काठमाडौं, २२ वैशाख । नेपालमा अचानक फेरिएको राजनीतिक माहौल र सत्ता परिवर्तनका लागि शुरू गरिएको गृहकार्यबीच सबैको ध्यान फेरि मधेशी मोर्चातिर गएको छ ।
मोर्चाका शीर्ष नेताहरू पनि अहिले आन्दोलन र सत्ता परिवर्तनको अवस्थामाथि गम्भीरताले विचार गर्दै छन् । सरकार परिवर्तनको विषयलाई लिएर मधेशी मोर्चा आबद्ध दलहरू आन्तरिक र बाह्य परिचर्चामा जुटेका छन् ।
कांग्रेस र एमाओवादी मिले आफ्नो कुनै महत्वपूर्ण भूमिका नरहेको स्पष्ट पार्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकार परिवर्तन आफूहरूको सरोकारको विषय नरहेको बताए । संचारकर्मीहरूको जिज्ञासामा सदभावना अध्यक्ष महतोले भने– ‘मधेस हिजो पनि ओलीको विरोधमा थियो आज पनि छ र भोलि पनि ओलीकै विरोधमा रहनेछ । त्यसैले मतदान गर्ने अवस्था आयो र मोर्चाले मतदान प्रक्रियामा सहभागी हुने निर्णय गर्यो भने मधेशी मोर्चोको भोट ओलीको विरोधमा नै जान्छ ।’
महतोले ओलीमाथि मधेशी मुद्दालाई सम्बोधन गर्न ध्यान नदिएको, मोर्चाले दिएको समयमा कुनै चासो नलिएको गुनासो गरे । उनले भने– ओलीले आफ्नो बोलीमै समय खेर फ्याले, मधेशीको मांगबारे कहिले गम्भीर भएनन् । सरकार परिवर्तनको यस खेललाई आफूहरूले पनि सूक्ष्मतापूर्वक नियालि रहेको र यस विषयमा आन्तरिक र मोर्चाभित्र पनि छलफलमा जुटेको बताए ।
सरकारमा सहभागी हुने कुरामा महतोले भने- ‘त्यो अहिले हाम्रो सरोकारकै विषय हैन ।’ मधेशी मोर्चाले अघि सारेको ११ बुँदे मांग सम्बोधन नभई सरकारमा सहभागी नहुने धारणा राखे । महतोले भने यो हाम्रो पार्टीको धारणा रहे पनि मधेशी मोर्चामा आबद्ध रहेका कारण मोर्चाको आधिकारिक निर्णयनै अन्तिम हुने बताए ।
महतोले भने सरकार जसको नेतृत्वमा बने पनि हाम्रो सरोकार भने मधेशी, थारू र जनजातिको राजनैतिक, सांस्कृतिक, मौलिक अधिकार संविधानमा सुनिश्चित गराउने हो । र यसको लागि मोर्चाले सडक आन्दोलन मार्फत अधिकतम दबाब बनाउने हाम्रो अहिले सम्मको नीति हो ।













प्रतिक्रिया