– गणेशराज ओझा
सुदूरपश्चिमबासीको आशाको ढुकढुकी तथा एउटा विश्वासिलो शैक्षिक धरोहर सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, जसले सबैलाई समेट्न सकोस् र सबैले स्वःस्फूर्तरुपमा सजिलै अन्तर्राष्ट्रियस्तरको गुणस्तरिय शिक्षा पढ्न पाउन । मात्र यही चाहना राखेर यो विश्वविद्यालयको स्थापना गरियो । तर छोटो समयमा नै आज यो विश्वविद्यालय किन यसरी धरासाही बन्दै छ, किन यसरी विरालिदै छ, अनि किन लक्षित वर्गको भावनाबाट पन्छिदै छ ? किन सिमित व्यक्तिले मात्र यसको फाइदा उठाउन खोज्दैछन् ? हो अब हामी सबैले सोच्नुपर्ने घडी आएको छ ।
महिनौंसम्म आफ्नो जीवनको कुनै प्रवाह नगरी नितान्त आफ्नो क्षेत्रको विकासका लागि सडक हुँदै सदनसम्म धाउँदै गर्दा कस्ता–कस्ता चरणको सामना गरिए र परिणाममा आएको विश्वविद्यालय अझै पूर्ण विकसित हुन नसक्दा लाग्छ कि हाम्रो भावनाको कसैबाट पनि कदर गर्नै खोजिएन र गरिएन पनि । भए जति पनि सिमितवर्गको मात्र हैकमवादी सोचको सिकार बन्यो र अहिले आएर जीवन मरणको संघारमै छ भन्दा अतियुक्ति नहोला !
२०६७ सालमा स्थापना भएको यो विश्वविद्यालयले अहिलेसम्म पनि आफ्नो क्षेत्र विस्तार गर्न नसक्नु निकै विडम्बनाको कुरा हो । सञ्चालित अवस्थामा रहेको एउटा मात्र क्याम्पस (सिद्धनाथ बहुमुखी क्याम्पस जुन केन्द्रीय क्याम्पस पनि हो) को अवस्था हेर्ने हो भने निकै डरलाग्दो देख्न सकिन्छ । जसको विश्लेषण गरी साध्य छैन ।
सुदूरपश्चिममा विश्वविद्यालय कुन ठाउँमा स्थापना गर्ने भन्ने बहस चलिरहेको त्यो समयमा कञ्चनपुरका सम्पूर्ण विद्यार्थी कञ्चनपुरमै विश्वविद्यालय स्थापना हुनुपर्ने अवाज उठाउँदै एकसाथ जुरुक्क उठेका थिए । ज्यानको माया मारी विश्वविद्यालयका लागि प्रहरीको लाठी र बुटले बजारिएका थिए । त्यो आवाज दवाउन विद्यार्थीमाथि निर्मम तरिकाले धैरै माफिया सडकमै उत्रिएका थिए । तर विश्वविद्यालयका लागि विद्यालयस्तर र क्याम्पसका सम्पूर्ण विद्यार्थी शक्ति कत्ति पनि डगमगाएनन् । आफ्ना माग पुरा गर्न त्यो आन्दोलित शक्ति प्रहरीको हवाई फायरिङ र अश्रु ग्यासको दमनविरुद्ध निरन्तर लडिरहे । विश्वविद्यालय कञ्चनपुरमै नचाहने षड्यन्त्रकारीको दमन र धरकपडबाट विचलित नभई आखिर महेन्द्रनगरमै विश्वविद्यालय स्थापना गराउन सफल भयो विद्यार्थी शक्ति ।

विश्वविद्यालयभित्र समय समयमा हुने गरेका लज्जास्पद क्रियाकलापले विश्वविद्यालयकै शाख गुम्ने खतरा आएका छन् । विश्वविद्यालयको नाम नै परिवर्तन गर्नेदेखि लिएर भएका तालाबन्दीले हप्तौंसम्म थला परेको विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको भविष्यमाथि खेलवाड भयो कि भएन ? विश्वविद्यालयको उच्च अहोदामा बस्ने महोदयहरु के तपाईंका सन्तानको मात्र भविष्य छ ? तपाईंका सन्तानहरु यो विश्वविद्यालयमा अध्ययन गर्दैनन् भन्दैमा किन विश्वविद्यालयको प्रशासन चुस्त दुरुस्त र गतिशील बन्न सकेन अहिलेसम्म पनि ?
विश्वविद्यालयलाई कमजोर बनाउनेहरुप्रति धेरै प्रश्न उठेको यो परिवेशमा त्यहाँ रहेका अनुशासनहीन क्रियाकलाप र विद्यार्थीलाई अध्ययन गर्न पनि सकस परिरहेको यथार्थलाई यो पंक्तिकार खरोरुपमा प्रस्तुत गर्न चाहन्छ ।
विश्वविद्यालयको पाठ्यक्रम अनुसार अहिलेसम्म पनि पाठ्यपुस्तक पर्याप्त रुपमा उपलब्ध छैन । ई–लाईव्रेरीको अवधारणा पनि विद्यार्थीका लागि टाउको दुुखाइको विषय बनेको छ । ई–लाईव्रेरी भनिएको त छ तर यहाँ ईन्टरनेट सेवा छैन ई–लाईव्रेरीमा अध्ययन गर्ने भनिएका विद्यार्थीका लागि । कम्प्युटर ल्यावमा पर्याप्त पूुर्वाधार र दक्ष जनशक्तिको अभावले विद्यार्थी अन्योलताको शिकार भएका छन् ।
विश्वविद्यालयभित्रका साना–साना कमजोरीले पनि अध्ययन अध्यापनमा ठूलो असर परिरहेको छ । विश्वविद्यालयको आचारसंहिता कार्यान्वयनमा ठूलो चुनौति देखा परेको छ । विश्वविद्यालयको आन्तरिक व्यवस्थापन यति कमजोर छ कि जहाँ कक्षा कोठा रंगशाला जस्तो भएको छ । विश्वविद्यालयको परिसर कतै युवायुवतीका लागि बनाइएको पार्क जस्तो त कतै भाङ, चुरोट, सूर्ती, गुुट्खा खाने सुरक्षित अड्डा जस्तो भएको छ ।
परिसरभित्र खाजा खान भनेर राखिएको एउटा क्यान्टिन त छ तर त्यो दुव्र्यसनमा फसेका यूवाहरुको खास अखडा बन्न पुगेको छ । जहाँ युवतीलाई खाजा खानका लागि जान सकस पर्छ । अनि केटाहरुको छाडा गाली सुन्नुपर्छ । यस्तै हर्कत गर्नेहरुले बेलाबेला विश्वविद्यालयको बदनाम हुने गरी वितण्डा मच्चाइरहेका हुन्छन् । केहीदिन अघि विद्यार्थीहरुबीचको झगडा काण्डले पनि यो कुरा प्रष्ट पारेको छ ।
विश्वविद्यालय प्रशासन यत्ति लचार भइदिएको छ कि कक्षा व्यवस्थापनदेखि शौचालय र खेलमैदानको अवस्था दयनीय मात्र छैन विश्वविद्यालयको साखै बचाउन सकिने अवस्था छैन । यति ठूलो विश्वविद्यालयमा पार्किङको उचित व्यवस्था छैन । गेटमा एक जना पालेसम्म पनि छैन ।
यस क्षेत्रमा विद्यार्थी राजनीतिको ठूलो हिस्सा र शक्ति आर्जन गर्ने यस विश्वविद्यालयमै विद्यार्थीका सही मागको सम्बोधन हुँदैन । विद्यार्थी आन्दोलनलाई दवाउन खोज्ने, महिनौंसम्म पनि पठनपाठन ठप्प पार्ने, आफ्नो व्यक्तिगत स्वार्थका लागि सिंगो विश्वविद्यालयलाई धरासायी बनाउन खोज्नेहरुका विरुद्ध अब फरक ढंगले कदम चाल्नुपर्ने बेला आएको छ ।
विद्यार्थी संगठनहरुले पनि राजनीतिक स्वार्थपूर्तिका लागि भन्दा पनि विश्वविद्यालय र सबै विद्यार्थीका हितमा निर्णय लिनु जरुरी छ । सुदूरका होनहार जोसिला ती कैयौं विद्यार्थीको बलिदानीपूर्ण र संघर्षमय आन्दोलनलाई विर्सने चेष्टा कसैले पनि नगरे हुुन्छ । गौरवमय त्यो ऐतिहासिक विद्यार्थी आन्दोलनको क्रान्ति झिल्को शैक्षिक माफियाका विरुद्ध जुनसुकै बेला पनि दन्किन सक्छ ।
(ओझा सोही विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हुन् ।)















प्रतिक्रिया