काठमाडौं, २२ वैशाख । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार बनाउने र गिराउने खेललाई नेपालको पुरानै खेल भनेका छन् ।
बुधबार एकीकृत नेकपा माओवादीले एमाले नेतृत्वको सरकार ढालेर प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेलगत्तै मुख खोलेका बाबुरामले सरकार परिवर्तन र निर्माणको खेल नयाँ नभएकाले आश्चर्य मान्नुपर्ने कुनै कारण छैन् भनेका छन् ।
एमाओवादीका पूर्व उपाध्यक्ष एवं तत्कालिन समयमा एमाओवादीबाटै प्रधानमन्त्री बनेका बाबुरामले ओली सरकारको आलोचना गर्दै भनेका छन्:
सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल झैं नेपालका पुराना राजनीतिक शक्तिहरू (वा पावर ब्रोकरहरू ?) को पुरानै जानेमानेको खेल हो । यसमा आश्चर्य मान्नुपर्ने केही छैन । खाली पात्र फेरिएका (थपिएका ?) छन, प्रवृत्ति उही हो ।
दुःखद कुरा चाँहि ‘राष्ट्रियता’ जस्तो पवित्र कुरालाई यो फोहोरी खेलमा सधैं बली दिइन्छ । पहिले ओली सरकार बनाउँदा पनि ‘राष्ट्रिय स्वाधीनता एवम् स्वाभिमानको रक्षा’ निम्ति रे ! अहिले सरकार गिराउँदा पनि उही ‘राष्ट्रिय स्वाधीनता एवम् स्वाभिमानको रक्षा’ निम्ति नै ?
त्यसैले शायद भोल्टेयरले भनेका हुन- ‘हे भगवान, मलाई मेरा मित्रहरूबाट बचाऊ । मेरा दुश्मनहरूको मुकाविला गर्न म आफै सक्षम छु ।’














प्रतिक्रिया