको अभाव खेपिरहेका उपकरणहरुबाट सहि नतिजाको अपेक्षा राख्नु ब्यर्थ र बिरामीमाथिको खेलबाड सिवाय केही हुन सक्दैन । नेपालमा विभिन्न स्वास्थ्य क्षेत्रमा संग्लन मानिसहरु कमिसनको लागी बिरामीलाई सेक्ने जनतामारा रुपलाई अगिंकार गर्ने बाटोतर्फ लागीरहेको सबै नेपालीको लागि अब सायदै नौलो विषय नबन्ला । नेपालमा ब्यवसायिक प्रयोजनका निम्त्ति स्वास्थ्य क्षेत्र प्रयोग भैदिदाँ हामी पीडामा रहनुपर्ने बाध्यता छ । दुर्गम नेपालको कुरा त अलि झन् दर्दनाक छ, कारण सरकार पनि यसमा जिम्मेवारीका साथ लाग्न सकिरहेको छैन । अनुगमनलाई अझै सम्बन्धित निकाय अगाडी बढाउन सकेको छैन र यसमा सरकारलाई वास्ता पनि छैन ।

नेपालमा बायोमेडिकल उपकरणका कारण ज्यान गएका घटना हामी अति न्युन सुनेका छौ । तर यसको भूमिका पनि स्वास्थ्यकर्मी कै सरह रहने गरेको छ । जसरी सबै घटनाको जिम्मेवार स्वास्थ्यकर्मी किटान गरिँदै अस्पताल तोडफोड र दोषारोपण उत्रिने परम्परा बिधमान छ । यसमा आम सर्वसाधारणको सचेतता पनि त्यत्तिकै आवश्यकता छ । स्वास्थ्यकर्मीले पनि उपकरणकै कारण घटना भए भन्न सक्नुपर्छ । स्वास्थ्यकर्मीमा अनेकन बाध्यता हुनसक्छन् तर त्यसबाट माथि उठेर सत्यतथ्यमा रहि घटनाको जानकारी दिन सक्नुपर्छ । स्वास्थ्य क्षेत्रमा प्रयोग भैरहेका उपकरणहरुले बिरामीमा सकारात्मक प्रभाव पारेनन् भने तिनको प्रयोगमाथि प्रश्न उठाउनु स्वभाविकै छ । रोगको निदान गर्न प्रयोग भैरहेका उपकरणले कति सहि नतिजा दिइरहेका छन्, यस विषयमा स्वास्थ्यकर्मी सजग बन्नैपर्छ ।

उपकरण मात्रै हुदैमा त्यसले निदानात्मक रुपमा सहयोग गर्ने विश्वासमा सहमत हुन सकिदैन । त्यसका लागि उपकरण चलाउन,मर्मत गर्न जस्ता ब्यवहारिक पक्षमा विकास गर्न सक्नैपर्छ । अनिमात्र सबल स्वास्थ्यपोचारमा सकारात्मक परिवर्तन सम्भव छ ।

([email protected])