
मैले २०३५ साल असार आखिरीमा पहिलोपटक मदनलाई भेटेको थिएँ । र, २०५० सालको जेठ २ गते विहान साढे आठ बजेपछि उहाँसित कहिल्यै भेट हुन सकेन । २०५० साल जेठ ३ गतेको षडयन्त्रपूर्ण दुर्घटनामा परी उहाँ भौतिक रूपले नै हामी सबैसित सदा–सदाका लागि विदा हुनुभएको थियो । यसरी, चौध वर्ष दश महिना (झण्डै १५ वर्ष) मदनसितको निरन्तरको सम्वन्ध–सम्पर्कमा, उहाँसितको मित्रता र सानिध्यतामा, अझ सबैभन्दा महत्वपूर्ण कुरा अत्यन्त विश्वास र आत्मियतामा, एउटै कमिटीका सदस्य र सहयोद्धा भएर हाम्रो समय बित्यो । २०३५ साल साउन ८ गते उहाँले केन्द्रीय नेतृत्वमा जिम्मेवारी पाउनु भएको थियो र २०५० साल जेठ ३ गते शहादत प्राप्त गर्नेबेलासम्म, जम्मा ४२ वर्षको उमेरमा, उहाँले कम्युनिष्ट पार्टीको अत्यन्त लोकप्रिय महासचिव तथा मुलुककै चर्चित र उदीयमान राजनेताको स्थान बनाइसक्नु भएको थियो ।
२०५० साल जेठ १ गते, म ओखलढुंगाबाट काठमाडौं आइपुगेको थिएँ । २०४८ सालको संसदीय निर्वाचनपछि सम्पन्न भएको स्थानीय निर्वाचनको सिलसिलामा म त्यता गएको थिएँ र त्यहाँबाट फर्कन मलाई केही दिन लागेको थियो । म त्यसबेला केन्द्रीय कार्यालयको सचिव थिएँ । र, धेरैले मदनले विशेष विश्वास गरेको केन्द्रीय सदस्यको रूपमा पनि मलाई बुझ्थे । किनभने, जनकपुर अञ्चलको पार्र्टी प्रमुख भएर काम गरिरहेको मलाई केन्द्रीय कार्यालयमा काम राम्ररी नभइरहेको र कार्यालयमा ठीकसित काम गर्नसक्ने जिम्मेवार व्यक्तिको खोजी गर्ने सिलसिलामा मदनले नै विशेषै जोड दिएर कन्द्रीय कार्यालयको सचिवको जिम्मेवारीमा ल्याउनु भएको थियो । यो प्रसंगलाई अहिले पनि त्यसबेला कार्यालयमा उपसचिवको रूपमा काम गर्नुहुने मनकुमार गौतमले अत्यन्त रोचक ढंगले सुनाउनुहुन्छ ।
म ओखलढुंगाबाट आएर सोझै त्यसबेला केन्द्रीय कार्यालय रहेको वागवजार पुगेको थिएँ । सोचेको थिएँ – त्यहाँ मदनलाई भेटेर ओखलढुंगाको पार्टी कामको स्थितिका बारेमा सबिस्तार जानकारी गराउँला । तर त्यो हुन सकेन । उहाँ कतै विशेष कार्यक्रममा जानुभएको थियो । राती पनि उहाँसित सम्पर्क हुनसकेन । बिहानै सम्पर्क गर्नुपर्ला भन्ने सोचेको थिएँ, उठ्न केही ढिला भएछ । बिहानै मदनले गर्नुभएको फोनको घण्टीले मलाई व्यूँझाएको थियो । कतिवेला ओखलढुंगाबाट आउनुभो ? केही जरूरी सल्लाह गर्नुछ, अहिले नै मैले पोखरा हिंडिहाल्नुपर्ने भएका कारण तपाईं जतिसकिन्छ चाँडै आइहाल्नुस् न ! उहाँले यति भनेपछि अरू धेरै कुरा गर्न चाहनुभएन, फोन राखिहाल्नु भो । म त्यसबेला ज्ञानेश्वर चोकै नजिक एउटा घरको भूँईंतलामा डेरा गरी बसेको थिएँ । मदन भने नक्सालमा बस्नुहुन्थ्यो । मैले हतारहतारमै बिहान उठेपछि गर्नुपर्ने कामहरू सकेर मदन बस्नु भएको ठाउँ नक्साल, चारढुंगे पुग्न छिटोछिटो त्यता लागेको थिएँ । म उहाँकोमा पुग्दा झण्डै साढे आठ बजेको थियो ।
त्यसवेला, २०४८ सालको आमनिर्वाचनमा नेपाली काँग्रेसले प्रतिनिधिसभामा बहुमत प्राप्त गरेको थियो र त्यसले काँग्रेसमा भनिनसक्नुको उन्माद जन्माइदिएको थियो । उसमा देखापरेको सर्वसत्तावादी चिन्तन र व्यवहारका कारण, खासगरी नेकपा (एमाले) प्रमुख प्रतिपक्षी पार्टी बनेको यथार्थलाई स्वीकार गर्न नसक्ने र त्यस हिसावले मान्यता समेत दिन नचाहने उसको व्यवहारका कारण राजनीतिक मुठभेडको स्थिति बनेको थियो । उग्रवामपन्थी अतिवादी विचारबाट अभिप्रेरित भएर पनि क्रान्तिकारी वर्ग–संघर्षमा योग्यतापूर्वक भूमिका खेल्दै आएको शक्ति भएका कारण र मदन भण्डारी जस्तो सशक्त र लोकप्रिय नेता आफूसित भएका कारण तत्कालिन नेकपा (एमाले) को पार्टी पंक्ति अरिंगालको गोलो भएर शत्रु वा विरोधीहरूमाथि जाइलाग्ने मानसिकता बोकेर उभिएको थियो । यस्तो अवस्थामा भर्खर प्रारम्भ भएको संसदीय राजनीति नराम्ररी मुठभेडतर्फ धकेलिदै थियो । काँग्रेसको सरकारका पालामा भएको दमन, सत्ताको दुरूपयोग, भ्रष्टाचार आदि विषयहरूका कारण काँग्रेस विरोधी जनभावना वढिरहेको थियो ।

यिनै विषयमा तत्कालिन नेकपा (एमाले)द्वारा देशव्यापी रूपमा पार्टी परिचालन र विरोधसभाहरू आयोजना गरिएका थिए । प्रायः ती प्रत्येक सभाहरूमा मदन भण्डारी आफ्ना सशक्त विचारलाई ओजस्वी र प्रभावकारी भाषणका माध्यमबाट जनता समक्ष पुर्याउन सम्पूर्ण शक्तिका साथ लाग्नु भएको थियो । त्यो अवधिमा मदनको प्रभाव र प्रतिष्ठाले शिखर चुम्दै थियो । एमाले पंक्ति र आम जनतामा मदनप्रतिको आकर्षण अभूतपूर्व रूपले बढेर गएको थियो । बढ्दो लोकप्रियताका कारण उहाँका बारेमा अनेक अपशकूनले भरिएका सूचना र रहस्यमय समाचारहरू पनि सार्वजनिक भइरहेका थिए । मदनको लोकप्रियता र प्रतिष्ठाको तापका कारण उहाँलाई नजिकैबाट अनुभूत गर्न टाढा–टाढाबाट समर्थक, शुभचिन्तक मात्र होइन, आम जनता समेत मदन पुग्नु भएका ठाउँमा पुग्ने गर्थे । यही अभियानको सिलसिलामा २०५० साल जेठ २ गते पार्टीको कास्की जिल्ला अधिवेशनको उदघाटनमा प्रमुख अतिथिका रूपमा मदन त्यता जान लाग्नुभएको थियो ।
एकदिन अगाडि अर्थात् जेठ १ गते जीवराज आश्रित मदनले चढ्ने गर्नुभएको बा.अ.च ८७९३ नम्बर गाडीबाट पोखरा जानु भएको थियो । जेठ एक गते काठमाडौंमै विशेष कार्यक्रम भएका कारण त्यो दिन पोखरा नगई भोलीपल्ट जेठ २ गते जहाजबाट जाने निर्णय गर्नु भएको थियो । पोखराका लागि हिड्नुभन्दा पहिले उहाँले लगभग एक महिनाको कार्यक्रमवारे मलाई नोट गराउनु भएको थियो । (२ जेठ पोखराबाट शुरू भएर चितवन, तेह्रथुम, धनकुटा, विराटनगर, सुन्सरी, सिरहा र तनहूँ आदि जिल्लाहरूमा जेठ २६ गतेसम्मका लागि तय गरिएका विभिन्न कार्यक्रमहरूमा प्रमुख अतिथिको रूपमा सहभागी हुने गरी उहाँ हिड्न लाग्नुभएको थियो) । भेटमा मलाई उहाँले यही जानकारी गराउनु भएको थियो ।
गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको तत्कालिन नेपाली काँग्रेसभित्र देखापरिरहेको माथि उल्लेखित विकृति वा भनौं अलोकतान्त्रिक चरित्र र गतिविधिका विरूद्ध एमाले लगायतका प्रतिपक्षीहरू मात्र नभएर स्वयम् काँग्रेसभित्रै पनि यसको विरोध हुन थालेको थियो जसको अगुवाइ काँग्रेसकै सर्वोच्च नेता गणेशमान सिंहले गर्नुभएको थियो । यसरी गिरिजाले नेतृत्व गरेको काँग्रेसी सर्वसत्तावादका विरूद्ध एउटा वृहद मोर्चाबन्दी बनिरहेको थियो, जसमा काँग्रेसभित्रैका गणेशमानजी लगायतका नेताहरूको संलग्नता वा सहभागिता थियो । यही मोर्चावन्दीको एउटा महत्वपूर्ण योजनाकार नेता मदन भण्डारी वन्नुभएको थियो ।
यही सिलसिलामा मदनको गणेशमानजीसित धेरैपटक भेटघाट र छलफलहरू भएका थिए । र, मलाई लाग्छ, केही महत्वपूर्ण योजनाहरू समेत वनेका थिए । उहाँ र म मात्रै भएको लगभग एक घण्टा जतिको त्यो भेटमा उहाँले यही जानकारी तथा अन्य केही सम्भावित विषयहरू तर्फ पनि संकेत गर्नु भएको थियो । गणेशमानजीहरूसित त्यस बीच पटकपटक भएका भेटघाट बारे जानकारी गराउँदै आफू काठमाण्डौं वाहिर रहेका बेला मलाई सम्पर्क विन्दूका रूपमा उहाँहरूलाई सम्पर्क गर्न भन्नुभएको थियो । त्यस प्रयोजनका लागि मदनले मेरो कोठाको ल्याण्डलाईन टेलिफोन नम्वर दिनुभएको थियो र कुनै पनि बेला उहाँहरूले सम्पर्क गरेपछि आफूलाई तुरून्त सूचना गर्न विभिन्न मितिमा आफू पुग्ने ठाउँ र सम्पर्क गर्नुपर्ने व्यक्तिवारे विवरण सहितको एउटा टिपोट दिनु भएको थियो ।
हामीबीच कुराकानी सकिनासाथ मदन हिंड्ने तयारीमा लाग्नुभयो, म एकछिन त्यहीं बसें । मदनले भन्नुभएका सबै कुराहरूलाई मनमा गुनिरहें । एकछिनपछि मदन कमरेडलाई शुभ–यात्रा भन्दै आफ्नो ज्ञानेश्वरको कोठातिर लागेको थिएँ । मदन भण्डारीले मलाई गराउनु भएको जानकारी र दिनु भएको त्यो निर्देशन नै मेरो लागि अन्तिम थियो । त्यो दिनभरी मदनसित भएका कुराहरूले नै मेरो दिमागमा चक्कर काटिरहेँ । म एकोहोरो मदन कमरेडलाई सम्झदै, घरमा कहीं कतैबाट फोन आइहाल्छ कि भनेर विशेष ध्यान भने दिइरहेको थिएँ ।
मैले त्यसवेला मदनले भन्नु भएका सबै विषयलाई गम्भीरताका साथ सुनिरहें । आवश्यक केही केही कुराहरू नोट गरें र आफूलाई लागेका केही विषयका वारेमा जिज्ञासा पनि राखेको थिएँ । यी सबै कुराका वारेमा जानकारी गराइरहँदा मदन गम्भीर देखिनुहुन्थ्यो । म पनि गम्भीर रूपमा ती कुराहरू सुनिरहेको थिएँ, लेखिरहेको थिएँ । त्यसवेला मेरा मनमा यी सबै कुरा अरू नेताहरूलाई थाहा छ कि छैन होला भन्ने लागेको थियो । तर पनि मैले मदनलाई यो प्रश्न भने गरिन । प्रश्न गरौं कि भन्ने लाग्दा–लाग्दै पनि मैले गर्न सकिन । उहाँले नै बरू भन्नभएको थियो– यी धेरै गम्भीर र दूरगामी महत्व राख्ने विषय हुन । कसैसित पनि यस सम्वन्धी कुरा नगर्नु होला, गोपनियता वचाउनु होला, मैले दिएको मेरो कार्यक्रमको चीट पनि सुरक्षित राख्नुहोला । हामीबीच कुराकानी सकिनासाथ मदन हिंड्ने तयारीमा लाग्नुभयो, म एकछिन त्यहीं बसें । मदनले भन्नुभएका सबै कुराहरूलाई मनमा गुनिरहें । एकछिनपछि मदन कमरेडलाई शुभ–यात्रा भन्दै आफ्नो ज्ञानेश्वरको कोठातिर लागेको थिएँ ।
मदन भण्डारीले मलाई गराउनु भएको जानकारी र दिनु भएको त्यो निर्देशन नै मेरो लागि अन्तिम थियो । त्यो दिनभरी मदनसित भएका कुराहरूले नै मेरो दिमागमा चक्कर काटिरहेँ । त्यो दिनभरी मैले मदनले दिनु भएको उहाँको बाहिर रहँदाको कार्यक्रम र समय तालिकालाई दोहोर्याइ–तेहर्याइदिए हेरिरहें । ती सबैलाई मैले मेरो दिमागमा राम्ररी ‘सेट’ गरें । त्यसबीचमा मैले कुनै नेतासित पनि मदनसित भएका कुरावारे जानकारी गराइन । म एकोहोरो मदन कमरेडलाई सम्झदै, घरमा कहीं कतैबाट फोन आइहाल्छ कि भनेर विशेष ध्यान भने दिइरहेको थिएँ ।
२०५० साल जेठ ३ गते बेलुका साढे चार वा पाँच बजेको थियो होला । म बागबजार केन्द्रीय कार्यालयमै थिएँ । अब एकछिनपछि घर जानुपर्ला भन्ने लाग्दै थियो । त्यसैवेला केन्द्रीय कार्यालयका लेखा–शाखा प्रमुख लेखनाथ कोइरालाले अत्तालिदै आएर एउटा सूचना दिनुभयो । उहाँले हतारहतारमा दिनुभएको सूचना पछि म हतप्रव भएँ । मदन चढ्नुभएको गाडीको ड्राइभर अमर लामाबाट चितवन पुगेर केन्द्रीय कार्यालयमा फोन गरी गाडी दुर्घटना भएर त्रिशूली नदीमा डुबेको, मदन र आश्रित दुवैजना बेपत्ता हुनुभएको, आफू भने बचेर नारायणगढ पुगेर फोन गरेको भन्ने जानकारी आएको रहेछ । यो जानकारीपछि मलाई भाउन्न होला जस्तो भयो, के गरौं, कसो गरौं जस्तो भयो, कसलाई के भनेर जानकारी गराउँ जस्तो भइरह्यो । म एक किसिमले साँच्चै अत्तालिएको थिएँ ! हतार हतार जता जता फोन लाग्यो, ती ती ठाउँमा फोन हान्न थालें । आफैले गर्न थालें, कार्यालय उपसचिव मनकुमार गौतमलाई पनि फोन गर्न लगाएँ । एकैछिनमा प्रदीप नेपाल, राधाकृष्ण मैनाली, सिपी मैनाली लगायत अन्य नेता कार्यकर्ताहरू ओइरिन लागे । निर्मल लामा लगायत अन्य पार्टीका नेता–कार्यकर्ताहरू पनि आउन थाले । केन्द्रीय कार्यालयमा जम्मा भएको भीड थामिनसक्नु हुँदै गयो । चारैतिर टेलिफोन हुनथाले । केही साथीहरू दुर्घटनास्थल– चितवनको दासढुंगा नै पुग्ने र यथार्थ स्थिति बुझ्ने योजना बनाउन लागे । यी सबै काम साथीहरू चिन्ता, शोक, पिडाका वीचमा गरिरहेका थिए । कति साथीहरू त रोइरहेका पनि थिए । हामी पार्टीका जिम्मेवार केही ब्यक्तिहरू पार्टी अफिसको कोठामा चिन्तित हुँदै यता र उता गरिरहेका थियौं । आउनेहरूलाई केही बताउँदै, कसैलाई सम्झाउँदै, आएका सूचनाहरू केही लिदै समन्वय गर्ने कोशिस गरिरहेका थियौं । म, राधाकृष्ण मैनाली, प्रदीप नेपालहरू यी सबै काम गरिरहेका थियौं र अफिसका केही स्टाफहरू हामीसंगै रहेर हाम्रा काममा सघाइरहेका थिए ।
हामीहरू रातभरी पार्टी अफिसमै बस्यौं, चिन्ताको पोखरीमा डुवेर । हामी अफिसमा बसेका थियौं, तर हामी थाहा पाउँदै थियौं –काठमाण्डौंदेखि मुग्लिन र नारायणघाटसम्मको सडकभरी मदनको खोजीमा निस्केका मानिसहरूको भीड बढिरहेको छ । सबैजना मदन–आश्रित दुर्घटनामा पर्नुभएको ठाउँ– दासढुंगा पुग्न हान्निरहेका थिए । काठमाडौंका सामान्य जनताहरू मदनको खवर सुन्न–वुझ्न बागवजारको पार्र्टी अफिसमा धाइरहेका थिए । मैले राती नै मेरो डेरा ज्ञानेश्वरबाट मिरालाई चिन्तामा पर्नुभएकी विद्याजीको रेखदेखका लागि जान निर्देशन गरिसकेको थिएँ र उनी कोठामा दुइटा साना छोराहरूलाई छोडेर त्यहाँ गइसकेकी थिइन् । मदन दुर्घटनामा पर्नुभएको खवर सबैका लागि एउटा कहालीलाग्दो घटना बनेर आएको थियो । हामी पार्टीभित्र त विशेष मर्माहत थियौं नै ।
वृद्ध अवस्थामा पुग्नु भएका पार्टी अध्यक्ष मनमोहन अधिकारी स्वयम् दुर्घटनास्थल पुगेर त्रिशूली नदी किनारका बगर र वुट्यानमा मदनको कुनै दसी र संकेत पाइन्छ कि भनेर खोज्दै हिड्नु भयो । मदनलाई बगर र बुट्यानमा उखरमाउलो गर्र्मीमा खोज्दै हिंड्नु भएका मनमोहन अधिकारी मदनको केही संकेत नपाएपछि डाँको छोडेर रूनु भएको थियो । म बुढो बाँचेकै छु, तिमी कहाँ गयौ नि मेरो कमरेड ! भन्दै मनमोहनले मन थाम्न नसकेको दृष्यले अरूलाई पनि रूवाएको थियो ।
हामीले रातभरी झिमिक्कै नगरी बितायौं । सुरक्षा क्षेत्रका गोताखोरहरूलाई गाडी दुर्घटना भएको ठाउँमा पठाइयो । गाडी पत्ता लगाउन र डुवेको गाडी निकाल्ने उद्देश्यका साथ क्रेनहरू पठाइए । नेताहरूको टोली पनि दुर्घटनास्थलतिर गयो । वृद्ध अवस्थामा पुग्नु भएका पार्टी अध्यक्ष मनमोहन अधिकारी स्वयम् दुर्घटनास्थल पुगेर त्रिशूली नदी किनारका बगर र वुट्यानमा मदनको कुनै दसी र संकेत पाइन्छ कि भनेर खोज्दै हिड्नु भयो । मदनलाई बगर र बुट्यानमा उखरमाउलो गर्र्मीमा खोज्दै हिंड्नु भएका मनमोहन अधिकारी मदनको केही संकेत नपाएपछि डाँको छोडेर रूनु भएको थियो । म बुढो बाँचेकै छु, तिमी कहाँ गयौ नि मेरो कमरेड ! भन्दै मनमोहनले मन थाम्न नसकेको दृष्यले अरूलाई पनि रूवाएको थियो ।
जति जति समय बित्दै जाँदै थियो र मदनको कुनै सुईंको मिलिरहेको थिएन, त्यतिनै मानिसहरू आत्तिदै गइरहेका थिए । मलाईं चाँहि मनभित्र कता कता मदन कतै घाइते अवस्थामा जीवितै अवस्थामा भटिनुहुन्छ कि भन्ने लागिरहेको थियो । दासढुंगादेखि दशौं कोष टाढा टाढासम्म मानिसहरू कार्यकर्ताहरू, सुरक्षाकर्र्मीहरू तथा आम नागरिकहरू समेत स्वतःस्फुर्तÞरूपमा मदनको खोजीमा निस्किरहेका थिए । शोकमा डुबेको मानव सागर मदनको खोजीमा अविश्रान्त रूपमा खटिरहेको थियो ।
दुर्घटना भएको झण्डै ३९ घण्टापछि, जेठ पाँच गते बिहान साढे आठ वजे, झण्डै वत्तीस किलोमिटर टाढा गुन्जनगरको गाजीपुरमा नारायणी नदीको किनारामा मदनको लाश भेटिएको खबर हावाझैं फैलियो । दुर्घटना भएको बत्तीस किलोमिटर जति टाढा, अस्वभाविक अवस्थामा माथि लगाएका लुगाहरू भएको तर तल भने पेण्ट चाँहि गायव भएको थियो । त्यस्तो अवस्थामा रहेको मदनको शव तत्कालिन जिल्ला कमिटीका सदस्य हरि सापकोटाले सनाखत गर्नुभएको थियो । मदनको शव निकालेपछि उहाँको आँखा वरिपरि अनुहारमा नराम्ररी घाउचोटहरू लागेका थिए । मदनको लामो बाहुला भएको सर्ट, दुइटै खुट्टामा मोजा लगाएको, पाइन्ट नभएको, हातमा घडी नभएको, बायाँ आँखामा चोट भएको, हात, कुहिना र दुइटा घुँडामा चोट रहेको र छालाको वेल्टले कस्सिएको पेण्ट समेतÞ गायव भएको अवस्थामा मदनको लाश भेटिएको थियो । वेल्टसहितको पेण्ट गायव हुनु अत्यन्त अस्वभाविक थियो । लाश भेटिएपछि मदनलाई जीवीतै भटिन्छ कि भन्ने आसहरू मेटिएका थिए भने उहाँ हामीहरूसित सदा सदाका लागि भौतिक रूपले बिदा हुनु भो भन्ने कुराले एउटा अत्यासलाग्दो भविष्य अगाडि खडा भएको अनुभूति हुँदै थियो । यसरी मदनको जीवन सम्वन्धी आशाका सबै त्यान्द्राहरू चुँडिएका थिए भने शव समेत नभेटिनुका निराशाहरू पनि सबै मेटिएका थिए ।
(जननेता मदन भण्डारीको २३ औं स्मृति दिवसको सन्दर्भमा लेखिएको एउटा अंश)















प्रतिक्रिया