– सञ्जीव रोकाहा
कुनै देशको राजनैतिक, आर्थिक र सामाजिक परिवर्तनका संवाहक युवा शक्ति हो । देशको विकास र समृद्धिमा युवाहरुको योगदान महत्वपूर्ण हुने गरेको छ । शारीरिक र मानसिक विकासका हिसाबले युवा किशोर अवस्था र वयस्क अवस्थाबीचको उमेर समूह पनि हो । विश्वका अधिकांश देशमा युवाको उमेर १५–३५ बर्षका बीचमा कायम रहेपनि नेपालमा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० बर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । जसमा ४० प्रतिशत भन्दा बढी जनसंख्या युवाहरुको रहेको पछिल्लो जनगणनामा उल्लेख छ । एक अध्यनले नेपालमा युवा साक्षरता ७१ प्रतिशत, कृषिमा संलग्न युवा ५०.५ प्रतिशत, स्वरोजगार युवा ५८.८ प्रतिशत, स्तानक युवा बेरोजगार २६.१ प्रतिशत रहेको देखाएको छ भने नेपाल विश्व युवा विकास सुचकांकमा १४५ औं स्थानमा पर्दछ । करिब ३६ प्रतिशत युवालाई आर्थिक उत्पादन र सीपसंग अझैपनि जोड्न सकिएको छैन । राज्यको प्रमुखशक्तिको रुपमा रहेको युवाशक्तिलाई उचित ब्यवस्थापन गर्न नसकेका कारण आज लाखैं युवाहरु बैदेशिक रोजगारीको सिलसिलामा बिभिन्न देशमा रहेका छन् । करिब सात दशक लामो राजनीतिक लडाई पश्चात पछिल्लो समय नेपाली जनताले संविधान सभामार्फत बिभिन्न आन्दोलनका उपलब्धीहरुलाईस संस्थागत गर्ने कार्य गरेका छन् । जसका निम्ति हजारौं युवाहरुको बलीदानी र कठिन संघर्ष नै प्रमुख शक्ति बनेको यथार्थ छर्लङ्गै छ । भर्खरै जारी भएको संविधानमा युवाहरुका अधिकांश सवालहरुलाई समेटिएको हुँदा हाम्रो रगत र पसिनाले प्राप्त भएको यो महान उपलब्धीलाई कार्यान्वयन गराउनु आजको युवाहरुको प्रमुख दायित्व समेत बनेको छ ।
मुलुकको सबैभन्दा शक्तिशाली युवा संगठन युवा संघ नेपालले आज आफ्नो स्थापनाको २६ औं दिवस मनाइरहँदा आम युवाहरुका सन्दर्भमा नेपाली समाजमा हालसम्म प्राप्तभएका उपलब्धीहरु र आगामी दिनमा हामीले लिनुपर्ने बाटोको बिषयमा थोरै चर्चा गरौं । युवा संघ नेपालले आफ्नो (२०४७ जेठ १ गते) देखि नै युवाजन्य सरोकारका मुद्धाहरु, सुशासनको पक्षमा कालोबजारी भ्रष्टाचार र महंगीकाबिरुद्धमा देशैभर युवाहरुलाई एकताबद्ध बनाई खबरदारी गर्दै सहि मान्यता स्थापित गराउन अहिले पनि सुजबुझका साथ अगाडि बढिरहेको छ । यस बीचमा यो मुलुकमा ठूला ठूला परिवर्तन भएका छन् । आज हाम्रै संस्थापक अध्यक्ष यो मुलुकको प्रधानमन्त्री हुनुहुन्छ भने हामी अझ जिम्मेवार भएर अगाडी बढ्नु जरुरी छ । मुलुकमा माओवादीका नाममा एकछत्र सामाजिक भय र त्रास उत्पन्न भएको समयमा युवा संघ नेपालले युथफोर्सको आवश्यकता महसुस गर्दै देशैभर गतिविधिहरु गरि समाजलाई भयमुक्त बनाउदै धम्क्याउने, तर्साउने प्रवृतिलाई सामान्यकरण गर्न सफल भएको इतिहासमा हाम्रो सामु छर्लङ्ग छ । पछिल्लो भारतीय नाकाबन्दी र मधेश केन्द्रीत केहि राजनीतिक दलको कथित आन्दोलनको समयमा मधेशमा अन्य राजनीतिक शक्तिहरुलाई निषेध गरिएको परिवेशमा ‘मधेश सम्वाद तथा जागरण अभियान’का साथ तराई मधेशका जनतासंग विभिन्न छलफल संवाद एवं सभाहरुका माध्यमबाट वर्तमान संविधानमा प्राप्त उपलब्धीलाई बुझाउने कार्यको नेतृत्व युवासंघ नेपालले गर्यो । चुनौतिका पहाडलाई छिचोल्दै निभाउन लागिएको दियोलाई थप राष्ट्रिय उर्जा दिने काम युवासंघ नेपालले गरेको छ र यस अभियानमार्फत हाम्रो सार्वभैमिकता र राष्ट्रिय स्वाधिनतामाथि धावा बोल्ने जो कोहिलाई स्पष्ट जवाफ समेत मिलेको छ । पछिल्लो समय नेपालमा युवा मन्त्रालयको स्थापनादेखि राष्ट्रिय युवा परिषद्को गठन सम्मका उपलब्धीहरु नेपाली युवा आन्दोलनबाट प्राप्त सम्पत्तिको रुपमा लिनुपर्दछ । भूकम्पको समयमा दुर्गम बस्तीहरुमा भग्नावशेष हटाउने, स्कुल तथा निजी भवन निर्माण गर्ने लगायतमा भएको बृहत युवा परिचालनले नेपाली युवाहरुबाट राष्ट्रलाई आवश्यक परेको समय आफूलाई स्वयमसेवीको रुपमा परिचालित गर्न सक्षम छन् भन्ने गतिलो उदाहरण प्रस्तुतभएको छ । हाम्रा सहयात्री साथीहरु बैदेशिक रोजगारीको सिलशिलामा विभिन्न देशमा रहेतापनि केहि साथीहरुले त्यहाँसिकेको सीप र अनुभवबाट आफ्नै देशमा उद्योगहरु स्थापना गर्दे आम युवा जगतमा प्रेरणाको स्रोत बन्नुभएको छ । सूचना प्रविधिको अधिकतम प्रयोगले गर्दा आजका युवाहरु हरेकपल विश्वका बिभिन्न घटनाहरुको सूचना एवं अन्य गतिबिधिसंग नजिक छन् । प्रविधिको प्रयोग एंव सामाजिक संजालका माध्यमबाट आज युवाहरुको साथीत्वको दायरा ठूलो बन्दै गएको छ । यति सचेत युवाहरु नेपाली समाजमा रहेतापनि देशका महत्वपूर्ण पदमा युवाहरुको उपस्थीति र नेतृत्व स्वीकार नगरीएको अवस्था छ ।
आजका सचेत युवाहरुलाई अब स्वादिला नाराहरु मात्र हैन देखिने हिसावको काम चाँहिएको छ । प्रतिवर्ष पाच लाख अठतीस हजार युवाशक्ति श्रम बजारमा प्रवेश गरीरहेका छन् । करिब ७४ प्रतिशत अदक्ष युवा बैदेशिक रोजगारीमा गएको तथ्याङ्कले देखाउछ । यदी युवालाई विद्यालय शिक्षामै अनिवार्य सिपमुलक तालीम (कम्तीमा ६ महिने)को आधारभूत ब्यवस्तापन गर्नसके मात्रपनि अहिले कमाई भइरकेको बैदेशिक रोजगारीको रकममा ३०० प्रतिशतले बृद्धि हुने देखिन्छ । यसैबिच ठूलो युवा उर्जाशील जनशक्ति अहिले केहि न केहि हिसाबमा आर्थीक गतिबिधिमा संलग्न हुनु हाम्रो लागी सबल पक्ष हो । युवालाई साक्षर बनाउन शिक्षा दिन, बिकास निर्माणसंग जोड्न सहज छ । युवाहरुमा सकारात्मक सोचको बिकास गर्दै राष्ट्रिबादी नैतिकवान शक्तिको रुपमा बिकास गरिनुपर्दछ । यसैगरी बेरोजगारी कुलतमा पर्ने सम्भावना, शिक्षाको कमी र चेतनाको अभाव जस्ता विषय आजका युवाहरुका दुर्वल पक्षमा पर्दछन् । यि संगसंगै युवाहरुलाई स्वरोजगार बनाउदै मुलुकलाई औद्योगिकरण्मा अगाडी बढाउने अवसर हाम्रा सामु छ । विज्ञान प्रविधिको बिकास गर्दै कला, भाषा र संस्कृतिको संरक्षण गर्दै युवाहरुलाई नेतृत्वदायी भूमिकामा लैजाने यथेष्ठ अवसर हाम्रा सामु छ । खेलकुदको क्षेत्रमा युवाहरुलाई उचित तालिमको ब्यवस्थापन गर्ने सके राष्ट्रको गरीमा उठाउन आजका युवाहरु सक्षम रहेको प्रमाण पछिल्लो पटकको फुटबल र क्रिकेटमा नेपाली युवा टोलीको सफलताले देखाएको छ । यि संगसंगै बौद्धिक जनशक्तिको पलायन, लगानीका निम्ति पुँजिको अभाव, रोजगारमुलक शिक्षाको कमी, कमजोर स्वस्थ्य र पोषण बिभिन्न खाले बिभेद एंव राजनीतिक अस्थिरता आजका युवाहरुका चुनौतिहरु हुन् । अब युवाहरुमा स्वयं सेवाको भावना जगाउने कार्यहरुको बिकास गर्देै पर्यटन, कृषि, उद्योग लगायतअन्य सेवाकाक्षेत्रमा ठूलो संख्यामा स्वदेशमै रोजगारी सिर्जना गरी बिदेश पलायन भएका युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरणको निर्माण हामीले गर्नुपर्दछ । नयाँअवसर र प्रविधिको अनुसन्धानमा युवालाई सहज बनाउदै हरेक जिल्लामा परामर्श एंव सूचना केन्द्रको बिकास गरिनु आवश्यक छ । राष्ट्रिय भावना जागृत हुने कार्यक्रम संचालन गर्दै युवालाई कामप्रति सम्मान गर्ने भावना बिकास गराउन जरुरी छ । मनोरञ्जनका लागी युथपार्कको ब्यवस्था गर्दै सहजप्रविधि बिकासका निम्ति युर्थ आइटी पार्कको निर्माण गर्न पहल गरिनु आवश्यक छ । युवा स्वास्थ्य डेस्कको बिकास गरी एचआइभी एड्स जस्ता प्राण घातक रोगहरmबारे जनचेतना जगाउनु आवश्यक छ । सहकारीतामा आधारीत युवा कृषिफर्म फर्महरुको संचालन गर्दै बिनाधितो सहज युवा ऋण कार्यक्रम अगाडी बढाउनु आवश्यक छ ।
आगामी दिनहरुमा मुलुकको समृद्धी र बिकासमा युवाहरुलाई जोड्नका निम्ति हामीले बृहत र कार्ययोजना निर्माण गर्न जरुरी छ । राजनीतिक अधिकारहरु संस्थागत भइसकेको अवस्थामा प्राप्त अधिकारको रक्षाका निमिक्त सजग हुँदै आम युवालाई अब मुलुकको राजनीतिक नेतृत्वमा स्थापित गरिनुपर्दछ । युवासंघ नेपालले आज आफ्नो २६ औं स्थापना दिवस मनाइरहँदा हामीमाथी आगामी दिनमा युवाहरुका मुद्धाहरुलाई थप स्थापित गराउन हामीले चालेका हरेक अभियानमा आम युवाहरुको साथ र सहयोगले अझ जिम्मेवार भई अगाडी बढ्न प्रेरणा मिलेको छ । यही खुसीयालीलाई हामीले एक दिने युवा महोत्सवको रुपमा आज राष्ट्रिय सभागृहमा बृहत युवा सीप क्षमता र सरोकारजन्य बिषयहरुमा सेमिनार गोष्ठी एंव बृहत सांगिठिक कार्यक्रमको आयोजना गरिएको छ । हामीले शुरु गरेको यो अभियानमा तपाइहरुको साथ र माया आगामी दिनमा अझै धेरै प्राप्त हुने अपेक्षाका साथ सम्पूर्ण दाजुभाइ दिदिबहीनीहरुलाई आज दिउँसो राष्ट्रिय सभा गृहमा आयोजित बृहत युवा महोत्सवमा हार्दिक निमन्त्रणा ।
(लेखक युवा संघ नेपालका केन्द्रीय नेता हुन् ।)















प्रतिक्रिया